भुइँको टिप्न खोज्दा प्रचण्ड तनावमा, अर्थमा एमाले र गृहमा रास्वपाको दाबी | Khabarhub Khabarhub

भुइँको टिप्न खोज्दा प्रचण्ड तनावमा, अर्थमा एमाले र गृहमा रास्वपाको दाबी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवासँगको गठबन्धन किन तोडे ? सतहमा आउने जवाफ हो– प्रकाशशरण महतलाई हटाएर आफ्नो दलबाट अर्थमन्त्री बनाउन खोज्दा शेरबहादुर देउवाले नमानेर ।

काङ्ग्रेससँगको सम्बन्ध टुटाएर एमाले, रास्वपाजसपासँग गठबन्धन कसेका प्रचण्ड नयाँ गठबन्धन बनेको पहिलो रातदेखि नै नयाँ तनावमा फसेका छन् । केपी ओलीसँग आवेशमा आएर गठबन्धन बनाए पनि महत्वपूर्ण मन्त्रालय कसले लिने, टुंगो छैन । नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ । यस्तै हो भने एक महिनाभित्र प्रचण्डलाई विश्वासको मत लिनसमेत हम्मेहम्मे पर्ने स्थिति देखा परेको छ ।

‘पल्टनियाँ आएसके, खानादाना तयार छैन’ भन्ने चिनियाँ नेता माओको भनाइजस्तै एमाले माओवादीबीच गठबन्धन बने पनि महत्वपूर्ण मन्त्रालयको समेत भागबन्डा मिलेको छैन । भागबन्डा नमिल्दा सोमबार तीनजनालाई विना विभागीय मन्त्री बनाइए पनि मंगलबार सर्वदलीय बैठकले टुंगो लगाउने भनिएको मन्त्रालयको भागबन्डा मिल्न सकेन । अन्ततः आफ्नो किंकर्तव्यविमूढ स्थितिलाई टार्नका लागि ओली र प्रचण्ड माधव नेपाललाई फकाउन कोटेश्वरतिर लागे ।

रोचक त के छ भने एमाले अध्यक्ष केपी शर्मा ओली वर्षमान पुनलाई अर्थमन्त्री मान्न तयार छैनन् । पुनले विगतमा एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग गठबन्धन कसेको ओलीको बुझाइ छ । साथै सुनकाण्डका आरोपीसँग पुनको उसबस रहेको भन्दै ओलीले उनलाई अर्थमन्त्री बनाउन नहुने अडान प्रचण्डसमक्ष राखेका छन् । अर्थमन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी एमालेले पाउनुपर्ने ओलीको अडान छ ।

प्रधानमन्त्री प्रचण्ड भने यही अर्थमन्त्रालय आफूले राख्न नपाएर कांग्रेसबाट बिच्किएका हुन् । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि पनि प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउन चाहेका छन् ।

तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफू अर्थ र गृहमध्ये एउटा नछाड्ने पक्षमा छन् । यो अवस्थामा गृह र अर्थमन्त्रालय लिने विषयमै एमाले र माओवादीबीच रडाको पर्नसक्ने देखिएको छ ।

एमालेलाई अर्थमन्त्रालय दिने हो भने प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन किन तोडे भन्ने प्रश्न उठ्छ ।

उता गृहमन्त्रालय नपाएर सरकारलाई समर्थन नगर्ने अडानमा रास्वपा सभापति रवि लामिछाने छन् । रविलाई साथमा नलिने हो भने प्रचण्ड सरकार ढल्न सक्ने अर्को जोखिम छ । तर, रविलाई गृहमन्त्री नबनाउन एमाले र माओवादी दुबै दलभित्र चर्को दबाब छ । रविलाई भने सरकारमै नजान र प्रतिपक्षमै बस्न पार्टी कार्यकर्ताको चर्को दबाब छ ।

अर्थ र गृह मन्त्रालयमा एमाले, माओवादी र रास्वपाको त्रिकोणात्मक द्वन्द्वका कारण नयाँ गठबन्धन सरकारले पूर्णता नै नपाई ढल्ने पो हो कि भन्ने जोखिम बढेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सी जोगाउन एमालेलाई अर्थ र रास्वपालाई गृहमन्त्रालय दिने हो भने कांग्रेससँग गठबन्धन टुटाएर माओवादीलाई के फाइदा भयो भन्ने प्रश्न उठ्ने छ । त्यसबेला राष्ट्रियसभा अध्यक्षमा झक्कु सुवेदीलाई पठाउने कुरालाई माओवादीले उपलब्धि मानेर बस्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्लो समय शेरबहादुर देउवाले प्रचण्डलाई गृह र अर्थ दुबै राख्न भनिसकेका थिए । तर, प्रचण्डले ओलीसँग निकटता बढाइसकेको हुनाले उनी ‘ब्याक’ हुन सकेनन् र तनावमा फसे ।    

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : २३ बजे

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा