धरान– कोशी राजमार्गको सेउती खोलास्थित पुलदेखि पानीपियासम्म जंगल क्षेत्रको सडक बनिनसक्दै भत्किन थालेको छ ।
सेउतीबाट तरहरातर्फ जाने देब्रे लेनकको सडक सञ्चालनमा आएको दुई महिना मात्रै भएको छ । तर यो सडक अहिलेबाटै भत्किन सुरु भएको छ । सेउतीदेखि पानीपियाबीचको सडक ११ स्थानमा भत्किएको छ ।
सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरूको चर्को दबाबपछि गत वर्षदेखि मात्रै एकतर्फी सुचारु भएको थियो । तर हाल दुवैतर्फी खोलिएको यो सडक भत्किन थालेपछि खबरदारी सुरु भएको छ ।
बुधबार इन्जिनियरसहित कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान-१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) र सञ्चारकर्मीको टोलीले सेउतीदेखि तरहरासम्मको सडकखण्ड अनुगमन गरे ।
अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटि ब्यापक भेटिएका छन् । सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा अलकत्रा र ढुङ्गाको धुलो कम भएको वा तापक्रम नमिलाइएकोलाई कारण मानिएको छ।
सडकको पिच उप्किएर मसिना मसिना टुक्रा उडेकाले यसलाई सच्याउन ठूला खाल्डा भएका भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्प्रेक्शन गर्नुपर्ने महतोले बताए ।
टोलीमा सहभागी अर्का इन्जिनियर डी अर्बौँको आयोजनामा सडक विभागको मात्रै भर परेकाले यस्तो गम्भीर कमजोरी भएको बताए । उनले यो आयोजना अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त नगरि काम गर्दा लापबारही भएको बताए ।
इन्जिनियरहरूका अनुसार कोशी राजमार्गको सडकको मोटाई १०० एमएम हो । अहिले बिछ्याइएको पिच ६० एमएम हुनुपर्नेमा कम रहेको छ । हाल राखिएको ६० एमएमको (डीभीएम) मै सडको पिच भत्किनुको कारण रहेको उनीहरूले औँल्याएका छन् ।
अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राईसँगको कुराकानीमा सडक डिभिजन कार्यालय विराटनगरका डीई राजेन्द्र साहले प्राविधिक कमजोरी भएको स्वीकारे । उनले मानवीय त्रुटि भएको भन्दै सच्याउने बचन दिए ।
प्यासिफिक हिमदुङ्गा जेभी, काठमाडौं मुख्य ठेकेदार रहे पनि पानीपिया सेउती पुलसम्मको काम मल्ल कन्स्ट्रक्शनले गरिरहेको छ । मुख्य कम्पनीका मालिक ठाकुरप्रसाद कँडेल सम्पर्कमा आउन चाहेनन् ।
मल्ल कन्स्ट्रकशनका प्रमुख प्रेम मल्लले कोशी प्रदेश सांसद विजयकुमार राईसँग कुरागर्दै पिच गरेलगत्तै हेभी सवारी छाडिएकाले भत्किएको तर्क गरे । उनले प्राविधिक रुपमा बलियो हुनेगरी सुधारिने बताए ।
प्रदेश सांसद रमेशकुमार बस्नेतले हाल रहेको सडकको कोर कटिङ गरेर ल्याब परीक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नुपर्ने बताए ।
त्यस्तै प्रदेश सांसद विजयकुमार राईले जनसरोकारका यस्ता गम्भीर विषयमा सरोकारवाला पालिका र जनप्रतिनिधिको समेत रोहबरमा पिच गर्नुपर्ने बताए ।
त्यस्तै धरान-१८ का अध्यक्ष प्रवीण राईले यो लापरवाहीका कारण जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई नै विवादमा ल्याउने गरेको बताए ।
एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङले सडक जनताको जीवनसँग जोडिएकाले यस्तो लापरवाही क्षम्य नहुने बताए ।
कांग्रेसका सभापति श्याम पोखरेलले यो गम्भीर लापरबाही तत्काल सच्याउन आग्रह गरे ।
यातायात मजदुर नेता राईले सडकको यस्तो लापरबाहीले सडक दुर्घटनाको जोखिम बढाउने बताउँदै श्रमिकहरू र जनताको जीवनमाथि खेलवाड भएको तर्क गरे ।
प्रतिक्रिया