फाइल फोटो

आर्थिक

अर्थसंक्षेप : शेयर बजारमा भारी गिरावट, तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित

By खबरहब

September 01, 2024

काठमाडौं- साताको पहिलो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा भारी गिरावट आएको छ । यता  अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रूत गस्ती निरीक्षण टोली गठन गरेको छ ।

यस्तै, सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् । यसरी नै पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरु :

शेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि 

साताको पहिलो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा भारी गिरावट आएको छ । अघिल्लो साताबाट सुरु भएको शेयर बजारको गिरावट यो साताको पहिलो कारोबारका दिन पनि कायमै रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा ०.१० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गाएको थियो । तर केही माथि जानसाथ बिक्रीकर्ता हाबी भएर बजारलाई माथि जान भने दिएनन् । आज बजारले ३ पटक माथि चढ्न खोजेको भए पनि बजार भने माथि जान सकेन ।

आज नेप्सेसहित कारोबार पनि घटेको छ । गत साताको बिहीबार १२ अर्ब ६ करोड रुपैयाँ कारोबार भएकोमा आज आइतबार १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको मात्र भएको छ ।

राजस्व चुहावट रोक्न अर्थले खटायो द्रूत गस्ती निरीक्षण टोली

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रूत गस्ती निरीक्षण टोली गठन गरेको छ ।

मन्त्रालयका अनुसार पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुँदैछ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नेछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको १०० दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रूत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार  ?

 साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सानिमाका तीन म्युचुअल फण्डले बोनस दिने

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् ।

सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल व्यवस्थापकमा रहेका तीन फण्डले गत आर्थिक वर्ष २०८०–०८१ को नगद लाभांश दिने भएका हुन् ।

जसमा १ अर्ब ३० करोडको सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै १ अर्ब २० लाखको सानिमा लार्ज क्याप फण्ड अन्तर्गतको योजनले १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ दिने भएको हो ।

६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँको सानिमा ग्रोथ फण्डले १० प्रतिशत अर्थात ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ बोनस दिने भएको सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले जानकारी दिए ।

देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी

लगातार पानी पर्दा चलेको बाढी, पहिरो र अन्य कारण देशका प्रमुख राजमार्ग ९ स्थानमा अवरुद्ध भएको छ । विभिन्न सडक तथा राजमार्गका २८१ खण्डमा आवागमन एकतर्फी छ ।

सडक विभागका अनुसार लगातार वर्षा हुँदा बाढी र पहिरो लगायतका कारणले सडक अवरुद्ध भएको हो । यो वर्षको सुरुदेखि अवरुद्ध भएका कुल ५४६ मध्ये २५६ अवरोध हटाएर सवारीसाधन आवागमनयोग्य बनाइएको विभागले जानकारी दिएको हो ।

विभागले अद्यावधिक गरेको पछिल्लो सडक सञ्चालनका अवस्था हेर्दा सडक तथा राजमार्गका २५६ स्थानमा  मात्र दुईतर्फी सञ्चालनमा छन् ।

यतिखेर कर्णाली राजमार्ग अन्तर्गत जमुनाह–कोहलपुर, सुर्खेत–खुलालु–हिल्सा सडक, साँफेबगर–मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यसैगरी पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुली र रामेछापका विभिन्न तीन ठाउँमा सडक अवरुद्ध छ ।

एक करोड लागतमा वडा भवनको निर्माण शुरु

रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ । मेयर रिना कुमारी साहको पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि दुई तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।

मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि  शिलान्यास गरेकी थिइन् । करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ ।

उक्त भवनको  निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्झौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रूपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो । उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए ।

उनका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउका बिरुवाले स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ । थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न मिल्ने र एउटै बोटमा धेरै स्याउ उत्पादन गर्न सकिने प्रमुख मल्लको भनाइ छ ।

परम्परागत जातको स्याउका बिरुवाप्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर तीन हजारसम्म लगाउन मिल्छ । यो प्रविधिबाट लगाएको फुजी स्याउको बिरुवाले एक वर्षमै फल दिने भए पनि पहिलो पटकको स्याउ कम गुणस्तरको हुने र दोस्रो लटदेखि गुणस्तरीय उत्पादन हुन्छ ।

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै छन् : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् ।

सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए । सोहीकारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए ।

अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए ।

‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ’, पौडेलले भन्ने, ‘केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

 एनएमबी बैङ्क लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले ३ करोड कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

बैङ्कका कम्पनी सचिव प्रमोद कुमार दाहालका अनुसार ८.२५ प्रतिशत लाभांश दिने गरि अग्राधिकार शेयर जारी गर्न लागको हो । कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ ।

अग्राधिकार शेयरधनीलाई बोनस दिएपछि मात्र अन्य साधारण लगानीकर्तालाई दिने गरिन्छ ।

एनएमबी बैङ्कले नेपाल राष्ट्रबैङ्क र अन्य नियामक निकायबाट अनुमति पाएपछि अग्राधिकार शेयर जारी गर्ने कम्पनी सचिव दाहालले जानकारी दिए ।

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनर्वास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ ।

प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ ।

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो ।

भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।