बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी « Khabarhub

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी जग्गा हिनामिना प्रकरणमा अर्बपति उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीलाई बयानका लागि बोलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी थालेको छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जमिन सेयरका रुपमा हत्याएर पछि उक्त सेयर आफ्नै नाममा सार्ने खेलमा उद्योगपति विनोद चौधरीको निर्णायक भूमिका थियो । तर, प्रहरीले जेठा दाजु विनोदलाई नसमातेर उनका कान्छा भाइ अरुणकुमार चौधरीलाई समातेको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका अरुणकुमार चौधरी, अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्जय ठाकुर अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा छन् । सोमबार काठमाडौं जिल्ला अदालतले तीनैजनालाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।

अरुणकुमार चौधरीलाई सोमबार नै थुनामुक्त गराउन चौधरी ग्रुपले सम्पूर्ण शक्ति परिचालन गरेको थियो । अदालत बन्द भइसकेपछि अबेरसम्म अदालतमा यसबारे बहस भएको थियो । तर, अदालतले चौधरीको प्रयासलाई मान्यता दिएन र थप दुई दिन थुनामै राख्न सीआईबीलाई अनुमति दियो ।

चौधरी ग्रुपले सत्तारुढ कांग्रेस नेताहरु परिचालन गरेर अरुणकुमारलाई छुटाउन दबाब बढाएको छ । तर, सीआईबीले भने सांसद विनोद चौधरीलगायत अन्यलाई पनि बयानका लागि बोलाउने तयारी थालेको छ ।

हाल चाँदबाग स्कुल सञ्चालनमा रहेको र सीजी कम्पनीले अपार्टमेन्ट बनाउने तयारी गरिरहेको १० रोपनी जमिन यतिबेला अरुणकुमार चौधरी र श्रीमती शीला चौधरीको स्वामित्वमा छ । दाजुभाइले अंश गर्दा विनोदले यो जमिन कान्छा भाइ अरुणका भागका पारेका हुन् । तर, सरकारी जमिन निजी बनाउने प्रक्रियामा अरुणभन्दा विनोदको निर्णायक भूमिका थियो । यो कुरा स्वयं अरुणकुमारले पनि बताएको प्रहरी स्रोतको भनाइ छ ।

सरकारी जग्गा हिनामिना हुँदा च्याम्पियन फुटवेयरका मुख्य सञ्चालक रहेका जेठा दाजु विनोद चौधरी अब पक्राउ पर्छन् कि कान्छा भाइ मात्रै थुनिन्छन् ? यो प्रश्न अहम् बनेको छ ।

यसै विषयमा हामीले गृहमन्त्रालयको उच्च स्रोतसँग बुझ्ने प्रयास गर्‍यौं । तर, गृहका अधिकारीले यसबारे अहिले सीआईबीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धानका क्रममा दोषी भेटिए कोही नछुट्ने र निर्दोषहरु नपर्ने बताए ।

उता सीआईबी स्रोतले भने यो प्रकरणमा दाजु विनोद चौधरीको भूमिका प्रमुख देखिएकाले उनलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको खबरहबलाई बतायो ।

उद्योगपति विनोद चौधरी अहिले सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । संसदको सदस्य रहेको व्यक्तिलाई अधिवेशन चलिरहेका बेला पक्राउ गर्नका लागि सभामुखलाई जानकारी दिने लगायतका केही प्रक्रियाहरु भने पुर्‍याउनुपर्ने स्रोतको भनाइ छ । त्यसअघि बयानमा बोलाउन भने कुनै समस्या नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा लाने कि अरुण चौधरीलाई मात्र मुद्दा चलाउने भन्नेबारे अनुसन्धानपछि नै खुल्ने सीआईबी स्रोतको भनाइ छ ।

स्रोतले खबरहबसँग भन्यो, ‘अनुसन्धानका क्रममा सांसद विनोद चौधरी र त्यसबेलाको कार्यमा संलग्न रहेका अन्य व्यक्तिहरुलाई बयानका लागि सीआईबीमा उपस्थित गराइनु सामान्य कुरा हो ।’

त्यसो त सरकारले ३७ वर्षअघिको निर्णयमा सही गरेबापत बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई समेत पक्राउ गरिसकेको छ । तर, उक्त कार्यमा संलग्न रहेको कागजातबाटै स्पष्ट हुँदा पनि अहिलेसम्म विनोद चौधरीलाई भने सरकारले बयानका लागि समेत बोलाउन सकेको छैन ।

यो पनि…

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ४९ बजे

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली– ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढिमा पछिल्लो समय पर्यटकको

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर

अनशनरत निकोलस भुसालको स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल लगियो

काठमाडौं– विभिन्न माग राख्दै अनशनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी