काठमाडौँ– डिप्रेसन भनेको एक प्रकारको प्रमुख मानसिक रोग हो । समुदायमा धेरै मानिस यस रोगबाट पीडित छन् । विभिन्न तथ्याङ्कअनुसार सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान गरिएको मनोविदहरु बताउँछन् ।
मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा.सुरज तिवारीका अनुसार डिप्रेसन एउटा भावनात्मक रोग हो । यसमा भावनाहरूको उथलपुथल हुन्छ । रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने हुने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगायतका लक्षण देखिने गर्दछन् । यदि यस्ता लक्षणहरू देखिए भने चिकित्सकहाँ जानुपर्छ । जाँच गर्दा कुनै शारीरिक समस्याहरू देखिएन भने डिप्रेशन हो की भनेर शंका गर्न सकिन्छ ।
डिप्रेसन सामान्यदेखि कडा खालको पनि हुन्छ । यदि समयमै उपचार गरिएन बेवास्ता गरियो भने डिप्रेसनका कारण आत्महत्याको बिचार समेत मनमा आउन सक्छ ।
डिप्रेसन किन हुन्छ ?
डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउने डा.तिवारी बताउँछन् । मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ ।
डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन । तर यसका बिभिन्न कारणहरू हुन्छन् । पहिलो कारण वंशाणुगत हो । यदि परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिको पुस्तालाई कुनै बेला डिप्रेसन भएको थियो भने डिप्रेसन हुनसक्छ ।
तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेसन हुन्छ । केही रासायनिक परिवर्तनहरूको असन्तुलनको कारणले डिप्रेसन हुन्छ । कुनै पनि घटेका घटना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेसन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रूपले झेल्न सकिएन भने डिप्रेसन उत्पन्न हुन्छ ।
कसैको सोच्ने तरिका नै निराशावादी खालको हुन्छ । त्यसले पनि डिप्रेसन हुन्छ । यस्ता विभिन्न कारणहरू छन् जसले मानिसहरूलाई डिप्रेसन गराउँछ । यो बालबालिकादेखि लिएर मध्यम उमेरका मानिसहरूमा पनि हुन सक्छ । तर उमेर अनुसार यसको परिस्थिति फरक हुन्छ । जस्तै बालबालिका र किशोरकिशोरीहरूमा विद्यालय, साथी र अभिभावकहरूको व्यवहारका कारण हुनसक्छ, युवाहरूमा करियर, रिलेसन, समाजका कारणले हुनसक्छ भने त्यो भन्दा माथिका उमेर समुहमा कुनै दीर्घरोग, सपोर्ट सिस्टमको कमी लगायतका कारणले पनि हुनसक्छ । हिजोआज प्रविधिको बढ्दो उपयोगले मानिस एक्लिन थालेका छन् । यसका कारण पनि धेरै मानिस डिप्रेसनमा पर्ने गरेका खोजकर्ताहरू बताउँछन् ।
उपचार विधि के छ ?
समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ ।
हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो । केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ । औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श (साइको थेरापी) पद्धति ।
डिप्रेसन हुन्छ भन्ने धेरैलाई थाहा छैन । धेरैलाई लाग्न सक्छ यस्तो पनि रोग हुन्छ । यस्तो खालको चेतना र जागरुकता छैन । सबैभन्दा पहिला त डिप्रेसनलाई चिन्न सक्नुपर्छ । आफैँलाई भएको छ अथवा अरुलाई यस्तो भएको देखेको खण्डमा पनि उपचारको लागि जानुपर्छ भनेर सल्लाह दिनुपर्छ । बिरामीको सुरक्षा पहिलो उपचार हो । यस्तो बेलामा बिरामीमा एकदमै नकरात्मक सोचाइ आउँछ । समयमा उपचार गर्ने हो भने यो रोग ठिक हुन्छ ।
अन्दाजीका भरमा मात्रै रोगको उपचार गरेर हुँदैन । त्यसैले पहिला कस्तो खालको डिप्रेसन हो त्यो पत्ता लगाएर उपचार गर्नुपर्छ । बिरामीको लागि सुहाउँदो उपचारको पद्धति के हुन्छ त्यसबारे बिरामीसँग छलफल गर्नुपर्छ । बिरामीको आफन्तसँग छलफल गरेर उपचार विधि बनाउनुपर्छ ।
त्यसपछि औषधीको उपचार, मानसिक उपचार (साइको थेरापी) गर्न सकिन्छ । डिप्रेसनको लागि बिरामीको आवश्यकता अनुसार चिकित्सकले औषधी दिन्छ। साइको थेरापीमा मानिसको नकरात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ । यसका लागि विभिन्न तरिका अपनाइन्छ । सामूहिक रुपमा र व्यक्तिगत रुपमा वार्ताको माध्यमबाट बिरामीको उपचार गर्न सकिन्छ। मनो चिकित्सकको सल्लाह बिना आफूखुसी यसको औषधी लिनु हुँदैन । बजारमा पनि चिकित्सकको सिफारिस बिना औषधी पाइँदैन ।
लामो समयसम्म यसको औषधि प्रयोग गर्न पर्ने पनि हुनसक्छ । औषधिको प्रभाव देखिन दुई तीन हप्ता समय लाग्न सक्छ । औषधी आज खानसाथ भोलि निको हुने भन्ने हुँदैन । ९ महिनादेखि १ वर्षसम्म यसको औषधी प्रयोग गरिरहनु पर्ने हुन्छ ।
डिप्रेसनका लक्षण पुरै नियन्त्रण हुन्छन् । तर भविष्यमा फेरि त्यस्तै तनावको अवस्था आयो भने नदोहोर्याएर आउन सक्छ । एकपटक ठिक हुनासाथ जीवनभरी ठिक भयो भन्ने हुँदैन । एकपटक डिप्रेसन भएर त्यसको उचित उपचार भइसकेपछि लामोसमयसम्म डिप्रेसन रहित भएर बस्न सकिन्छ । तर भविष्यमा गएर यदि त्यस्तै तनाव भयो भने दोहोरिएर आउन सक्छ । २० वर्षको अवधिमा ४ देखी ५ पटक सम्म डिप्रेसनले सताउन सक्छ । यदी उपचार गरिएन भने ६ देखि १३ महिनामा आफैँ ठिक हुन्छ । उपचार गरियो भने २ देखि ३ महिनामा ठीक हुन्छ ।
डिप्रेसनबाट बच्न के गर्ने ?
शारीरिक प्रणालीमा हुने रसायनहरूलाई सन्तुलनमा राख्नको लागि शारीरिक क्रियाकलापहरू निकै महत्वपूर्ण हुन्छन् । अघिल्ला केही पिँढीहरूबाट यहाँसम्म आइपुग्दा हाम्रा शारीरिक क्रियाकलापहरू अत्यधिक घटेका छन् । त्यसैले, हाम्रो प्रणालीमा रसायनहरूलाई सन्तुलित राख्न कठिन हुन्छ ।
डिप्रेसन यसरी बढ्दै जानुको मुख्य कारण भनेको बदलिँदो जीवनशैली हो । सँधै ब्यालेन्स डाइट लिने, जंक फुडबाट बच्ने । यसबाट मनोबल उच्च रहन्छ । धुमपान र मदिरापानबाट टाढै रहने, आफ्नो खास मित्र तथा परिवारजनसँग आफ्नो तनाव वा समस्याको बारेमा छलफल गर्ने, उनीहरूबाट कुनै नयाँ बाटो निस्कन सक्छ र डिप्रेसनबाट बाहिर आउन सकिन्छ ।
त्यस्तै चाहिनेभन्दा अति बढी खानु, पर्याप्त मात्रामा शारीरिक क्रियाकलाप नहुनु, प्रकृतिसँग नजोडिनु, पञ्चतत्त्वका सम्पर्कमा नरहनु, भावनात्मक रूपमा असुरक्षित महसुस गर्नु— यिनै मुख्य कारणहरूले गर्दा, आज विश्वमा डिप्रेसन वा उदासीपन व्यापक रूपमा फैलिएको छ ।
यदि हामीले यी कुराहरूमा ध्यान दिने हो भने, डिप्रेसन लगायत अन्य मानसिक समस्याहरू जुन रूपमा फैलिएको छ, त्यसलाई उल्लेखनीय रूपमा कम गर्न सक्छौँ ।
(मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा. सुरज तिवारीसँगको कुराकानीमा आधारित
प्रतिक्रिया