कांग्रेसमा किचलो : समानान्तर भेला गर्दै शेखर समूह, रोक्न खोज्दै संस्थापन पक्ष | Khabarhub Khabarhub

कांग्रेसमा किचलो : समानान्तर भेला गर्दै शेखर समूह, रोक्न खोज्दै संस्थापन पक्ष

ग्रामथानमा हारलगत्तै विवाद सुरु



विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा हारलगत्तै कोशी कांग्रेसमा किचलो सुरु भएको छ । कांग्रेसको प्रदेश सम्मेलनलाई प्रभावित पार्न डा. शेखर कोइराला पक्षले समानान्तर भेला गर्ने भएपछि कोशी कांग्रेसमा किचलो देखिएको हो ।

उपनिर्वाचनको नतिजा धमाधम आइरहँदा कांग्रेस कोशीभित्र गुटगत गतिविधि र असन्तोष देखिएको हो । पार्टीको संस्थान र संस्थापन इतर पक्षबीचको टकरावबीच केही दिनको फरकमा विराटनगरमा दुई ठूला भेला हुँदैछन् ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिले मंसिर २२ मा पहिलो प्रदेश सम्मेलन गर्ने तयारीमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई उपस्थित गराएर सम्मेलन गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला डा. कोइराला पक्षले विराटनगरमै मंसिर १८ गते अर्को भेला गर्दैछ ।

जसका कारण कांग्रेस कोशीभित्रको गुटगत विवाद छताछुल्ल हुन पुगेको छ । संस्थापन पक्षका नेताहरू शेखर पक्षले पार्टी कार्यक्रम असफल पार्न समानान्तर भेला गर्न लागेको आरोप लगाइरहेका छन् । संस्थापनइतर पक्षको भेलाको वैधानिकतामैै प्रश्नसमेत उठिरहेको छ ।

डा. कोइराला पक्षले संस्थापन पक्षलाई जानकारी नदिई पालिका भेला आयोजना गर्ने तयारीमा लागेको छ । तर संस्थापन पक्ष सभापति देउवामार्फत् भेला रोक्ने प्रयासरत छ ।

संस्थापन समूहका नेता सभापति, उपसभापति र महामन्त्री रहेको प्रदेश समितिले आयोजना गर्ने प्रदेश भेलाअघि नै शेखर पक्षले अर्को भेला राखेर १५ औँ महाधिवेशनको तयारी थालेको आरोप संस्थापन पक्षका नेताहरू लगाउन थालेका छन् ।

कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीलाई जानकारी नदिई पालिकाको भेलाको तयारीलाई अवैधानिक भनेका छन् । ‘विराटनगरमा पालिका भेलाबारे कहीँ कतै छलफल भएको जानकारीमा छैन’, थापाले भने, ‘अवैधानिक तरवरबाट गरिने यी र यस्ता कार्यक्रम रोकिनुपर्छ, त्यसलाई रोक्ने कामतर्फ प्रदेश सभापतिको हैसियतमा पहल गर्नेछु ।’

मोरङका १७ वटै पालिकालाई आयोजक बताउँदै कोइराला पक्षले मंसिर १८ मा प्रदेशभरका सबै पालिकाका सभापतिको भेला र प्रशिक्षण राखेको छ । संस्थापन पक्ष र इतर पक्षले केही दिनको फरकमा फरक भेला गर्दा कांग्रेसभित्र गुट विवाद चर्केको अनुमान कार्यकर्ताले गरिरहेका छन् ।

पार्टीलाई जानकारी नदिई प्रदेशका १३७ पालिका सभापतिको भेलालाई कोइराला समूह रोक्ने अबस्थामा देखिएको छैन । जसकाकारण संस्थापन पक्ष र संस्थापन इतर पक्षबीचको यो टकराव अझै बढ्ने देखिएको छ ।

कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंका अनुसार संस्थापन पक्षले गर्न लागेको प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

बन्दसत्रमा ६४८ जना प्रतिनिधि सहभागी हुने र त्यही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ ।

अहिले कांग्रेसको मोरङ सभापति शेखर पक्षकै डिगबहादुर लिम्बू छन् । प्रदेश सभापति थापा भने संस्थापन पक्षका हुन् । संस्थापनभित्र सिटौला समूहको प्रतिनिधित्व थापाले गर्ने गरेका छन् । प्रदेश भेला उद्घाटन सत्रमा प्रमुख अथिति सभापति देउवा छन्, पालिका भेलामा डा. कोइरालालाई प्रमुख अथिति बनाइएको छ ।

१४ औँ महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले १५ औँ महाधिवेशनमा फेरि सभापति लड्ने घोषणा गरिसकेका छन् ।

यसैबीच नेपाली कांग्रेस नेता डा. कोइराला पक्षले गर्ने तयारी गरेको कोशी प्रदेशका पालिका सभापतिहरुको भेला रोक्न पार्टी केन्द्रले निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेश सम्मेलन हुने जनाएका हुन् ।

कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलानिकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले भने मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

केन्द्रीय कार्यालयको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनैपनि कार्यक्रम नरहेको भनिएको छ । कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको बताइरहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ४७ बजे

भक्तपुर दरबार क्षेत्रमा बेलायती राजकुमार एडवार्ड (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

दमौली– पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला

चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान

चितवन- सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका

सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन

भक्तपुर- सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका

नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य

काठमाडौं – नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ