विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

आज पुस १७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी २, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी
इरानले हालका दिनमा लागू पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मंगलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।

आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ ।

इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम ९युएनओडिसी० ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागूपदार्थको समस्या रहेको बताएको छ ।

इरानी अधिकारीहरूले लागूपदार्थको दुरुपयोग र तस्करीसँग लड्नका लागि धेरै अभियान सुरु गरेका छन् र नियमितरूपमा छिमेकी अफगानिस्तानबाट तस्करी गरेर ल्याइएका अफिमहरूको ठूलो बरामदको घोषणा गर्दछन् ।

इरानी अधिकारीहरूले सन् २०२३ को पहिलो पाँच महिनामा लागूपदार्थसँग सम्बन्धित अपराधका कम्तीमा एक सय ७३ दोषीलाई फाँसी दिएको जुनमा एमनेस्टी इन्टरनेसनलले बताएको थियो । उक्त आँकडा सो अवधिमा इरानमा सबै फाँसीको सजायको करिब दुई तिहाइ भएको बताइएको छ ।

इरानले सम्पूर्ण कानूनी कारवाहीपछि मात्र फाँसी दिइने बताएको छ । उसका अनुसार लागूपदार्थको तस्करीविरुद्ध मृत्युदण्ड आवश्यक निवारण हो । एमनेस्टीका अनुसार इरानले चीनबाहेक कुनै पनि अन्य मुलुकको तुलनामा प्रतिवर्ष सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिन्छ ।

इरानले सन् २०२३ मा सात सयभन्दा धेरैलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले नोभेम्बरमा बताएको थियो । उक्त आँकडा आठ वर्षमा सबैभन्दा धेरै हो ।

जापान एयरलाइन्सको विमानमा आगलागी


टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएपछि जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

एयरबस विमानमा रहेका सबै ३६७ यात्रु र १२ जना चालक दलका सदस्यलाई बाहिर निकालिएको एनएचकेले जनाएको छ। क्योडो न्यूज रिपोर्टका अनुसार जहाजमा आठ बालबालिका पनि थिए।

तटरक्षक विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये एकजना सकुशल रहेको एनएचकेले जनाएको छ तर अन्य पाँचजना बेपत्ता छन्।

घटनाको कारण तत्काल स्पष्ट हुन सकेको छैन। जिजी समाचार एजेन्सीका अनुसार सोमबार मध्य जापानमा गएको शक्तिशाली भूकम्पपछि उद्धार कार्यमा सहयोग गर्न कोस्ट गार्डको विमान प्रस्थान गर्ने तय भएको थियो।

विमान उत्तरी जापानी टापु होक्काइडोमा रहेको सापोरो एयरपोर्टबाट भर्खरै आइपुगेको बताइएको छ।

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ। प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् ।

‘प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,’ एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ ।

पाकिस्तानसँग सम्बन्ध हार्दिक बनाउन भारत इच्छुक
पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासाङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतंकवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन् ।

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् ।

पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उनले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् । पाकिस्तानले दशकौँ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरूले त्यस्ता विषय अप्रासाङ्गिक बनाएको बताएका छन् । पाकिस्तान आफ्नो नजिकको छिमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् ।

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतंकवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।
मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।

आर्थिक संकटबाट गुज्रेको श्रीलंकालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलंकासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन् ।
पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन् ।

पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार


दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा घाँटीमा चक्कु प्रहार भएको थियो ।

जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले उनको घाँटीको देब्रे भागमा हतियार प्रहार गरेका थिए ।

योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्वीरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।

दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।

इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त
इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या झण्डै २२ हजार पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको जनाएको छ । यस्तै घाइते हुनेको संख्या ५७ हजार ६९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणमा कम्तीमा १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले पत्रकार सम्मेलनमा इजरायली हमलामा अहिलेसम्म ३ सय २६ स्वास्थ्यकर्मी मारिएको जानकारी दिए ।

गत अक्टोबर ७ मा युद्ध सुरु भए यता इजरायली सेनाले गाजामा १४० एम्बुलेन्स र ३० अस्पतालहरू नष्ट गरेका छन् भने करिब ९९ स्वास्थ्य कर्मीहरूलाई अमानवीय अवस्थामा गिरफ्तार गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ०१ बजे

सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कान्तिपुर पब्लिकेसन्स

सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा