रास्वपालाई जम्मा ३४०९ भोट, कांग्रेस–एमालेलाई ०८४ मा पुग्ला त चोट ? | Khabarhub Khabarhub

रास्वपालाई जम्मा ३४०९ भोट, कांग्रेस–एमालेलाई ०८४ मा पुग्ला त चोट ?

काठमाडौंबाहेक अन्य पालिकामा उपस्थिति निराशाजनक


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन ०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त गर्न सकेन ।

विभिन्न पदका लागि उपनिर्वाचन भएका ४४ स्थानीय तहमध्ये २६ तहमा रास्वपाले उम्मेदवारी दिएको थियो । संघीय संसद्को चौथो ठूलो दल रहेको उसले संघीय राजधानीबाहेकका स्थानमा सम्मानजनक मत पाएन ।

रास्वपाले उम्मेदवारी दिएका २६ स्थानीय तहमध्ये चार स्थानमा दोहोरो अंकसमेत जोड्न असफल भएको छ ।

ताप्लेजुङ, महोत्तरी, रोल्पा र कालिकोटमा दोहोरो अंकमा मत पाउन रास्वपा असफल देखिएको हो ।

रास्वपाले ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ मा ७ मत मात्रै पायो भने महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा ४ मत पायो ।

त्यसैगरी, रास्वपाले रोल्पाको रुन्टिगढी नगरपालिका–४ मा ७ मत र कालिकोटको तिलागुफा नगरपालिका–४ मा ५ मतमा चित्त बुझाउनुपरेको छ ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने नेतृत्वको रास्वपाले हालसम्म अन्तिम मत परिणाम सार्वजनिक भएका तहहरूबाट जम्माजम्मी ३ हजार ४०९ मत प्राप्त गरेको छ ।

रास्वपाले उम्मेदवारी दिएका मध्ये उदयपुरको बेलका नगरपालिका–९, दोलखाको गौरीशंकर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी नै दिएन ।

रास्वपाले उदयपुरको बेलका नगरपालिका–९ मा तेजमान विश्वकर्मालाई वडाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिकामा गोमा श्रेष्ठ तथा हुम्लाको सर्केगाड गाउँपालिकामा वाचा बुढालाई उपाध्यक्षमा अघि सारेको छ । त्यहाँको परिणाम आउन बाँकी छ ।

रास्वपाले सबैभन्दा बढी मत संघीय राजधानी काठमाडौंमा पाएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ मा १५ सय ८४ मतसहित वडाध्यक्षमा विजयी भएकी छन् ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक १३ सय ०४ मतसहित दोस्रो र एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर १२ सय १८ मतसहित तेस्रो भएको छन् । गत स्थानीय तह निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो ।

रास्वपाले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नवीनकुमार विश्वास खवासलाई उम्मेदवार बनाएको थियो । यहाँ उनी ३७५ मतसहित चौथो भए । ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी ६९ सय ६९ मतका साथ विजयी बनेका छन् । कांग्रेसका बलराम सरदार थारु ५३ सय ३३ मतसहित दोस्रो भएका छन् । यहाँ एमाले तेस्रो स्थानमा छ ।

तेह्रथुमको लालिगुराँस गाउँपालिका–८ को वडाध्यक्षमा रास्वपाबाट उम्मेदवारी दिएका सञ्जिव खड्का ३८ मतसहित तेस्रो भएका छन् । यहाँ कांग्रेस उम्मेदवार नरेन्द्र लिम्बू ४४० मतसहित वडाध्यक्षमा विजयी भएका छन् । एमालेका बुद्धबहादुर लिम्बू ३६० मत ल्याएर दोस्रो भएका छन् ।

रास्वपाले उम्मेदवारी दिएको सुनसरीको गढी गाउँपालिका–६ मा ३३ मत प्राप्त गरेको छ । रास्वपाका शशीकुमार साहु ३३ मतसहित पाँचौँ हुँदा कांग्रेस उम्मेदवार तेतर साहु ८१६ मतसहित वडाध्यक्षमा विजयी भएका छन् ।

मोरङको ग्रामथानमा रास्वपाको चुनावी अभियान

ओखलढुंगाको मोलुङ गाउँपालिका–६ मा वडाध्यक्षमा उम्मेदवारी दिएका रास्वपाका विष्णुप्रसाद पोख्रेल १५१ मतसहित तेस्रो भएका छन् । यहाँ एमालेका गंगाबहादुर तामाङ ३९९ विजयी हुँदा कांग्रेसका घनश्याम दाहाल १७७ मतसहित दोस्रो भएका छन् ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ मा रास्वपाले मात्र ७ मतमा चित्त बुझाउनु परेका छ । यहाँ रास्वपाका उम्मेदवार देवीप्रसाद पौडेल ७ मतसहित पाँचौं भएका हुन् । यस वडामा एमालेकी कुमारी सावादेन ३५३ मतसहित विजयी भएकी छन् ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ मा २०२ मत ल्याएर रास्वपाका उम्मेदवार ध्रुवप्रसाद पोख्रेल पाँचौँ भएका छन् । यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार वान्तवा राई ९२३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–१ मा रामनरेश दासले १० मत पाएका छन् । उनी सातौं हुँदा माओवादीका सुनील कापर केवट ६८४ मतसहित वडाध्यक्षमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाले महात्तरीको रामगोपालपुर नगरपालिका–२ मा मात्र ४ मत ल्याएको छ । यहाँ रास्वपाका उम्मेदवार खुरसैद खाँ ४ मतसहित छैटौं भएका छन् । यस वडामा नेकपा एमालेका सकिवुल खाँ ६३१ मतसहित विजयी भएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्षमा उम्मेदवारी दिएका रास्वपा नेता मंगलसिद्धि लामा तामाङ ८३ मतसहित चौथो भएका छन् । ककनी–२ मा माओवादीका कृष्ण घिमिरे १०८५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । यहाँ कांग्रेसका सूर्य तामाङ ५८७ दोस्रो र एमालेका यमबहादुर लामा ३४१ तेस्रो भएका छन् ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ मा रास्वपा उम्मेदवार आशावीर बल ८३ मत ल्याएर पाँचौं भएका छन् । यहाँ कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित वडाध्यक्ष बन्न सफल भएका छन् । यहाँ माओवादीका रविकुमार प्रधानले १५ सय ६० र एमालेका राजेश नगरकोटीले १३ सय ९८ प्राप्त गरेका छन् ।

रास्वपाले गोरखाको गोरखा नगरपालिका ५ मा मंगलबहादुर थापालाई अघि सारेको थियो । उनी ८२ मत ल्याएर चौथो हुन पुगेका छन् । यहाँ माओवादीका विष्णुबहादुर मगर ४८६ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । ४०२ मत पाएका कांग्रेसका भाईकाजी आले दोस्रो भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका–१ मा ४३ मत ल्याएर रास्वपा चौथो हुन पुगेका छ । रास्वपाले यहाँ विकास थापालाई वडाध्यक्षको उम्मेदवार बनाएका थियो । यहाँ कांग्रेसका आनन्द श्रेष्ठ ११ सय ८४ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेका दलबहादुर थापाले ९३० र माओवादीका दुर्गाबहादुर बिकले १४३ मत पाएका छन् ।

रोल्पाको रुन्टिगढी नगरपालिका–४ मा रास्वपा उम्मेदवार हिमबहादुर पुनले ७ मत पाएका छन् । रास्वपा उम्मेदवार पुन पाँचौं हुँदा । कांग्रेसका भुपमणि पुन मगर ६४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

लुम्बिनीको कपिलवस्तुमा पर्ने शुद्धोधन गाउँपालिका–१ मा रास्वपाले अवधेशकुमार चौधरीलाई वडाध्यक्षमा अघि सारेको थियो । उनी ९२ मतससहित छैटौँ भएका छन् ।

यहाँ एमालेका मोहमद ताहिर मुसलमान ११ सय ५० मत ल्याएर विजयी भएका छन् । कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ र जनमतका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याएका छन् ।

लुम्बिनीकै बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा रास्वपा उम्मेदवार बाशुदेव शर्मा १७ मतसहित छैठौं भएका छन् । यहाँ कांग्रेसका अमिन थारु १ हजार ४३ मतसहित विजयी भएका छन् । माओवादीका उम्मेदवार शेरबहादुर थारु ६७८ मतसहित दोस्रो हुँदा एमालेका विष्णुप्रसाद देवकोटाले ३३७ मत प्राप्त गरेका छन् ।

कर्णालीको देलैखमा पर्ने महाबु गाउँपालिका अध्यक्षमा रास्वपाले प्रकाशकुमार बुढालाई उम्मेदवार बनाएको थियो । उनी ११२ मत प्राप्त गरेर चौथो बनेका छन् । यहाँ एमालेका जंगबहादुर शाही ३१ सय २७ सहित विजयी भएका छन् । कांग्रेसका झलकबहादुर भण्डारीले २६ सय ७५ र माओवादीका जंगबहादुर बराल मगरले ८४२ मत ल्याएका छन् ।

दैलेखकै दुल्लु नगरपालिका–१३ मा रास्वपा उम्मेदवार रामबहादुर शाही ५३ मत ल्याएर चौथो भएका छन् । यहाँ एमालेका लालबहादुर शाही ५७४ मतसहित विजयी हुँदा कांग्रेसका रेशमबहादुर शाहीले ५७१ र माओवादीका ढकेन्द्रबहादुर शाहीले २७८ मतमा चित्त बुझाएका छन् ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा रास्वपा उम्मेदवार गगन बमले मात्र ५ मत पाएका छन् । उनी छैठौैं भएका छन् । यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही १४३ मतसहित विजयी भएका छन् । दोस्रो भएका माओवादी उम्मेदवार नैशोभा शाहीले ११५ मत पाएकी छन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा रास्वपाले उम्मेदवार बनाएकी पार्वती पुन १७९ मत ल्याएर चौथो बनेकी छन् । यहाँ माओवादीकी देवका लामिछाने ४२ सय ७२ मतले विजयी भएकी छन् । कांग्रेसका इन्द्रा चन्द सिंहले ३१ सय ४७ र एमालेकी सुनिता बोहराले २५ सय ४२ मत पाएका छन् ।

जाजारकोटको कुसे गाउँपालिका–७ मा रास्वपा उम्मेदवार कमान सार्कीको मत आयोगको वेबसाइटमा देखाइएको छैन । यहाँ कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसहित विजयी भएका छन् । माओवादीका गोरखबहादुर नेपाली ३३२ मतसहित दोस्रो भएका छन् ।

सुदूरपश्चिमको डोटीमा पर्ने पूर्वीचौकी गाउँपालिका–६ मा रास्वपाले जानकीकुमारी खड्का कुँवरलाई उम्मेदवार बनाएको थियो । उनी ३१ मत ल्याएर तेस्रो भएकी छन् । यहाँ कांग्रेसका मोहन थापा ४६८ मतसहित विजयी हुँदा एमालेका देवबहादुर थापा ३०१ मत ल्याएर दोस्रो भएका छन् ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ रास्वपाका उम्मेदवार रामदत्त भट्ट २१८ मत पाएर पाँचौं भएका छन् । यहाँ कांग्रेसका प्रकाश चन्द ११ सय ०७ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटमत् प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत पाएका छन् । विजयी प्रकाश भतिजा हुन् भने एमालेका उम्मेदवार बहादुर काका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ४७ बजे

पाथीभरामा केबलकारविरुद्ध आन्दोलित १४ जना बिनाशर्त रिहा, ताप्लेजुङका तीनजनालाई मुद्दा

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

एजेन्सी – अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले

भक्तपुर दरबार क्षेत्रमा बेलायती राजकुमार एडवार्ड (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

दमौली– पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला

चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान

चितवन- सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका