कामाडौं– साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरूबाट रकम लिने गरेको आरोप लागेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ ।
उक्त दूतावासले विज्ञप्ति प्रकाशन गरी सो समाचारको खण्डन गरेको हो । समाचारमा यस विषयमा उजुरी परेको भनिएकामा यसप्रकारको उजुरी मन्त्रालय तथा सो नियोगमा समेत प्राप्त नभएको पनि स्पष्ट गरेको छ ।
नेपाली राजदूत नवराज सुवेदी, उपनियोग प्रमुख डा डमरुबल्लभ पौडेल र द्वितीय सचिव टीकाराम उपाध्यायको नाम राखेर आएको सो समाचार सत्य नभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त विज्ञप्तिमा नियोगमा यस प्रकारको कुनै उजुरी प्राप्त भएमा नियमानुसार कारबाही गरी आवश्यक जवाफ पठाइने पनि जनाइएको छ ।
राजदूतावासले सीमित स्रोत र साधनका बाबजुद पनि सेवा दिइरहेको उल्लेख गर्दै सो विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबमा रहेका नेपाली समुदायको सहयोग र समन्वयमा यस राजदूतावासले सीमित स्रोतसाधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहजरूपमा राहदानी, कन्सुलर, उद्धार, आश्रयस्थल, बहिर्गमन भिसा, शव फिर्ता, बीमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको सबैमा सर्वविदितै छ ।’
साथै दूतावासले मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्तीलगायतका कुनै पनि समस्या परेमा तत्काल समाधान गर्न नेपाली राजदूतावास रियादले इजाजत पत्रवालाहरुको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरूसँग समयसमयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको पनि जनाएको छ ।
प्रतिक्रिया