तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल « Khabarhub

तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ। मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् ।

अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल कुट्ने, निफन्ने चटारो घरघरै देखिन्छ । त्यसैगरी पर्वकै लागि उखु किसान उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन तल्लीन देखिन्छन् । पर्वअघि मिठ्ठाले राम्रो भाउ पाउने किसानको आश छ ।

पर्व नजिकिएसँगै गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । यसपालि अब १०-११ दिनपछि आउने यो पर्वका लागि महोत्तरीका सबैजसो हटिया (साप्ताहिक बजार) पर्व विशेषका सामग्रीले जम्न थालेका देखिन्छन् ।

तिलासक्रायत पर्व यहाँका किसानका लागि नगद आर्जनको अवसर बन्ने गर्छ । पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा, पाखोबारीमा लगाइएको तिल, कन्दमूल (तरुल, सुठुनी, पिँडालु) र मासको दालले राम्रो मूल्य पाएपछि किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो । 

त्यसैगरी धान किनेर मुरी (भुजा) र चिउराको व्यापार गर्ने साना व्यापारी पनि आर्जन हुने आशामा छन् । तिलको बजार जमिसकेको छ भने सख्खर, चिउरा र मुरीलगायतको बजार एक–दुई दिनपछि जम्न थाल्ने भङ्गाहा–५ सीतापुर बजारका किराना पसले रामभगत साहले बताए ।

पर्व नजिकिएसँगै थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याई गरेर मिठ्ठा बनाउन र बनेको सामग्री बजार पुर्याउन तल्लीन छन् । धेरैजसो बस्तीमा पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नुपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको किसानको भनाइ छ ।

यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि पर्वअघि तरुल, पिँडालु र सुठुनी खन्ने तालिकामा छन्। तरुल, पिँडालु र सुठुनी तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा यी उत्पादनले  राम्रो मूल्य दिने दनुवारको भनाइ छ । 

अहिले तीन–चार कठ्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल, पिँडालु, सुठुनी  र तील बेचेर रु १०-२० हजार जोहो गर्ने योजना बनाएका छन् । आफ्नो पाँच कठ्ठा पाखो बारी (सिँचाइ नपुगेको)मै लगाइएको उखु, तिल, सुठुनी र तरुलबाट पोहोर रु २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान चन्देश्वर राय दनुवार बताउँछन्  । 

तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा)जुनेला (अन्नविशेष)लाई (लड्डु) उसिनेको सुठुनी तथा तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीमा यी सामग्रीको जोहोमा सर्वसाधारण लाग्छन् ।

पर्वविशेषले जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल, सुठुनी, पिँडालु तथा तरुललगायतका बाली बढी लगाइने गरेको छ । पर्वविशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी किसानका लागि नगद जोहोको अवसर बनेको हो ।

अहिले राम्रो तिल प्रतिकिलो रु तीन सय ५०  र  मिठ्ठा रु एक सय १० ले बिक्री हुँदैछ । त्यसैगरी अब एक सातापछि खनिने तरुल, सुठुनी र पिँडालुले पनि राम्रो भाउ पाउने किसानले आश गरेका छन् । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यस क्षेत्रका घरघरमै अहिले यो पर्वको तयारीले रौनक बढेको छ । 

खासगरी यताका थारूको मुख्य पर्व नै तिलासक्रायत हुँदा थारू बस्ती पर्वको तयारीमा तल्लिन देखिन्छन् । तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्व विशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्ती–बस्तीमै तिल, मिठ्ठा, चिउरा, मुरीका बजार जम्दैछन् । केही दिनपछि सुठुनी, पिँडालुको बजार जमाउने तयारीमा किसान जुटेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ३३ बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको