सिंहदरबारको पर्खालभित्रै खुम्चियो दुईतिहाइको सरकार | Khabarhub Khabarhub

सिंहदरबारको पर्खालभित्रै खुम्चियो दुईतिहाइको सरकार

नेतालाई सुरक्षाको चिन्ता, प्रधानमन्त्रीलाई गालीको वर्षा


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगतमा प्राकृतिक प्रकोप देखा पर्नासाथ राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीहरु घटनास्थलमा गएर जनतालाई सहानुभूति दिने प्रचलन थियो । तर, असोज १०–१२ आएको भीषण बाढी पहिरोको क्षति निरीक्षण गर्न मन्त्रीहरु अहिलेसम्मा फिल्डमा उत्रन सकेका छैनन् । सत्ता पक्षका नेताहरु सिंहदरबारको पर्खालभित्रै ‘कैदी’ जस्तो बनेका छन् ।

मन्त्रीहरु प्रकोपस्थलको भ्रमणमा किन गएनन् ? यसको मुख्य कारण हो असुरक्षाको भय । अर्थात् सुरक्षा ‘थ्रेट’ ।

जनता आक्रोशित भएर विगतमा बालकुमारीमा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि आक्रमण गरेजस्तै घटना हुने डरले मन्त्रीहरु फिल्ड निरीक्षणमा नगएको सत्तापक्षकै नेताहरुको भनाइ छ ।

दलका नेताहरु जनतासँग कति डराएका छन् भन्ने दृष्टान्तका लागि केही समयअघि प्रचण्डनिवास खुमलटारमा भएको विपक्षी दलका नेताहरुको एउटा छलफल सुनौं ।

सरकारबाट बाहिरिइसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच ‘समाजवादी केन्द्र’ बनाउनेबारे छलफल चलिरहेको छ । यसै सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित पछिल्लो छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमालेप्रति आक्रोश पोख्दै भनेका थिए, ‘अब नेपालमा पनि बंगलादेशमा जस्तै विद्रोह हुन्छ । यस्तै स्थिति हो भने हेरिराख्नु होला, अब कांग्रेस–एमालेका नेताहरु शेख हसिनाजसरी लखेटिन्छन् ।’

प्रचण्डले यसो भन्दै गर्दा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई वीचैमा रोके ।

नेपालले प्रचण्डलाई भने, ‘बंगलादेशको जस्तो अवस्था आयो भने ओली र देउवामात्र लखेटिने होइन, जनताले हामीलाई पनि सँगै लखेट्छन् । जनतामा पुराना नेताहरुप्रति वितृष्णा र आक्रोश बढ्दै गएको छ, त्यसमा तपाई–हामी पनि पर्छौं ।’

सो बैठकमा नेता नेपालले प्रचण्डलाई बाहिरफेर सार्वजनिकरुपमा हिँड्दा आफ्नो सुरक्षाको ख्याल गर्न भनेका थिए ।

माओवादीका एक नेताले खबरहबसँग भने, ‘प्रतिपक्षमा बसेका हाम्रा साथीहरुमा त यतिसाह्रो असुरक्षाको महसुस भइरहेको छ भने सत्तापक्षमा नेता र मन्त्रीहरुको मानसिक हालत कस्तो होला ? उहाँहरु सुरक्षा थ्रेटका कारण सिंहदरबारभित्रै खुम्चिनुभएको छ, यत्रो प्रकोप आउँदा पनि जनतामाझ निस्कन सक्नुभएको छैन ।’

माओवादीका ती नेताले थपे, ‘बरु हाम्रा अध्यक्ष प्रचण्ड फिल्डमा गइरहनुभएको छ । बल्खु तरकारी बजार निरीक्षण गर्नुभयो । भक्तपुर र बनेपासम्म गएर पीडितहरुलाई भेट्नुभयो । हाम्रा सांसद राजन दाहाल फिल्डमै हुनुहुन्छ । सत्ता पक्षका नेता र मन्त्रीहरु भने फिल्डमा जान सक्नुभएको छैन ।’

माओवादी अध्यक्ष प्रचण्ड जस्तै रास्वपाका सभापति रवि लामिछाने पनि जिल्लामा गइरहेका छन् । चितवनस्थित निर्वाचन क्षेत्रमा पुगेका उनले आफूलाई सरकारले दशैंका बेलामा पक्राऊ गर्न लागेको बताएका छन् ।

पछिल्लो समय सरकारले पीडितको उद्धारमा ध्यान नदिएको भन्दै जनतामा आक्रोश बढ्दै गएको छ । भत्केको बाटोको मर्मत गर्ने, पीडितलाचई समयमा उद्धार गर्ने र राहत दिने जस्ता कार्यमा तदरुकता नदेखाएको जनगुनासो बढ्दै गएको छ ।

दशैंको मुखमा राजमार्ग सुचारु गर्न नसक्दा सरकारप्रति नागरिकमा थप आक्रोश बढ्ने देखिन्छ । स्थलमार्ग जस्तै हवाई यातायात पनि व्यवस्थित हुन सकेको छैन ।

सरकारले दशैं अगाडि वीपी राजमार्ग एकतर्फी रुपमै भए पनि खुलाउनुपर्ने व्यवसायीले माग गरिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विहीबार पत्रकार सम्मेलन नै गरेर दशैं अघि सो राजमार्ग खोल्न नसकिने बताएपछि यातायात व्यवसायीहरु सरकारसँग आक्रोशित बनेका छन् । दशैंको टीका नजिकिँदै जाँदा सरकारमाथिको आक्रोश थप चुलिने देखिन्छ ।

दुई तिहाई बहुमत जुटाएर संविधान संशोधन गर्ने र आफू अनुकूलको निर्वाचन प्रणाली बनाउने लक्षका साथ कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको हो । तर, समानुपातिकलाई खुम्च्याउने र थ्रेसहोल्ड बढाउने ओली–देउवाको योजनालाई साना दलले साथ नदिने भएपछि अब संविधान संशोधनको एजेण्डा अघि बढ्ने सम्भावना लगभग सकिएको छ ।

यसअघि कांग्रेस र एमालेले संवैधानिक परिषदमा बहुमत जुटाउन उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोज्दा दुईतिहाइ बहुमत नपुगेपछि ‘ब्याक’ हट्नु परेको थियो । यो प्रकरणले संविधान संशोधनमा दुईतिहाइ जुट्न नसक्ने संकेत दिइसकेको छ ।

संविधान संशोधनको कुरा परै राखौं, देशमा सरकार रहेको महसुस हुने गरी कांग्रेस–एमाले गठबन्धनले दैनिक प्रशासनसमेत राम्ररी चलाउन सकेका छैनन् ।

प्रधानमन्त्री र मन्त्रीहरु नै जनतासँग डराएर बस्नुपरेको अवस्था छ । यो स्थितिमा भोलि कुनै पनि बेला सडकमा जनआक्रोश विस्फोट हुने खतरा बढ्दै गइरहेको छ ।

सडकमा दुर्गा प्रसाईदेखि अन्य राजावादी शक्तिहरु जुनसुकै बेला सरकारविरुद्ध सडक तताउने दाऊ हेरेर बसेका छन् । राप्रपा पनि आन्दोलनकै मौकाको खोजीमा छ । पूर्वराजा ज्ञानेन्द्र शाहको भूटान भ्रमणको पनि राजनीतिक अर्थ खोजिँदैछ ।

यस्तो बेलामा सत्ताबाट बाहिरिएको आक्रोशका कारण माओवादी र रास्ववा लगायतका दलहरु पनि सरकारविरुद्ध आन्दोलन उठेमा त्यसलाई मलजल गर्ने दाउमै देखिन्छन् । अझ यस्तोबेला सरकारको काम प्रभावकारी नहुँदा आम नागरिकमा समेत सरकारविरुद्ध वितृष्णा र आक्रोश बढिरहेको छ ।

त्यसो त बंगलादेशमा शेख हसिनासँग पनि दुईतिहाइ बहुमत थियो । तर, सडकमा उठेको आरक्षणसम्बन्धी सानो आन्दोलनको झिल्कोले दुईतिहाइको सत्ता ढलेको थियो । नेपालमा पनि त्यो जोखिम बढ्न थालेको विश्लेषकहरु बताउँछन् ।

राजनीतिशास्त्र पढेका एकजना संघीय सांसदले खबरहबसँग कुरा गर्दै भने, ‘कांग्रेस र एमाले मिलुञ्जेल ओली सरकारले संसदमा बहुमत गुमाउँदैन । तर, आगामी छठपछि काठमाडौंमा आन्दोलन सुरु हुन सक्छ । र, यही हिँउदमा ओली सरकार सडककै बलले ढल्न सक्छ । किनभने, यो सरकार दिनानुदिन जनतामा बदनाम भइरहेको छ । प्रधानमन्त्री ओली अलोकप्रिय बन्दै गएका छन् ।’

उता, सत्तारुढ नेकपा एमालेकै एकजना केन्द्रीय सदस्यले समेत प्रधानमन्त्री ओली जनतामा अलोकप्रिय बन्दै गइरहेको सुनाए । उनले दृष्टान्त नै दिँदै भने, ‘म मास्क लगाएर मर्निङवाक गरिरहेको थिएँ, एकजना प्लाष्टिकको झोलामा तरकारी बोकेका सर्वसाधारणले प्रधानमन्त्री ओलीलाई सरापिरहेको सुनें । उनी भनिरहेका थिए– बाढी आएका बेला अमेरिकामा घुम्यो, नेपालमा आएर एयरपोर्टबाटै भैंसी दुहुन गएको हैन भन्दै जनतालाई हप्कायो ।’

जनतामा यसरी सरकारप्रति दिनानुदिन आक्रोश बढ्दै गएको र प्रधानमन्त्रीमाथि नै घृणाको वर्षा हुन थालेकाले अबको परिस्थिति निकै जटिल बन्न सक्ने आफूलाई महसुस भएको एमालेका ती नेताले सुनाए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ११ बजे

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु

तेह्रथुम – खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी

पाकिस्तानमा पोलियो संक्रमितको सङ्ख्या बढ्यो, बलोचिस्तानमा भने खोप अभियान स्थगित

काठमाडौं – पाकिस्तानमा पोलियो रोगका संक्रमितको सङ्ख्या बढ्दै जाँदा बलोचिस्तान

पाकिस्तानको कराँची शहरमा पानीको हाहाकार

काठमाडौं – पाकिस्तानको कराँचीमा पानीको हाहाकार मच्चिएको छ । कराँचीका

वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक