तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल | Khabarhub Khabarhub

तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ। मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् ।

अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल कुट्ने, निफन्ने चटारो घरघरै देखिन्छ । त्यसैगरी पर्वकै लागि उखु किसान उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन तल्लीन देखिन्छन् । पर्वअघि मिठ्ठाले राम्रो भाउ पाउने किसानको आश छ ।

पर्व नजिकिएसँगै गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । यसपालि अब १०-११ दिनपछि आउने यो पर्वका लागि महोत्तरीका सबैजसो हटिया (साप्ताहिक बजार) पर्व विशेषका सामग्रीले जम्न थालेका देखिन्छन् ।

तिलासक्रायत पर्व यहाँका किसानका लागि नगद आर्जनको अवसर बन्ने गर्छ । पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा, पाखोबारीमा लगाइएको तिल, कन्दमूल (तरुल, सुठुनी, पिँडालु) र मासको दालले राम्रो मूल्य पाएपछि किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो । 

त्यसैगरी धान किनेर मुरी (भुजा) र चिउराको व्यापार गर्ने साना व्यापारी पनि आर्जन हुने आशामा छन् । तिलको बजार जमिसकेको छ भने सख्खर, चिउरा र मुरीलगायतको बजार एक–दुई दिनपछि जम्न थाल्ने भङ्गाहा–५ सीतापुर बजारका किराना पसले रामभगत साहले बताए ।

पर्व नजिकिएसँगै थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याई गरेर मिठ्ठा बनाउन र बनेको सामग्री बजार पुर्याउन तल्लीन छन् । धेरैजसो बस्तीमा पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नुपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको किसानको भनाइ छ ।

यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि पर्वअघि तरुल, पिँडालु र सुठुनी खन्ने तालिकामा छन्। तरुल, पिँडालु र सुठुनी तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा यी उत्पादनले  राम्रो मूल्य दिने दनुवारको भनाइ छ । 

अहिले तीन–चार कठ्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल, पिँडालु, सुठुनी  र तील बेचेर रु १०-२० हजार जोहो गर्ने योजना बनाएका छन् । आफ्नो पाँच कठ्ठा पाखो बारी (सिँचाइ नपुगेको)मै लगाइएको उखु, तिल, सुठुनी र तरुलबाट पोहोर रु २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान चन्देश्वर राय दनुवार बताउँछन्  । 

तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा)जुनेला (अन्नविशेष)लाई (लड्डु) उसिनेको सुठुनी तथा तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीमा यी सामग्रीको जोहोमा सर्वसाधारण लाग्छन् ।

पर्वविशेषले जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल, सुठुनी, पिँडालु तथा तरुललगायतका बाली बढी लगाइने गरेको छ । पर्वविशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी किसानका लागि नगद जोहोको अवसर बनेको हो ।

अहिले राम्रो तिल प्रतिकिलो रु तीन सय ५०  र  मिठ्ठा रु एक सय १० ले बिक्री हुँदैछ । त्यसैगरी अब एक सातापछि खनिने तरुल, सुठुनी र पिँडालुले पनि राम्रो भाउ पाउने किसानले आश गरेका छन् । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यस क्षेत्रका घरघरमै अहिले यो पर्वको तयारीले रौनक बढेको छ । 

खासगरी यताका थारूको मुख्य पर्व नै तिलासक्रायत हुँदा थारू बस्ती पर्वको तयारीमा तल्लिन देखिन्छन् । तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्व विशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्ती–बस्तीमै तिल, मिठ्ठा, चिउरा, मुरीका बजार जम्दैछन् । केही दिनपछि सुठुनी, पिँडालुको बजार जमाउने तयारीमा किसान जुटेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ३३ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका