काठमाडौं- बालेन्द्र शाह, अर्थात् बालेन । काठमाडौं महानगरपालिकाका लोकप्रिय मेयरको पहिचान बनाएका बालेन्द्र शाहको विगतको पहिचान र्यापर बालेन शाह’ थियो । पेशाले ‘इञ्जिनियर’ पनि उनको अर्को पहिचान थियो । अहिले, महानगर प्रमुख हुँदाहुँदै बालेन्द्रले आफ्नो पहिचान ‘कवि बालेन’ का रुपमा बनाउन खोजेका छन् ।
एकजना मानिसको वास्तविक र साहित्यिक पहिचान एउटै हुँदैन । शायद एउटै पहिचान हुन्थ्यो भने नेपाली कांग्रेसका नेता, पूर्वप्रधानमन्त्री वीपी कोइरालाको साहित्यिक पहिचान ‘फ्रायडवादी’ हुने थिएन । नेपाली सेनाका जर्नेल राजेन्द्र थापाको पहिचान ‘यसपालि त मनै फाट्यो’ भन्ने कोमल गीतका सर्जकका रुपमा जोडिने थिएन ।
मेयर बालेन्द्र शाहका पुराना र्याप गीत सुन्ने हो भने त्यसले उनलाई अलिअलि ‘भिटेन’तर्फ डोर्याउँछ । तथापि उनमा भिटेनको जति पर्याप्त ‘अराजकता’ पाइँदैन । उनमा राजनीतिक–सामाजिक विकृतिप्रति आक्रोश भने पर्याप्त भेटिन्थ्यो, युमबुद्धमा जस्तै ! बालेनको र्याप सुनिसकेपछि यतिचाहिँ त्यसबेलै भन्न सकिन्थ्यो– उनी राजनीतिक विकृतिको उग्र विरोधी युवा हुन् ।
मेयरका रुपमा राजनीतिमा प्रवेश गरेका बालेन्द्र शाह भाषणहरुमा कम सुनिने चरित्र हुन् । उनी बोल्न भन्दा मौन बस्न बढी रुचाउँछन् । अरु नेताहरु बढी बोलेर बिग्रिएका छन्, बालेन्द्र नबोलेरै चर्चामा छन् ।
नबोली–नबोली ‘रहस्यमय’ पात्र बनिरहेका मेयर बालेन्द्र आखिर ‘कवि बालेन’ का रुपमा चाहिँ कस्ता छन् त ?
यसको सुइँको पाउन गत बैशाख १४ मा ‘बर्थ डे’का दिन बुकहिलले प्रकाशन गरेको बालेनको कविता संग्रह ‘अश्र’ का पाना पल्टाउनुपर्ने हुन्छ ।
संस्कृतको ‘अश्रु’ शब्द हिन्दीमा आइपुग्दा ‘अश्र’ भयो । र, त्यो नेपालीमा आइपुग्दा ‘आँसु’ बन्न पुग्यो । यसर्थ, बोलेनको कविता संग्रह ‘अश्र’ लाई सरल अर्थमा ‘आँसु’ भनेर बुझ्दा हुन्छ ।
यहाँ बालेनका कविताको समालोचना गर्न खोजिएको होइन । कम बोल्ने बालेन आफ्ना कवितामा कसरी बोल्छन् ? उनको विचार र दृष्टिकोण कस्तो छ ? देश, दुनियाँ र समाजलाई उनले कसरी विश्लेषण गर्छन् ? मान्छेप्रति उनको नजर के हो ? यस्ता चासोहरु कविता पढ्दै जाँदा खुल्न सक्छन् कि भनेर सुँघ्ने प्रयास गरिएको छ । अर्थात्, साहित्यको एउटा पाठकको नजरले उनका कवितामा विचरण गर्न मात्र खोजिएको छ, कविता संग्रहको समालोचना होइन ।
कविताको समालोचना गर्दा बालेनले लेखेका कविता ‘कविता हुन् कि होइनन्’ भन्ने सैद्धान्तिक प्रश्नतिर पनि जानुपर्ने हुन्छ, त्यता जाने काम साहित्यका समालोचकहरुको हो, पत्रकारको होइन ।
सीमित समीक्षा
बालेनको कविता संग्रहका सम्बन्धमा अहिलेसम्म सीमित समीक्षात्मक टिप्पणी आएका छन् । कविताको समालोचनामा मानिसहरुले खासै हात हालेको देखिँदैन ।
प्रवीण ढुंगेलले अश्र : कति कविता, कति अ–कविता ? शीर्षकमा साहित्यपोष्ट डटकममा समीक्षा लेखेका छन् ।
ढुंगेल भन्छन्, ‘यस संग्रहमा मेयर बालेनका करिब १९५ छोटा मझौला कविताहरु संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शनसम्बन्धी छोटा–छोटा कविता छन् । केही कविता ४ पंक्तिका छन् त केही १७ पंक्तिका छन् अनि केही ११ पंक्तिका छन् । अनि; केही कविताहरु ६, ८, ९, र १२ पंक्तिका छन् । केही कविताहरु चैँ उनले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका थिए ।’
कान्तिपुरमा घनश्याम खड्काले अश्रको समीक्षा गर्दै लेखेका छन्– बालेनजस्तै स्वच्छन्द कविता
पत्रकार तथा लेखक खड्का भन्छन्, ‘परम्पराको आँखा र अभ्यस्त बानीले उनका कवितामा कहीँ केही नमिलेको हो कि त, केही भन्न बाँकी छँदाछँदै भन्ने मानिस कहीँ गएको हो कि त भनेजस्तो भाव उत्पन्न गर्छ ।’
किताबमा विचरण
मेयर बालेन्द्र शाहको दृष्टिकोण कस्तो रहेछ भनेर जान्नका लागि अश्रको ढोकाबाट छिर्दा सुरुमा अल्मलिइन्छ, हराइन्छ । वीपी कोइरालाको राजनीतिक विचार खोज्न उनको साहित्यमा छिरेजस्तै उकुस–मुकुस हुन्छ । सुरुमा सबैखाले पाठकलाई लोभ्याउँदै भनिएको छ–
आज हरेक समाजमा एउटा
असक्षमको अपमान हुन्छ
बिलौनाको आवाजमा एउटा
बालिकाको कन्यादान हुन्छ
सानो स्वरमा भए नि एउटा क्रान्ति घन्किन्छ
पाप र पीडाका वीचमा एउटा अर्को कवि जन्मिन्छ ।
यो कविता पढेर पहिलो खण्डको प्रेम–रसमा पुगेपछि बालेन विशुद्ध ‘राधा’ को खोजीमा लाग्छन् । गुलाफको सुगन्ध सुँघ्छन् । पागल बस्तीमा प्रेमको गीत गाउन पुग्छन् । उनी भन्छन्–
संसार किनेर दिन्थें तिमीलाई
त्यो मन्दिरमा बाँकी चल्दैन र पो
मुटु चिरेर दिन्थें तिमीलाई
माया शरीरमा बाँकी रहँदैन र पो !
बालेन्द्र पूरै प्रेमरसमा चुर्लुम्म डुब्छन् । उनीभित्र क्रान्ति, विद्रोह, राजनीति, कतै भेटिँदैन पहिलो खण्डमा । उनी शून्यमा बिलाउँछन् ।
म शून्य, शून्यकै खोजीमा अलपत्र
शून्यमै गएर अन्त्य हुन्छु
तिमी यस्तो अंक मलाई जोडेर सर्वत्र
तिमी लाखौंमा एक अनि म नगन्य हुन्छु ।
कवि बालेन शाह आफ्नी प्रेमिकालाई भन्छन्–
त्यो प्रहरमा केवल तिम्रो बास छ
नशालु रोकिएको समय, रोकिएका सासहरु
त्यो शहरमा केवल तिमी याद छ
अरु सबै जिउँदा लाशहरु अधुरा आसहरु
कविता संग्रहको पहिलो खण्डमै यदि कोही पाठकले मेयर बालेन्द्र शाह र उनको भावी राजनीतिक दिशाबारे चियोचर्चो गर्न चाहेको छ भने ऊ निराश बन्छ । किनभने, कवि बालेन प्रेमले मात्तिएका छन् ।
मायाको कुरामा म जीरो
फूलबाट पातसरी टुक्रिन्छु
तिम्रो माया जिब्रोमा पिरो
माया म रातभरि उफ्रिन्छु ।
पत्नीसँग बालेन
कविता संग्रहको पहिलो खण्डमा प्रेमको संयोगान्त रसमा चुर्लुम्म डुबेका कवि बालेन दोस्रोखण्डमा पुगेपछि अलिकति वियोगान्त तर, प्रेमसागरमै डुबुल्की मार्न पुग्छन् । यो खण्डमा पनि ‘राजनीतिज्ञ बालेन्द्र शाह’लाई भेट्न सकिँदैन । फेरि उही ‘प्रेमी बालेन’ आइपुग्छन् । एक्लोपनको शिकार भएको ‘पागल प्रेमी’ देखा पर्छन् ।
यस खण्डका केही टुक्रे कविता सुनौं-
तिमीबाट भाग्ने होडबाजीमा
आज दुनियाँ डुलिसकें
तिमीलाई बिर्सिने चलाखीमा
यहाँ दुनियाँ भुलिसकें ।
०००
जब एक्लो
एकदम एक्लो
साँच्चिकै एक्लो महसुस हुन्छ
त्यतिबेला
साथी खोज्न मन लाग्दैन
किन ?
आफ्नो साथले कसैलाई एक्लो महसुस नहोस् भनेर ।
०००
आज भोलि म हाँस्तिनँ
खित्खिताउँदै समाज हाँस्न थालेको छ
मनदेखि सायद बाँच्दिनँ
आर्यघाटमा लास बाँच्न थालेको छ ।
०००
नआऊ मेरो नजिक
म आगो हुँ हेर, म जलाएर छोड्छु
म बाढी हुँ हेर, म बगाएर छोड्छु
म हुरी हुँ हेर, म उडाएर छोड्छु
म माया हुँ हेर, म फसाएर छोड्छु
नआऊ मेरो नजिक
म बर्बाद पारेर छोड्छु ।
०००
ती चिता भएका चिठीहरु
मायासँगै पोल्दै बस्छु
यति एक्लो म हुन्छु अचेल कि
छायासँगै बोल्दै बस्छु ।
०००
मेरो कथा म आफैं लेख्छु
कसैलाई मेरो भाग्य लेख्न दिन्नँ
यदि मेरो आकाशले अरुको धर्ती छुन्छ
म भगवान् शिवलाई पावर्तीसँग भेट्न दिन्नँ ।
०००
पाप केही गरिनँ जमानामा
तर आत्मा कहिल्यै शुद्ध भएन
तिम्रो मायाले नै हो कि प्रिय
यो मान्छे कहिल्यै बुद्ध भएन
अन्तत: बालेन बुद्ध बन्न नसकेपछि ठग पो बनौं कि भनेर ठट्टा गर्न पुग्छन्-
यो कस्तो जिन्दगी खै के
सपना र वास्तविकता छुट्याउन सकिनँ
ठगेर हिँडुम् कि सारा दुनियाँलाई
आफैंलाई नै साथी, झुक्याउन सकिनँ ।
जब कविता संग्रहको तेस्रो अध्यायमा प्रवेश गरिन्छ, तब कवि बालेन अलिअलि ‘मेयर बालेन्द्र शाह’ जस्तो लाग्न थाल्छन् । अब तेस्रो खण्डका केही टुक्रे कवितांश सुनौं–
न्याय
नाङ्गिन थालेपछि
कानून
अपराध छोप्न थाल्छ ।
०००
रुवाबास छ चाँदीको बाला दिनलाई
विदेशी बहाव छ नदी र नाला किन्नलाई….
०००
जब देशमा सबै मरेका हुन्छन्
तब एक जनाले सास फेरेर देखाउनुपर्छ ।….
०००
तिम्रो भगवान पनि लुटेरा छन्
आत्मामा सम्मान छैन
पापी सबै आज जुटेका छन्
बोलुम् ? प्रमाण छैन
मसँग यथार्थ छ
पत्रकार छैनन्
देशको स्वार्थ छ
भ्रष्टाचार हैन
मनमा बिजुली छ तार छैन
थाहा छ, जित्न सक्दिनँ तर हार्दिनँ ।
०००
आँखा खोली हेर भ्रममा नबस्नु तिमी
एकपटक बोली हेर, चुपचाप नबस्नू तिमी
नियालेर हेर कानूनलाई, केवल एउटा पासो हो
संसद भवनको ब्रह्मलुटमा गुञ्जिएको हाँसो हो
कविता संग्रहको चौथो खण्डमा दार्शनिक प्रतीत हुन खोजेका कवि बालेन एकाएक ‘नास्तिक’ लाग्छन्–
यति खराब लेख्न मन छ
मन्दिरमा शराब बेच्न मन छ
भक्त बनुम् यसरी कि
मूर्ति जलाएर तनाव मेट्न मन छ ।
०००
मन्दिरभित्र मूर्तिहरु संक्रमित छन्
बाहिर मान्छे सद्दे !
०००
मान्छेको मनमा यहाँ राक्षसको बास हुँदै छ
चारैतिरबाट मेरो लास गिराउने प्रयास हुँदै छ
जा तेरो भगवानलाई भन्दे
मेरो मन कहिल्यै डरको दास हुँदैन ।
०००
लामो आयु मेरो दुस्मनलाई देऊ भगवान्
मलाई त तिमी भेट्न मन छ
तिम्रो तानाशाही सरकार मलाई देऊ भगवान्
तिम्रो खोस्टा अस्तित्व मेट्न मन छ
०००
मनुष्य,
आफूलाई जीवन दिने भगवान् हो भन्छ
तर फेरि त्यही निर्जीव मूर्तिमा भगवान् खोज्न हिँड्छ
बिहानबिहानै ।
०००
अन्तिममा, उही प्रश्न–
के ‘कवि बालेन’ र ‘मेयर बालेन्द्र शाह’को वैचारिकी एउटै हो या फरक ?
प्रतिक्रिया