मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई | Khabarhub Khabarhub

मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा सरकार टिकाउन र ढाल्न राजनीतिक कसरत तीव्र भएको छ ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता हुन् । वैशाख २३ मा जसपा नेपाल फुटेपछि केन्द्र सरकारबाट उपेन्द्र यादव बाहिरिएर प्रतिपक्षमा पुगिसकेका छन् ।

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार यतिबेला अल्पमतमा परेको छ ।

सरकारबाट यी दुई ठूला दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।

मुख्यमन्त्री यादवले यही जेठ २३ गते विश्वासको मत लिने बताइसकेका छन् । उनले आगामी जेठ २९ भित्र विश्वासको मत लिइसक्नुपर्छ ।  विश्वासको मतको समय आएसँगै सरकार टिकाउने र ढाल्ने राजनीतिक खेल तीव्र भएको हो ।

जसपा नेपाल नेतृत्वको सरकार जोगाउन केन्द्रको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरू लागि परेका छन् । अर्कातिर यो सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, जनमत पार्टी र माओवादीले सबै तागतसहित खटिएका छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दलला समर्थन गरे यो संख्या ५३ पुग्नेछ । अझै सरकारका लागि १ सांसद अपुग हुन्छ ।

राप्रपाले एमालेसहितको गठबन्धन सरकारलाई मधेश प्रदेशमा पनि समर्थन नगर्ने बताइसकेको छ ।

तर नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले गठबन्धनलाई समर्थन गर्ने दाबी एमालेका नेताहरूले गरिरहेका छन् ।

नेकपा एकीकृत समाजवादीले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पुर्‍याउन एमाले, माओवादी र जनमतका नेताहरू एकजुट भएर काठमाडौंमा बालुवाटार, बालकोटदेखि माधव नेपालको निवास कोटेश्वरसम्म धाइरहेका छन् । उता सत्ता टिकाउन संघर्षरत जसपा नेपाल एकीकृत समाजवादीको साथ पाउने आशमा देखिन्छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा अहिले एकीकृत समाजवादीका २ जना मन्त्री छन् । समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् । अर्का सांसद बेची लुंगेली श्रम तथा यातायात मन्त्री छिन् ।

दलका नेता न्यौपानेले अझैसम्म कुनै निर्णयमा नपुगेको बताएका छन् । उनले खबरहबसँग भने, ‘हामी अझै केन्द्र र मधेस सरकार दुवैमा रहेकोले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने-नगर्ने पेचिलो विषय हो । यो राजनीतिक कुरा हो, १-२ घण्टामा परिस्थिति फेरबदल हुन सक्छ ।’

यद्यपि नेकपा एकीकृत समाजवादीको मनसाय भने जता–जता सत्ता जान्छ उतैतिर ढल्किने देखिएको छ ।

लोसपाले भने जसपा नेतृत्वको सरकारलाई कुनै हालतमा समर्थन नगर्ने बताइसकेको छ । तर उनीहरूले जनमत नेतृत्वलाई पनि समर्थन गर्ने-नगर्ने प्रस्ट छैन ।

प्रदेश सभामा लोसपाको ९ सिट रहे पनि संसदीय दलका नेता शर्मा निलम्बित छन् । प्रदेश सभामा मतदान भए लोसपाका ८ जना मात्रै सहभागी हुनेछन् । उता मधेश प्रदेशमा कांग्रेसका २२ जना छन् ।

कांग्रेसले जसपा नेपाललाई समर्थन गर्ने धारणा सार्वजनिक गरिसकेको छ । यादव नेतृत्वको सरकार जोगाउन कांग्रेसले सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपाको ८ जना सांसद एकजुट भए ४९ जना पुग्ने छन् । एकीकृत समाजवादीले हालको अवस्था रहिरहे मुख्यमन्त्री यादवले सहजै बहुमत पाउने छन् । एकीकृत समाजवादीले समर्थन जारी राखे ३ पार्टीका १-१ जना ससदले पनि सत्तापक्षलाई समर्थन गर्ने निश्चित छ ।

साना दलको समर्थन सत्ता गठबन्धनले पाए पनि संख्या ५२ भन्दा माथि जाने छैन । सरकार जोगाउने र गिराउने खेल चलिरहँदा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका लागि आवश्यक बहुमत आफूहरूसँग रहेको दाबी गरेका छन् ।

‘शीर्ष तहमा सहमति भइसकेकाले बहुमतसहित सरकारका लागि दाबी गरिनेछ’, उनले भने, ‘हामीलाई लोसपाले पनि साथ दिनेछ ।’

मुख्यमन्त्री जनमतको हुने टुङ्गो लागिसकेकाले अन्य मन्त्रालय बाँडफाँट गठबन्धनका दलहरूबीच हुने उनले बताए । तर एकीकृत समाजवादीले समर्थन गरे पनि सरकारलाई चाहिने आवश्यक बहुमत नपुग्ने भएकाले अन्य सांसदहरूबाट समर्थन लिने प्रयास भइरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।

‘मधेश प्रदेशमा लामो समयदेखि भ्रष्टाचार चलेकोले अब अन्त्यका लागि जसपा नेपालविरुद्ध दलहरू एकजुट भएका छन्’, प्रवक्ता यादवले भने ।

उनले जनमत पार्टीको नेतृत्वमा बन्न लागेको सरकारलाई जसपा नेपालले समर्थन गरेर उदारता देखाउँदा सकारात्मक सन्देश जानेसमेत बताएका छन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ४८ बजे

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास

सिँचाइ अभावले दोलखामा ३४ प्रतिशत मात्रै रोपाइँ

दोलखा– जिल्लामा यस वर्ष असारको १५ बितिसक्दा पनि  सहज रूपमा

पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु

काठमाडौं– फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग

प्रतिनिधिसभामा एकजना पनि मन्त्री आएनन्, बैठक स्थगित

काठमाडौं- एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको