किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै « Khabarhub

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ ।

यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए ।

कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा रु एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट रु एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए ।

“भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ”, अध्यक्ष भोटेले भने।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए ।

बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ । किमाथाङ्कामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।

नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो ।

किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किमी छ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : ०५ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ