आजका समाचार : नेताहरुको दौडधुपदेखि शालिनको पोष्टमार्टम रिपोर्टसम्म | Khabarhub Khabarhub

आजका समाचार : नेताहरुको दौडधुपदेखि शालिनको पोष्टमार्टम रिपोर्टसम्म


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’, देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट, एमालेका अध्यक्ष ओलीका लागि उनेको २ सय किलोको माला उपाध्यक्ष पौडेलको गलामा, एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेख्दै, राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने, चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्टलगायतका समाचारले प्रमुख स्थान पाए। 

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिए ।

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालले आज छुट्टाछुट्टै छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

एमालेका अध्यक्ष ओलीका लागि उनेको २ सय किलोको माला उपाध्यक्ष पौडेलको गलामा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखिएको थियो ।

अध्यक्ष ओली नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको नेकपा एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् ।

एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेख्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेख्न थालनी गरेको छ ।

समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैंकहरु सुरक्षित छन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु सुरक्षित रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले बैंकहरुलाई राष्ट्र बैंकले मनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरु सुरक्षित रहेको बताएका हुन् ।

उनले नेपालका बैंकहरुको अवस्थालाई हेरेर नै विदेशी बैंकहरुले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरु बजारमा चलाइएकाले ऋण असुलीमा केहि समस्या देखिएको जिकिर गरे ।

सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सबै मिलेर डिजिटल नेपालको उद्घोष र सङ्कल्पलाई सफल बनाउनुपर्ने बताएका हुन् । उनले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वसनीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए ।

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाको प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले जानकारी दिइन् ।

संसदीय समितिले फलामे छड कारखानाको अवलोकन गर्ने

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरुको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पतालमा गरिएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने शालिन मृत फेला परेकी थिइन् । बालिका होस्टलको कोठामा रहेको सिलिङ पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीले आइतबार पनि गरे प्रदर्शन

कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका छन् ।

महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरुले आइतबार राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कोहलपुरमा घोङी खाने प्रतियोगिता

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो ।

घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए । उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए ।

अन्तर्राष्ट्रिय…

चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश

चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् ।

शहबाज सरिफ फेरि पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रियसभा नेशनल एसेम्बलीबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।

पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एनका अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ ।

अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् । आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन् ।

शनिबार तीन वटै राज्यमा ट्रम्पले संयुक्त राष्ट्र संघका पूर्व राजदूत र उनका अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराउँदै उनले यो विजय हासिल गरेका हुन ।

खेलकुद…

नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने

नेपाल र नेदरल्याण्ड्स राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेका छन् ।

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक-एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : ०५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार