अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार | Khabarhub Khabarhub

अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार



काठमाडौं– सरकारले हालसम्म अघि बढाएका अधिकांश सुरुङमार्ग परियोजनाहरू अध्ययनमै सीमित बन्न पुगेका छन् । सडक सञ्जाललाई छोट्याउन र छिटो, छरितो हुने पूर्वाधार संरचना निर्माणअन्तर्गत सरकारले सुरुङमार्गको योजना अघि बढाइएको हो । सरकारले देशका विभिन्न सडकखण्डमा सुरुङमार्ग बनाउने गरी योजना पहिचान र अध्ययन गरे पनि अपेक्षित उपलब्धिमुलक हुन सकिरहेको छैन ।

हालसम्म देशभर दुई दर्जनभन्दा बढी सुरुङमार्गको पहिचान गरिए पनि अधिकांशको निर्माण अघि बढ्न सकेको छैन । अर्थात्, अधिकांश सुरुङ परियोजनाहरू अध्ययनकै चरणमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, हालसम्म दुई दर्जन सुरुङ परियोजनाहरू पहिचान भई अध्ययनकै चरणमा रहेका छन् । कतिपय परियोजनाको अध्ययन सम्पन्न भई निर्माण कार्यसमेत सुरु भइसकेको छ ।

कुनै परियोजना निर्माणको अन्तिम चरणमासमेत छन् । जसमध्ये एक हो, नागढुंगा सुरुङमार्ग परियोजना । उक्त सुरुङमार्ग परियोजना आगामी २०८२ साउनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य लिएको छ । हालसम्म परियोजनाको समग्र भौतिक प्रगति ९० प्रतिशतमाथि छ ।

त्यस्तै, सरकारले अध्ययन सम्पन्न गरी कतिपय परियोजनालाई निर्माणको चरणमा लगेको छ । जसमध्ये एक हो, सिद्धबाबा सुरुङमार्ग परियोजना । पाल्पा हुँदै बुटवल जोड्ने उक्त सुरुङ परियोजना निर्माण २ वर्ष वर्षदेखि सुरु भएको थियो ।

परियोजनाको हालसम्म कुल १ हजार १२६ मिटर लामो सुरुङमध्ये दुवैतर्फ गरी साढे ५ सय मिटर टनेल खनिसकिएको छ । अर्थात्, टनेल खन्ने काम आधाभन्दा बढी सकिएको छ ।

उक्त परियोजना निर्माण गर्न सरकारले २०७८ साल फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)लाई जिम्मा दिएको थियो । कुल ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको उक्त ठेक्काको आयोजनामा सुरुङ खन्ने काम औपचारिक रूपमा २०८० साल माघदेखि सुरु भएको थियो  ।

टोखा–छहरेमा बजेट शून्य !

परियोजना आगामी २०८२ साउनसम्म निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी छ । त्यस्तै, सरकारले पहिचान गरी अघि बढाएका कतिपय सुरुङमार्गहरुको निर्माण कार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।

विगत २ वर्षदेखि सरकारले अध्ययन गरिरहेको टोखा–छहरे सुरुङमार्ग अहिलेसम्म निर्माणको चरणमा लैजान सकेको छैन । गत आवमा परियोजनाको विस्तृत अध्ययन गर्न बजेट छुट्याएर निर्माण थालनी गर्ने भनिए पनि अहिलेसम्म परियोजना अघि बढ्न सकेको छैन ।

अझ भन्ने हो भने चालू आवमा टोखा–छहरे सुरुङमार्ग परियोजनालाई सरकारले उपेक्षा गरेको छ । अर्थात्, चालू आवमा यस परियोजनालाई बजेट विनियोजन गरेको देखिँदैनन् ।

गत आवमा उक्त सुरुङ परियोजनाका लागि विस्तृत अध्ययन सकेर निर्माण प्रक्रियामा लैजान १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, चालू आवको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक विकास कार्यक्रमको सूचीमा उक्त परियोजना परेको छैन ।

५८ प्रतिशतले घट्यो बजेट

चालू आवको वार्षिक विकास कार्यक्रमअन्र्तगत विभिन्न १४ वटा सुरुङ परियोजनाका लागि ८१ करोड १४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको थियो । जहाँ की अघिल्लो आवमा सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत सरकारले १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गत वर्षको तुलनामा चालू आवमा सरकारले सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत बजेट सिलिङको ५८ प्रतिशत अर्थात् १ अर्ब १३ करोड रुपैयाँ बजेट घटाएको हो । चालू आवमा सबैभन्दा बढी बजेट सिद्धबाबा सुरुङमार्ग परियोजनामा खन्याइएको छ ।

अर्थमन्त्री डा. विष्णु पौडेलले आफ्नो जिल्लामा निर्माणाधीन सुरुङमार्ग परियोजनामा मात्र ६५ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

अर्बौका परियोजनालाई लाखमा बजेट

सरकारले चालू आवको बजेटमार्फत अघि बढाएका कतिपय सुरुङ परियोजनाको बजेट भने ज्यादै न्यून छ । अर्थात्, सुरुङमार्ग परियोजना निर्माण गर्न लागत नै अर्बौ लाग्छ । तर, सरकारले वार्षिक रूपमा ‘लाख’ का दरले सुरुङ परियोजनामा बजेट छुट्याउछ ।

न्यून बजेटका कारण पनि सुरुङमार्गको विकास अपेक्षित रूपमा हुन नसकेको सरोकारवाला निकाय बताउँछन् । सरकारले गत आवको बजेटमार्फत धरान–लेउती सुरुङमार्ग, ग्वार्को–सातदोबाटो फ्लाइओभर, टोखा–छहरे सुरुङमार्ग परियोजनालाई बजेट विनियोजन गरी निर्माणको चरणमा लैजाने बताएको थियो ।

तर, ती सुरुङ परियोजनाहरू अहिले निर्माणमा जान सकेका छैनन् । गत आवमा धरान–लेउती सुरुङमार्ग निर्माण सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । चालू आवमा पनि ५० लाख रुपैयाँ नै बजेट विनियोजन गरेको छ ।

यता, नयाँ बानेश्वर अन्डरपासको अध्ययनका लागि सरकारले चालू आवमा ९ लाख बजेट छुट्याएको छ । गत वर्ष उक्त परियोजनालाई १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

त्यस्तै, चालू आवमा सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययन गर्न भन्दै १ करोड २३ लाख रुपैयाँ चालू आवमा बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, दुम्कीबास–बर्दघाट सुरुङमार्ग परियोजना पनि चालू आवमै अध्ययन सम्पन्न गराइ निर्माण प्रक्रियामा अघि बढाउने सरकारको योजना छ । जसअन्र्तगत चालू आवमा परियोजनाको विस्तृत अध्ययन गर्न २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, २५ लाख बजेट सुरुङ परियोजना निर्माण सुरु हुन सक्ने अवस्था भने देखिँदैनन् ।

त्यस्तैगरी, हेम्जा–नयाँ पुल खण्ड सडक सुरुङमार्ग परियोजनाका लागि चालू आवमा २५ लाख, मझिमटार–शक्तिखोर सुरुङमार्ग परियोजनाका लागि १२ लाख, बिपिनगर–खुटिया परियोजनाका लागि ४ लाख र बबइ–छिन्चु सुरुङमार्गका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तैगरी, सरकारले चालू आवमा फुस्रेखोला छोरेपाटन(पोखरा) देखि स्याङ्जा गुडीखोला टनेलको अध्ययन कार्य अघि बढाइएको छ । त्यसका लागि परियोजनामा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रारा राजमार्गको कुशे पाटन–जाजरकोट भ्याउलीढुंगा र जुम्ला इमिलचा खोला टनेल(सुरुङमार्ग) परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गर्ने काम चालू आवमा सक्ने सरकारको तयारी छ । उक्त सुरुङ परियोजनाका निम्ति चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ग्वार्को फ्लाइओभरलाई ८ करोड

चालू आवमा सरकारले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ग्वार्को फ्लाइओभर निर्माण गर्न बजेट विनियोजन गरेको छ । उक्त परियोजनाका लागि सरकारले यस वर्ष ८ करोड १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

ग्वार्को फ्लाइओभर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चालू आवभित्रै ग्वार्को फ्लाइओभर निर्माण कार्य सम्पन्न गराइ यातायात सञ्चालन गर्ने सरकारको योजना छ । आगामी २०८१ पुसमसान्तसम्म म्याद थप गरिएको उक्त परियोजना निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेको सडक विभागले जनाएको छ ।

त्यस्तैगरी, लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्र्तगत तुलसीपुर लुहाम सुरुङमार्ग परियोजनाको विस्तृत अध्ययन र निर्माण सुरु गर्न चालू आवमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, मझिमटार–शक्तिखोर सुरुङमार्ग परियोजनाको अध्ययन गर्न १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कतिपय सुरुङमार्गको अध्ययन र विस्तृत सम्भाव्यता अध्ययन पूरा नहुँदा निर्माण प्रक्रियामा जान सकेका छैनन् भने अध्ययन पूरा भएका सुरुङमार्ग निर्माणका लागि स्रोत जुटाउन नसक्दा निर्माण प्रक्रियामा जान सकिरहेका छैनन् ।

तीबाहेक केही सुरुङमार्ग अध्ययनको अन्तिम चरणमा रहेको र केही अध्ययनकै चरणमा रहेको उनको भनाइ छ ।

पूर्वाधार विज्ञ डा. सुर्यराज आचार्य सडक सञ्जाल राम्रो हुन नसकेको परिप्रेक्ष्यमा सुरुङ बनाउने जस्तो खर्चिलो विकास आवश्यक नरहेको बताउँछन् । उनका अनुसार, पुराना राष्ट्रिय राजमार्गका खण्डहरु सुरुङ नबनाउने गरी रेखांकन गरिएको उनको भनाइ छ । खर्चिलो विकास आवश्यक नरहेको पूर्वाधारविद् डा. सूर्यराज आचार्य बताउँछन्।

‘पहिले हाम्रा पुरानै राजमार्गको विकास र विस्तार राम्रो गर्नुपर्‍यो । राजमार्ग रेखांकन गर्दा सुरुङ प्रविधि नबनाउने गरी बनाइयो,’ उनले भने, ‘अहिले हामीलाई खर्चिलो विकास चाहिएको होइन ।’

अधिकांश सुरुङ परियोजनाहरू पहिचान गर्ने र कतिपयको अध्ययन सम्पन्न गराइ निर्माणको चरणमा लगिएको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले धेरै घुम्ती हुने घुमाउरा सडकखण्डमा सरकारले सुरुङमार्गको विकास गर्ने नीति लिएको बताए ।

सुरुङमार्गले लामो दूरीको यात्रा छोट्याउने, छिटो र सहज तरिकाले यातायात गर्न सकिने गरी सुरुङ परियोजनाहरूको पहिचान, अध्ययन र निर्माण कार्य गरिरहेको उनले बताए ।

यी हुन हालसम्म पहिचान, अध्ययन र निर्माणाधीन सुरुङ परियोजनाहरू :
१. नागढुंगा सुरुङमार्ग (निर्माणाधीन)
२. सिद्धबाबा सुरुङमार्ग(निर्माणाधीन)
३. धरान–लेउती सुरुङमार्ग(विस्तृत अध्ययन हुँदै)
४. सुरुङमार्ग विकास कार्यक्रम
५.दुम्कीबास–बर्दघाट सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
६. हेम्जा नयाँ पुलखण्ड सडक सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
७. मझिमटार–शक्तिखोर सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
८.नयाँ बानेश्वर अन्डरपास(निर्माणको चरणमा)
९. प्रवास–जोर्ते(पाल्पा) सुरुङमार्ग (प्रारम्भिक अध्ययन)
१०. बबइ–छिन्चु सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
११. थातली–रविओपी सुरुङमार्ग (प्रारम्भिक अध्ययन)
१२.बिपीनगर–खुटिया सुरुङमार्ग
१३. गोदावरी–मानचौर सुरुङमार्ग (प्रारम्भिक अध्ययन)
१४. फुश्रेखोला छोरेपाटन(पोखरा) देखि स्याङ्जा गुडीखोला टनेल (प्रारम्भिक अध्ययन)
१५. बागलुङ–बिहुँ–नरेठाँटी सुरुङमार्ग (प्रारम्भिक अध्ययन)
१६. रारा राजमार्गको कुशेपाटन(जाजरकोट ब्याउलीढुंगा र जुम्ला इमीलचा खोला टनेल(विस्तृत अध्ययन हुँदै)
१७. सुनमाइ राजदुबोल सुरुङमार्ग अध्ययन, इलाम(प्रारम्भिक अध्ययन)
१८. ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर(निर्माणाधीन)
१९.बेँशीशहर– नाल्मबेँशी सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
२०. लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्र्तगत जाजरकोट ब्याउलीढुंगा–जुम्ला टोप्ला सुरुङमार्ग(प्रारम्भिक अध्ययन)
२१.टोखा–छहरे सुरुङमार्ग (विस्तृत अध्ययन)
२२. पांडिणी गाउँपालिकादेखि दुर्गा फाँटा सुरुङमार्ग(डीपीआर हुँदै)
२३. तुलसीपुर–लुहाम सुरुङमार्ग

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : १६ बजे

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक