एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल | Khabarhub Khabarhub

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

रविले पनि दिएनन् साथ, बुर्लाकोटीले पढिदिए प्रतिवेदन



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक घण्टी घर च:मतीमा बसिरहेको छ । बैठकमा महामन्त्री मुकुल ढकाले हरियो मास्कमाथि टेप टाँसेर सहभागी भएका छन् ।

ढकालले यो बैठकलाई लाइभ गर्न भनेका थिए । सभापति रवि लामिछानेले बैठक सुरु गरेपछि तत्काल महामन्त्री ढकालले बैठकको लाइभ गर्न आग्रह गरे ।

सभापति लामिछानेले यसको जानकारी गराउँदै भने ‘महामन्त्रीले उक्त प्रस्ताव ल्याएपछि रास्वपामा त्यो अभ्यास नभएको र लाइभ गर्ने कि नगर्ने ? मेरो ‘पर्सनल ओपिनियन’ के छ भने लाइभ गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ ।’

त्यसपछि के गर्ने भनेर केन्द्रीय समितिमा छलफलका लागि प्रस्ताव छोडियो । केन्द्रीय सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा लाइभ नगरौँ, यो पार्टीको सबैभन्दा ठूलो ‘बडी’ हो भन्ने कुरा अधिकांश केन्द्रीय सदस्यले राखे ।

प्रतिवेदमा के छ भन्ने सभापतिबाहेक अरु कसैलाई थाहा नभएको बताउँदै उनीहरूले यस्तो विवादले पार्टीलाई जस्तोसुकै अवस्थामा धकेल्न सक्ने बताए ।

‘अहिले यसलाई लाइभ नगरौँ । पछि पर्‍यो भने गर्नुपर्छ । पहिला हामी केन्द्रीय सदस्यले सुन्छौँ भन्ने विचार आएपछि सभापतिले लाइभ नगर्ने भनेर कार्यक्रम अगाडि बढाउन अनुरोध गर्नु भयो’, बैठकमा सहभागी एक नेताले भने ।

त्यसपछि महामन्त्री ढकालले आफ्नो कुरा राख्दै भने, ‘मैले मेरो विचार राख्न पाउनुपर्छ । मेरो लोकतान्त्रिक वाक स्वतन्त्रता हो । मेरो स्वतन्त्रतालाई पार्टीले हनन गर्न पाउँदैन ।’

महामन्त्री ढकालले यसो भनेपछि सभापति लामिछाने फ्लोरले भोट गरोस् भनेका थिए । त्यसपछि बैठकमा सहभागी केन्द्रीय समितिका सदस्यहरू भोट गर्ने प्रक्रियामा लागे ।

लाइभ नगर्ने पक्षमा ९९ प्रतिशत मत जाहेर भयो । सबै केन्द्रीय सदस्यहरूले लाइभ नगर्ने पक्षमा हात उठाए । लाइभ गर्नुपर्छ भन्ने पक्षमा कसैको हात नउठेपछि मुकुल एक्लिए ।

‘महामन्त्री ढकालको प्रस्तावमा एक जनाले पनि हात उठाउनु भएन’, रास्वपाका एक पदाधिकारीले भने, ‘महामन्त्रीको पक्षमा कसैले हात नउठाएपछि सभापतिले बैठक सुरु गर्न गर्नुभयो ।’

त्यसपछि पुनः महामन्त्री ढकालले आफूले बोल्न पाउने वाक र पदीय स्वतन्त्रता हननन भएको गुनासो गरे ।

त्यसपछि मुकुलले गोजीबाट मास्क निकालेर टेपले टाँसेर मुखमा लगाए ।

सभापति लामिछानेले महामन्त्रीले बुझाएको प्रतिवेदन उनैलाई पढ्न आग्रह गरे । तर मुकुलले ‘पढ्दिनँ’ भने । त्यसपछि सह-महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रतिवेदन पढ्न लगाए । सह-महामन्त्री बुर्लाकोटीले महामन्त्री ढकालको प्रतिवेदन पढेर सुनाए ।

त्यसपछि प्रतिवेदन पढिसकेर खाना खाने समय सुरु भयो । महामन्त्री ढकाल अघिल्ला बैठकभन्दा निराश देखिए । उनी कुनै केन्द्रीय सदस्यसँग पनि खुलेर बोलिरहेका थिएनन् ।

ढकालको प्रतिवेदन बुर्लाकोटीले केन्द्रीय समितिमा पेस गरिसकेका छन् । अहिले प्रतिवेदनउपर छलफल भइरहेको छ । खानापछि पनि ढकालले मास्कमा टेप टाँसेर बैठकमा भाग लिइरहेका छन् ।

बैठकबीचमा चिया कार्यक्रम भएन । महामन्त्रीलाई कुनै कुनै केन्द्रीय सदस्यले महामन्त्रीज्यू टेप लगाएर खाने कि खोलेर खाने भनेर पनि ब्यंग्य गरे । तर उनले प्रतिक्रिया नजनाएको रास्वपा सचिवालयका सदस्यहरू बताउँछन् ।

‘अघिल्ला बैठकहरूमा मुकुलले राखेका विचारमाथि सभापतिले यो यस्तो हो, यो त्यस्तो हो भनेर जवाफ दिनुहुन्थ्यो । ढकालको गतिविधिपछि सभापति पनि निराश हुनुहुन्छ’, ती नेताले भने ।

रास्वपाका एकजना केन्द्रीय कमिटी सदस्यले खबरहबलाई भने, ‘सधैँ सभापतिजीले महान्त्रीलाई जोगाउनु हुन्थ्यो। यस पटक उहाँको पक्षमा कोही भएनन् ।’

रास्वपा महामन्त्रीको शैलीलाई लिएर अरु नेता खुसी छैनन् । तर प्रतिवेदनमा उठाएका कुरामा पार्टी सच्चिएर समीक्षासहित अगाडि बढ्नुपर्ने कुरामा नेताहरूले ढकाललाई साथ दिएका छन् ।

के हो महामन्त्रीको कुरा ?

महामन्त्री ढकालले गत असार १२ गते बुधबार रास्वपा सभापति लामिछानेलाई सच्चिएर अगाडि नबढे पार्टीको आकार खस्किएर जाने बताउँदै प्रतिवेदन बुझाएका थिए ।

तर उनले प्रतिवेदन बुझाएपछि दिएको अभिव्यक्तिले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो ।

पार्टीका आन्तरिक कुराहरू पार्टी केन्द्रीय कमिटीमा नराखेर मिडियाबाजी गरेको भन्दै ढकाललाई अनुशासन आयोगले पत्र पठाएको हो ।

रास्वपा अनुशासन आयोगका संयोजक रामशरण बजगाईंका अनुसार पार्टीको अनुसाशन र नियम उल्लंघन गरिएको देखिएकाले ढकाललाई स्पष्टीकरण सोधिएको हो ।

तर हालसम्म आयोगले उक्त स्पष्टीकरणमा ढकालले जवाफ दिएका छैनन् । बरु उनले आयोगलाई समीक्षा यात्रामा जानुअगाडि आफूले बुझाएको प्रतिवेदन सम्झाएका छन् । उनले २ महिनाअगाडि अभिव्यक्ति स्वतन्त्रता भनेको के हो ? राय सुझाव दिनुहोस भनेर पत्र पठाएको पत्रलाई आयोगले बेवास्ता गरेको दाबी ढकालले गरेका छन् ।

उनले भने, ‘२ महिनाअगाडि नै आयोगलाई अभिव्यक्ति स्वतन्त्रता भनेको के हो ? भनेर पत्र पठाएको थिएँ । त्यसको जवाफ आएको छैन । त्यसपछि सिधै स्पष्टीकरण आयो ।’

ढकालले जनताको कुरा बोल्दा जुनसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । ‘मैले जनताको कुरा बोल्दा ममाथि अनेक आरोप लागाइन्छ । फरक तरिकाले हेरिन्छ भने सहन तयार छु । तर हाम्रो पार्टी जनताको नजरमा सच्चिएर जानुपर्छ’, उनले भने ।

उनले ३८ जिल्ला घुमेर बनाएको समीक्षा प्रतिवेदन सभापति लामिछानेलाई बुझाइसकेकाले जेजस्ता प्रशन उठाए पनि सामना गर्न तयार भएको बताएका थिए ।

प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्ति रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख थियो ।

उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै कमजोर अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ४१ बजे

नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला

क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

टोकियो- जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसदमा पहिलो नीतिगत

‘गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिर छिरेका होइनन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र

सन्दीपको अपिल : घृणा होइन, सहनशीलता र सम्मानको बाटो रोजौँ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले पछिल्ला

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

काठमाडौं- पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी