नेपाल चीन बिजनेस समीट – विदेशी लगानी बढाउन सुधार प्रतिबद्धता | Khabarhub Khabarhub

नेपाल चीन बिजनेस समीट – विदेशी लगानी बढाउन सुधार प्रतिबद्धता


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समीटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवम् विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताए । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गरे ।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।

सीसीपीआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समीटलाइ सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवम् आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै, नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।

उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । यसैगरी, उनले नेपालबाट बढी भन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।

यो समीटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समीटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए ।

महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ ।

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए ।

साथै, उनले सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवम् भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए ।

चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे ।

सीसीपीआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समीट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताए । उनले सीसीपीआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघ र सीसीपीआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी एवम् अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।

समीटमा १२० जना चिनियाँ व्यवसायीहरूको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समीटमा सहभागिता रह्यो । समीटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको समेत सहभागिता थियो । उक्त समीटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।

महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समीट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सीसीपीआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रि र दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : १० बजे

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप