समाचार

द्रूतमार्गको अर्को सुरुङ ‘ब्रेक थ्रू’, प्रधानमन्त्रीले भने- देश नयाँ युगमा प्रवेश गर्दैछ

By खबरहब

August 05, 2024

मकवानपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रूतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् ।

नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको बताए ।

अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उनले उद्घोष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो ।

‘विगतमा जुन रफ्तारमा विकास हुनुपर्‍थ्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रुपमा यो द्रूतमार्ग बन्नेछ । यस मार्गलाई अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ’, उनले भने ।

ओ‌लीले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि द्रूतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे ।

डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्‍याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताए ।

द्रूतमार्ग वि.सं. २०८३ चैत मसान्तसम्म बनाइसक्ने लक्ष्य लिइएकाले सम्बन्धित मन्त्रालय र निकायकालाई त्यहीअनुसार काम गर्न ओलीले निर्देशन दिए ।