डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल | Khabarhub Khabarhub

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल



काठमाडौं- अन्ततः नेपाली कांग्रेसले ढिलो गरी इलामका पार्टी सभापति डम्बर खड्कालाई उपचुनावको मैदानमा उतारेको छ । अन्य दलले बैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उपचुनावका लागि उम्मेदवारहरु मैदानमा पठाइसकेपछि बल्ल कांग्रेसले खड्काको नाम टुंगो लगाएको हो ।

खड्का ०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले हारेका थिए । पिता नेम्वाङसँग टेस्ट म्याच खेलेको बताउने खड्काले अब ‘फाइनल खेल’ छोरा सुहाङ नेम्वाङसँग खेल्नुपर्ने भएको छ ।

यद्यपि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम पनि कांग्रेसका लागि भोट काट्ने चुनौती बनेर उभिएका छन् ।
त्यसबेला नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । खड्कालाई माओवादी तथा नेकपा एकीकृत समाजवादीको करिब ४ हजार मत थपिएको बताइन्छ ।

तर, एमाले नेता सुवास नेम्वाङलाई पनि एमालेको साथै कांग्रेस र अन्य दलका व्यक्तिहरुले पनि मत दिएका थिए । यही कारण एमालेले समानुपातिकमा २६ हजार मत ल्याउँदा नेम्वाङले ३० हजार पाएका थिए ।

योपटक पनि कांग्रेसले पुरानै उम्मेदवार खड्कालाई नै ‘०७९ को निर्वाचनमा कम्पाट पाएको’ भन्दै पुनः एकपटक मौका दिएको छ ।

आगामी बैशाख १५ गते हुने चुनावका लागि आइतबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

यसअघि हामीले एमाले उम्मदेवार सुहाङ नेम्वाङ को हुन् ? भन्नेबारे सामग्री पस्केका थियौं । यहाँ कांग्रेस उम्मेदवार खड्काको प्रोफाइल प्रस्तुत गरिएको छ–

को हुन् खड्का ?

इलाममा ०३२ सालमा जन्मिएका खड्का । कलिलै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरे । उनी किसान परिवारमा हुर्किएका व्यक्ति हुन् । आफ्ना हजुरबाले नेपाल राज्य विस्तारका क्रममा टिस्टाको लडाइँ लडेको खड्का बताउँछन् ।

डम्बरका बुबा सरकारी जागिरमा थिए । सात पुस्ता इलाम नै बसेका उनीहरू इलाम क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन् । उनी सोही स्थानबाट ०७४ मा प्रदेश सांसद पनि लडेका थिए, तर जितेनन् । ०७९ को चुनाव पनि उनका लागि फापेन ।

खड्काका श्रीमती तीन छोरा छन् । उनलाई छोरा र श्रीमतीले पनि राजनीतिमा अगाडि बढ्न हौसला दिइरहेको सुनाउँछन् । अन्डर एसएलसीसम्मको अध्ययन गरेका उनले राजनीतिक यात्रा भने करिब चार दशकभन्दा बढी भइसकेको बताए ।

ठेक्कापट्टा व्यवसायसँगै राजनीति गरेका खड्काले ६ वर्ष अगाडिदेखि आफ्नो व्यवसाय छोराहरुलाई सुम्पिएका छन् । ४९ वर्षका खड्का भने राजनीतिमा सक्रिय रहँदै

पार्टीको जिल्ला सभापति छन् ।

कक्षा ७ मा पढ्दा ०४१ सालमै आदर्श उच्च मावि इलाममा नेविसंघको सभापति भएर राजनीतिक यात्रा सुरु गरेको खड्का बताउँछन् । प्रजातन्त्र प्राप्तिका लागि ०४६ सालको आन्दोलनमा लाग्ने क्रममा जेल जीवनसमेत बिताएका उनी ०६२–०६३ सालमा पनि जेल परेका थिए ।

दुई पटक जेल परेका उनी प्रहरीको कुटाइ खाएका डामले अहिले पनि शरीर पोल्ने गरेको सुनाउँछन् । ०४६ सालको यातना सम्झँदै उनी भन्छन्, ‘हातमा बेसार लागेको देखेपछि प्रहरीले भक्कु कुटेर जेलमा कोच्थ्यो । किनकि हामी बेसार दलेर पञ्चायती शासन मुर्दावाद भन्थौं ।’

नेविसंघको जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका खड्का पार्टीको राजनीतिमा फर्किएर इलाम जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सभापति छन् ।

देउवा निकट भनेर चिनिए पनि उनी गुटविहीन राजनीति गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् । आफू सभापति भएपछि स्थानीय तह निर्वाचन ०७९ मा इलाममा ४० वटा वडा जितेको खड्काको दाबी छ । इलाममा ८२ वटा वडा छन् ।

उनी आफू ०७९ को निर्वाचनमा पनि निर्वाचित भइसकेको तर प्राविधिक कारण हार्नुपरेको बत्ताउँछन् ।

इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा छन् । त्यसमध्ये कांग्रेसले २२ वटा वडामा जित हासिल गरेको छ । एमालेले भने १६ वटा वडामा जितेको छ । पूर्णकालीन राजनीतिमा बिताइरहेका खड्काले आफूलाई सुवासचन्द्र नेम्बाङले ०७९ को निर्वाचनमा तिमी सांसद हुन्छौँ है भनेको याद आइरहने बताउँछन् ।

खड्काले खबरहबसँग भने, ‘म सुवासचन्द्र नेम्बाङसँग निर्वाचन प्रचारमा पनि सँगै हिँडें । उहाँसँग मैले एउटै पोस्टमा निर्वाचन प्रतिस्पर्धा गरे पनि आर्शीवाद लिएको थिएँ ।’
इलाम २ को भूगोल बुझेका खड्का आफ्नो क्षेत्रका जनताको हरेक घरघर पुगेका छन् । राजनीति गर्नुपर्ने मान्छेले जनताका हरेक समस्या थाहा पाउनुपर्ने उनको मान्यता छ । ०७९ निर्वाचनमा राम्रो प्लेयरसँग टेस्ट म्याच खेलेर दक्ष भएको उनको अनुभव छ ।

खड्काले खबरहबसँग छोटो कुरा गर्दै भने, ‘मलाई पार्टीले विश्वास गरेको खण्डमा यो पटक म्याच जित्छु ।’

खड्का आफ्ना राजनीतिक गुरु केशव थापा र बेनुप प्रसाईँलाई मान्छन् । थापा भने अहिले उनीसँग उम्मेदवारका आंकाक्षी थिए ।
पहिचानको पक्षधर ?

इलाम–२ मा राई लिम्बुका साथै बहुजातीय बसोबास छन् । खड्का आफूलाई त्यहाँको समग्र भाषाको समेत ज्ञान भएको बताउँछन् । तामाङ, मगर, राई लिम्बू सबै भाषा आउने उनका नातेदार बताउँछन् ।

कांग्रेस भएता पनि पहिचान पक्षधर नेता भएको भन्दै खड्का आफूलाई इलाम–२ का सम्पूर्ण जनताले चिनेको दाबी गर्छन् । आफू पहिचानको पक्षमा रहेको बताउँदै उनी कोशी प्रदेशको नाम पहिचानकै आधारमा फेरिनुपर्ने स्वीकार्छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : २९ बजे

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा