भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक « Khabarhub

भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – “गर्मी चढ्यो, शीतल लुगा यता पाइन्छ”, भृकुटीमण्डपका व्यापारी मानदेव मगरले यसै गरी ग्राहक बोलाउँछन् । तर, उनको आवाज सुनेर पसलसम्म सामान किन्न आउने ग्राहक खासै छैनन् । घाँटी सुक्ने गरी कराउँदासमेत व्यापार नहुँदा उनी खिन्न छन् । “चिच्याएर मात्रै के गर्नु मान्छे आउँदैनन्”, उनी भन्छन्, “गर्मी सुरु भइसक्यो ग्राहक छैनन् ।”

स्टल नं. १२१ का व्यापारी मगरले कोभिड महामारीको चर्को मार त खेप्नुभएकै थियो, आर्थिक मन्दीको तितो अनुभव अहिले भोगिरहेको बताउँछन् । उनले २५ वर्षदेखि भृकुटीमण्डपको खुला बजारमा व्यापार गर्दै आएका हुन् । कुनै बेला ग्राहकको भीडले खाजा खाने फुर्सद नपाउने उनी अहिले मोबाइल हेरेर दिन बिताउँछन् । “मान्छे नआएपछि भिडियो हेर्दै समय कटाउँछु”, उनी भन्छन्, “व्यापार सोचे जस्तो भएन, भाडै तिर्न नसकिने अवस्था छ ।”

चैत र वैशाख महिना भृकुटीमण्डपमा सबैभन्दा राम्रो व्यापार हुने मौसम हो । यो समयमा जाडोको लुगा थन्काएर गर्मीका लुगा किन्न आउने मान्छेको घुइँचो हुने गर्थ्यो । तर अहिले त्यस्तो अवस्था नरहेको मगर सुनाउँछन् । “भाडा महँगीयो व्यापार छैन”, उनी थप्छन्, “कमाउने त कुरै छैन ।”

निम्न वर्गीय समुदायले किनमेल गर्ने बजारका रुपमा परिचित काठमाडौँ उपत्यकाको भुकृटीमण्डप खुला बजारमा आर्थिक मन्दीको प्रभाव परेको छ । सात सयभन्दा बढी पसल रहेको बजारमा जु्त्ता, चप्पल, लत्ताकपडा, भाडा, इलेक्ट्रोनिक, कस्मेटिकलगायत सामग्रीको व्यापार हुन्छ । लकडाउन अघि दैनिक रु २० देखि २५ हजारको व्यापार हुने गर्थ्यो । अहिले त्यो बेलाको तुलनामा ५० प्रतिशत व्यापार घटेको व्यापारी बताउँछन् ।

प्रति स्क्वायरफुट महिनाको रु ६८ ले भाडा तिर्नुपर्छ । व्यापार नभएकै कारण एक हजार चार सय स्टल व्यापारी घटेर सात सयको हाराहारीमा पुगेको काठमाडौँ निम्न व्यापारी सङ्घका सचिव ध्रुव ढकालले जानकारी दिए । उनका अनुसार आर्थिक मन्दीको प्रभाव भृकुटीमण्डप खुला बजारमा देखिएको छ ।

सचिव ढकालले व्यापार घटनुमा विदेशिने युवाको सङ्ख्यामा वृद्धि हुनु, आर्थिक क्षेत्र चलायमान नहुनु र सहकारी जस्ता वित्तिय संस्थामा अस्थिरता आउनुलगायत कारण रहेको जिकिर गरे । “चैत, वैशाख महिनामा अरु बेला दसैँ–तिहार जत्तिकै भीड हुन्थ्यो”, उनले भने, “अहिले अचम्मै भयो, चैत, वैशाखमा व्यापारमा खडेरी देखियो ।”

भृकुटीमण्डप खुला बजारको आफ्नै इतिहास छ । विसं २०४२(०४३ देखि खुला बजारको परिकल्पना सुरु भएको हो । उच्च शिक्षाको लागि काठमाडौँ बाहिरबाट पढ्न आउने विद्यार्थीले जीविकोपार्जन गर्न फुटपाथ (सडक)मा बसेर व्यापार गर्न थाले । सुरुमा सुन्धारा आसपासमा व्यापार गर्ने व्यापारीलाई सरकारले व्यवस्थित फुटपाथ बजार बनाउने हेतुले खुल्ला मञ्च (टुँडिखेल) सारेको थियो । त्यसपछि विसं २०४८ मा तत्कालीन काठमाडौँ नगरपालिकाले खुला मञ्च सफा बनाउने अभियान थाल्यो ।

फलस्वरुप त्यहाँ व्यापार गर्दै आएका व्यापारीलाइ सारेर भृकुटीमण्डपमा राखिएको सङ्घका सचिव ढकालले जानकारी दिए । उनका अनुसार त्यतिबेला अर्को व्यवस्था नहुँदा सम्म अस्थायी रुपमा व्यापार गर्न भनि सारिएको थियो । समाजकल्याण परिषद्, काठमाडौँ नगरपालिका र व्यापारीबीच त्रिपक्षीय सहमति भई व्यापार थालिएको हो । अहिलेसम्म पनि अस्थायी रुपमा बसेको भृकुटीमण्डप बजारले स्थायी रुप पाउन सकेको छैन ।

“हामीले फोहोर सफा गरेर व्यापार सुरु गरेका थियौँ”, उनले विगत स्मरण गर्दै भने, “निम्न समुदायको व्यापार केन्द्र व्यवस्थित बनाउन सरकार अझै बेखबर छ ।” व्यापारले आर्थिक मन्दी खेप्नु मुख्य चुनौती छ नै । अर्को मुख्य चुनौती अस्थायी भौतिक संरचना हुनु हो ।

बाँसका भाटा र त्रिपालको भरमा अडिएको खुला बजारका व्यापारी पानी पर्दा छानो चुहिइएर सास्ती खेप्नुपर्छ । हुरिबतास आउँदा त्रिपाल उड्ने त्रास झेल्नुपर्छ । स्टल नं ६५ का व्यापारी कृष्णकुमार कार्कीले चैत, वैशाख महिनामा हुरिवतासले छाना उडाउने चिन्ताले सताउने गरेको बताए । “टिनको मात्रै छाना भए, दुखै थिएन”, उनले भने, “भाडा तिरेर पनि सुविधाले व्यापार गर्न पाइएको छैन ।”

सङ्घले लामो समयदेखि समाज कल्याण परिषद् समक्ष भृकुटीमण्डप खुला बजारलाई अर्ध अस्थायी स्टल निर्माण गरेर व्यवस्थित बनाउन माग राख्दै आएको छ । सचिव ढकालले प्रक्रिया कहाँ पुग्यो अहिलेसम्म परिषद्बाट जानकारी नपाएको बताए । उनका अनुसार निम्न अर्ध अस्थायी स्टल बनाउन सके हावाहुरी र पानीको चिन्ता हट्थ्यो ।

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले अर्ध अस्थायी स्टल बनाउने प्रस्ताव अघि बढेको जानकारी दिए । “प्राविधिक प्रक्रिया सुरु हुँदैछ”, उनले भने, “जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा छौँ ।”

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : १२ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन