गण्डकीमा सरकार बनाउन दलहरूको कसरत सुरु | Khabarhub Khabarhub

गण्डकीमा सरकार बनाउन दलहरूको कसरत सुरु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम यही चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् । प्रदेश प्रमुख भट्टले दिएको समय सीमाभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूले कसरत थालेका छन् । 

नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल अगाडि बढाएको हो । सरकार बनाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको गठबन्धनलाई थप दुई तथा कांग्रेसलाई चार प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । साठी सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । 

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक देखिएको छ । एमाले–माओवादी गठबन्धनलाई राप्रपाले साथ दिए सहजै सरकार बन्छ । कांग्रेसलाई राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्यले साथ दिँदा पनि बहुमत पुग्दैन ।  

एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाको समर्थनमा एमाले-माओवादीसहितको गठबन्धन सरकार बन्ने विश्वास व्यक्त गरे ।

उनले केन्द्रमा भएको सहमतिअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने बताए । राप्रपालाई विश्वासमा लिन प्रदेशदेखि र केन्द्रसम्म संवाद भइरहेको प्रमुख सचेतक नेपालीले बताए । 

दलहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै सरकार बन्ने दाबी गरिरहेका छन् । उक्त प्रक्रियाबाट सरकार बन्न नसके ठूलो दलका रूपमा कांग्रेसले सरकार बनाउने बाटो खुल्छ । त्यसरी बन्ने सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । 

सरकार गठनका लागि निर्णायक देखिएको राप्रपाले भने तत्काल सत्ताको जोडघटाउमा नलाग्ने प्रष्ट पारेको छ । राप्रपाको समर्थन जुटाउन कांग्रेस र एमाले–माओवादी गठबन्धनले लगातार प्रयास गरे पनि त्यसबारे राप्रपा अहिलेसम्म अनिर्णीत छ । चैत २७ गतेसम्म आन्दोलनमा रहेको राप्रपाले त्यसपछि सङ्घ र प्रदेश सरकारबारे आवश्यक निर्णय लिने जनाएको छ । 

यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारमा  तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरेको थियो । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले चैत २७ गतेपछि मात्र सरकारबारे निर्णय लिइने बताए। 

गत फागुन २३ गते तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार यही चैत २३ गतेभित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्नेमा उनले त्यसो नगरी राजीनामा दिएका हुन् । प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नदेखिएपछि मुख्यमन्त्रीको राजीनामा आएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : ०० बजे

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

काठमाडौं– यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति अनेरास्ववियुको ऐक्यवद्धता

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बङ्गलादेशमा आरक्षणको

लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत

सिन्धुपाल्चोक– पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै