मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौँको क्षति | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौँको क्षति


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा लाखौँको क्षति भएको छभने मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोले अर्खौलेको नागी, मुढे, भालुखोलालगायत विभिन्न ठाउँमा ठूलो क्षति गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मध्यपहाडी लोकमार्गमा गएको बाढी तथा पहिरो पन्छाउन सम्बन्धित स्थानीय तह तथा सडक विभागको स्काभेटर र जेसिबी प्रयोग गरिएको छ ।

जिल्लामा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ । दिक्तेल–हलेसी सडकखण्डको नागीमा गएको पहिरो करिब पाँच सय मिटर फराकिलो भएकाले खुलाउन समय लाग्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

भालुखोलामा पहिरो खसेर दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध हुँदा शव पनि अलपत्र परेको छ । भुन्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी एक महिलाको शव दाहसंस्कारका लागि घर फर्काउने क्रममा रोकिएको हो ।

बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गका सडकहरु अवरुद्ध हुँदा यात्रुहरुबीच सडकमै अलपत्र परेका छन् । जिल्लामा विकासका नाममा विना मापदण्ड जथाभावी सडक निर्माण गर्दा आफूहरुले बर्सेनि बाढी तथा पहिरोको क्षति व्यहोर्नु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी छिर्दा दिक्तेलबजारस्थित किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरेखोला थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षति पुगेको हो ।

मध्यपहाडी लोकमार्गले बनाएको नाली थुनिएपछि खहरेखोलामा आएको बाढी सिधै बजारमा छिरेको थियो । बस्तीमा छिरेको बाढीले किरातचोकमा सञ्चालित चोलुङ होटललगायत होटल तथा पसलमा लाखौँको क्षति गरेको छ । होटल तथा पसलमा बिक्रीका लागि राखिएका लाखौँ मूल्यका सामानहरु पानीले काम नै नलाग्नेगरी भिजेका छन् ।

पहिरोले किरातचोकस्थित इकिमा इन्टरप्राइजेजद्वारा सञ्चालित होन्डा शोरुमसमेत हिलाम्मे भएको छ । पहिरोले शोरुमा राखिएका रु १५ लाखभन्दा बढीको सामानमा क्षति भएको सञ्चालक किरणजित राईले बताउनुभयो । घरभन्दा माथिबाट झरेको पहिरोले शोरुमभन्दा पछाडिपट्टि रहेको कुखुरा फार्मसमेत पुरिएको छ ।

यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा पनि क्षति गरेको छ । पेट्रोल पम्पभन्दामाथि निर्माण गरिएको सडकबाट पहिरो झर्दा पेट्रोल पम्पको ट्याङ्कीमा ठूलो क्षति गरेको हो ।

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

“दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ । अहिलेसम्म मानवीय क्षति भएका छैनन्”, उनले भने, “क्षतिग्रस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । अहिले पनि बाढी तथा पहिरो जानेक्रम रोकिएको छैन । क्षतिग्रस्त क्षेत्रमा खटिएका टोलीले उद्धार गरिरहेका छन् । क्षतिको विवरण आउन समय लाग्छ ।”

पहिरोले जिल्लाका विभिन्न ठाउँका घर तथा गोठहरुमा समेत ठूलो क्षति गरेको प्रहरीले जनाएको छ । दिक्तेलस्थित होटल, पसल तथा व्यक्तिको घरमा पसेको पहिरो जनपद र सशस्त्र प्रहरीले पन्छाइरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ९ : २७ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६