घरेलु मैदानमा नेपालको पुनरागमन जित | Khabarhub Khabarhub

घरेलु मैदानमा नेपालको पुनरागमन जित

शीर्षक्रम चलेन, मध्यमा नयाँ प्रयोग



काठमाडौं – नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । लगातारको हारलाई छाड्दै नेपालले शुक्रवार नामिबियामाथि तीन रनको जित निकाल्यो । यो जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै भएको हो ।

अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि तीन रनको जित निकालेको थियो ।

पहिला ब्याटङ गरेको नेपालले आठ विकेट गुमाएर नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङ्समा २० ओभर खेलेको नामिबियाको सात विकेट जाँदा १७७ रन मात्र बन्यो ।

नेपालले आज टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेन्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई मौका दिइएको थियो ।

ब्याटिङमा चुकेको शीर्षक्रम

 टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले २० ओभरमा १८० रन बनायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ५५ रन बनाए । ३७ बल खेलेका उनले चार छक्का र एक चौका प्रहार गरे ।

यसअघि नेपालले पहिलो ८ ओभरमा ४ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ओपनर आशिफ शेख १ रनमा आउट भए । कप्तान रोहित पौडेलले १० रन मात्र बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले ९ बलमा दुई चौका प्रहार गरेका थिए । नेपालले आज मध्यक्रममा नयाँ प्रयोग गरेको थियो ।

चौथो नम्बरमा गुलसन झा र पाँचौ नम्बरमा आरिफ सेखलाई ब्याटिङमा पठाइएको थियो । गुलसनले ओपनर अनिल शाहसँग आक्रामक साझेदारी गर्दै गर्दा तेस्रो विकेटको रुपमा शाह २३ रनमा आउट भए । उनले १७ बलमा तीन छक्का प्रहार गरे । चौथो विकेटको रुपमा पभेलिएन फर्केका गुलसनले १६ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २६ रन बनाए ।

यसपछि नेपालको इनिङ्सलाई कुशल मल्ल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए । उनले २४ बलमा चार चौका प्रहार गरे । ८ बलमा १६ रन बनाएका दिपेन्द्रसिंह ऐरीले दुई चौका हाने ।    

तीन बलमा एक छक्का हानेका करन केसी ७ रनमा आउट भए । सोमपाल कामी २ रनमा पभेलिएन फर्कदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।

नामिबियासँग दुई एकदिवसीय र एक टी–ट्वान्टी खेलको हारपछि आज नेपालले ब्याटिङमा नयाँ प्रयोग गरेको थियो । आज पनि नेपालको शीर्षक्रमले जिम्मेवार ब्याटिङ गर्न सकेन् । सुरुमा कमजोर बलिङ गरेका नामिबियाका बलरहरुले खेलको अन्त्यतिर नेपाली ब्याटरहरूलाई रन बनाउन दिएनन् ।

रोचक पुनरागमन

आईसिसी विश्वकप लिग-२ मा नेपालमाथि सानदार जित निकालेको नामिबियाको सोही टिमले टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पनि जर्बजस्त जित निकालेको थियो ।

सिरिजको दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले हारेको नेपालका लागि आजको खेलमा जित्नैपर्ने दबाब थियो । घरेलु मैदानमा लगातारको हारले नेपाली क्रिकेटप्रति शुभेच्छुकका अनेक टिप्पणी हुन थालेका थिए ।

१८१ रनको चुनौती पछ्याएको नामिबिया एक समय कमजोर स्थितीमा थियो । तर, दोस्रो इनिङ्सको १५ औँ ओभरमा करण केसीले २३ रन दिएपछि खेल नामिबियाको पक्षमा गएको जस्तो देखिएको थियो । तर अर्को ओभरमा दीपेन्द्र सिंह ऐरीले दुई विकेट झारेपछि नेपाल पुनः खेलमा फर्कियो ।
उनले ५० रन बनाएर खेलिरहेका कप्तान जेजे स्मिथ र जोन निकोल इटोनलाई आउट गरेका थिए । अर्को ओभरमा अविनाश बोहोराले जान फ्राइलिन्कलाई बोल्ड आउट गरे । तर १८ औँ ओभरमा दिपेन्द्रको बलिङमा नामिबियाका ब्याटरले १८ रन निकाले १९ औँ ओभरमा अभिनास बोहोराले ११ रन दिन पुगे । अन्तिम ओभरमा नामिबियालाई छ बलमा १२ रन बनाउनुपर्ने स्थिति बनेको थियो ।

यस्तोमा बलिङ गर्न आएका करण केसीले आठ रन मात्र दिएपछि खेल नाटकीय रूपमा नेपालको पक्षमा आएको थियो । योसँगै घरेलु मैदानमा लगातार चार खेलमा पराजयपछि नेपालले पुनरागमन गरेको छ ।

फाइनल समीकरण

शुक्रबारको जितसँगै नेपालको फाइनलमा पुग्ने आशा जिवित भएको छ । सिरिजमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । त्रिदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो ।

यो सिरिजमा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ । शुक्रबारको खेलअगाडि तीन देशमध्ये नेदरल्यान्ड्स दुवै खेल जितेर शीर्ष स्थानमा थियो भने नामिबियाले एक खेलमा जित र एक खेलमा हारसहित दोस्रो स्थानमा थियो । नेपाल चाहिँ दुवै खेल हारेर पुछारमा थियो ।

शुक्रबारको नतिजाले नेपाललाई तालिकाको दोस्रो स्थानमा पुर्‍याएको छ । अब नेपाल र नेदरल्यान्ड्स तथा नामिबिया र नेदरल्यान्ड्सको नतिजाले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ ।

जितपछि नेपाली क्रिकेट टिमका सदस्य करण केसीले टिमले मेहनत गर्दा पनि जित निकाल्न नसकेको र आजको जितबाट टिम उत्साहि भएको बताए । उनले यो जितलाई कायम राख्दै फाइनलमा पुग्ने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने