नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सिटौलासँग राखेको त्यो माग… « Khabarhub

नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सिटौलासँग राखेको त्यो माग…


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाहले नारायणहिटी दरबार छोडेको १६ वर्ष पूरा भइसकेको छ । उनले २०६५ जेठ २९ गते देशभित्रै बसेर सक्रिय रहने घोषणासहित नारायणहिटी छोडेका थिए ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उपलब्ध गराएको नयाँ आवास नागार्जुन दरबारतर्फ प्रस्थान गर्नु ३ घण्टाअघि नारायणहिटीमा सयौँ पत्रकारमाझ उनले भावुक हुँदै लिखित वक्तव्य पढेका थिए ।

नारायणहिटी छोड्नुअघि आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले आफू दुई पटक राजा बनेको बताउँदै दुवैपटक बाध्यतावश श्रीपेच पहिरिनु परेको बताएका थिए ।

ज्ञानेन्द्रले आफू र आफ्नो परिवारमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आफूले गरेका कामबाट कसैलाई मर्का परेको भए त्यसलाई भूलवश भएको ठानिदिन आग्रहसमेत थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेको दुई साताअघि नै संविधानसभाले गणतन्त्र घोषणा गरेर उनलाई १५ दिनभित्र नारायणहिटी छोड्न भनेको थियो ।

संविधानसभाबाट गणतन्त्रको घोषणापछि १५ दिनभित्र नारायणहिटी दरबार छाड्नुपर्ने सरकारको निर्णयबारे जानकारी दिन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला ज्ञानेन्द्रलाई भेट्न गएका थिए ।

त्यसबेला सक्रिय शासन चलाइरहेका राजालाई सरकारको सन्देश बोकेर भेट्न गएका तत्कालीन गृहमन्त्री सिटौला पूर्वराजा ज्ञानेन्द्रसँग भएको कुराकानीबारे मौन रहँदै आएका थिए ।

राष्ट्र प्रमुखको हैसियतमा रहेका राजालाई सरकारको सन्देश दिन जाँदा दुईजनाबीच खास के कुराकानी भएको थियो ? सरकारको सन्देश सुनेपछि पूर्वराजा ज्ञानेन्द्रले कस्तो प्रतिक्रिया दिएका थिए ? सरकारले ज्ञानेन्द्रलाई नारायाणहिटी छोड्नुभन्दा केही शर्त पो राखेका थिए कि ? तमाम प्रश्नहरू अनुत्तरित छन् ।

तर, मंगलबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेताको भूमिकामा रहेका उनै सिटौलाले तत्कालीन परिदृश्यबारे केही कुरा खोलेका छन् ।

कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्म जयन्तीका अवसरमा सानेपामा आयोजित अन्तरसंवादमा उनले पूर्वराजा ज्ञानेन्द्रसँगको कुराकानीबारे मुख खोलेका हुन् ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ समारोहका वक्ता सिटौलाले कार्यकर्ताको जिज्ञासा मेटाउने क्रममा उक्त कुराकानीबारे संक्षिप्त विवरण खोलेका छन् ।

‘राजा ज्ञानेन्द्रलाई बिदा गर्न जाँदा उहाँका धेरै प्रश्न थिएनन् । कुरा त लामै भयो, झण्डै ४५ मिनेट जति । एकदमै भद्र, राम्रो वातावरणमा संवाद भएको थियो । उहाँका केही माग थिए, आफ्नो निवासको, आफ्नी मुमाको निवासबारेमा,’ सिटौलाले भने, ‘उहाँले राखेका ती कुरा मिलाएर क्याबिनेटमा राखेँ । गिरिजाबाबुले मैले राखेका ती कुरालाई यस (हुन्छ) भन्नुभयो । अनि पास भयो ।’

तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसादको निर्णयअनुसार अहिले पनि ज्ञानेन्द्र शाहकी आमा दरबारभित्रै रहेको उनले खुलाए । ‘अहिले पनि उहाँ (ज्ञानेद्र शाह) को मुमा रत्ना त्यहीँ दरबारभित्रै बस्नुहुन्छ । महेन्द्र मञ्जिल भन्ने निवास छ, त्यहीँ हुनुहुन्छ’, उनले भने, ‘नागार्जुन दरबार उहाँ (ज्ञानेन्द्र शाह) लाई बस्नको लागि क्याबिनेटले दिएको छ अहिलेसम्म पनि ।’

सिटौला २०६२/६३ को जनआन्दोलनताका तत्कालीन अवस्थमा सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने निर्णायक भूमिकामा थिए ।

माओवादीसँग शान्ति सम्झौताका लागि उनै सिटौलाले तत्कालीन अवस्थमा नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसहितलाई कास्कीबाट हेलिकप्टरमा काठमाडौं ल्याएका थिए । सिटौलाले त्यसपछि पनि माओवादीलाई शान्ति प्रक्रियामा टिकाइरहन भूमिका खेले ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : १६ बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका