समाचार

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते

By खबरहब

August 05, 2024

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

‘घाइते सबै खतरामुक्त रहेका छन्’, प्रहरी नायब उपरीक्षक मिश्रले भने। रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी  अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।