कोशी प्रदेशमा रास्वपाको शक्ति कति ? « Khabarhub

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

पहाडमा कमजोर देखिए पनि तराईमा पुरानालाई चुनौती


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विपक्षीहरुले जिस्क्याइरहेका छन् । अब रास्वपाको प्रभाव खस्किन थालेको विश्लेषण इलामको परिणामलाई हेरेर गरिँदैछ ।

इलामको उपचुनावमा ०७९ को भन्दा रास्वपाको भोट केही बढेकै देखिए पनि सन्तोष गर्ने स्थिति नरहेको स्वयं रास्वपाका नेताहरु स्वीकार्छन् । उपचुनावमा खटिएर काठमाडौं फर्किएका रास्वपाका एक नेता भन्छन्,‘ हामीले चाहेको नतिजा यस्तो होइन । मिसन ०८४ का लागि हामीले इलामबाट पाठ सिक्न र समीक्षा गर्न जरुरी छ ।’

हुन त इलाम यसअघि पनि नयाँ दलको प्रभाव खासै विस्तार भएको जिल्ला भने होइन । ०६४ सालमा देशैभरि माओवादीको उभार आउँदा एमाले र कांग्रेसलाई नै रोजेका इलामे मतदाताले हत्तपत्त मत परिवर्तन गर्ने गरेको पाइँदैन । ०७९ को चुनावमा पनि इलामका जनताले रास्पवालाई भन्दा कांग्रेस-एमालेलाई नै रुचाएका थिए । बरु यसपालि मुढा र घण्टीमा भोट बढ्दा कांग्रेस र एमालेले केही कम मत पाएका छन् ।

पूर्वी पहाडमा घण्टीको खासै आवाज दह्रो नसुनिए पनि निर्वाचन क्षेत्र र जनसंख्या समेत बढी रहेका झापा, मोरङ र सुनसरीमा भने रास्वपालाई रोज्ने ‘ट्रेन्ड’ ०७९ मा राम्रैसँग देखिएको थियो । तराईको यो फेरिँदो सन्तुलनले ०८४ को चुनावमा खास अर्थ राख्न सक्छ, नयाँ र पुराना दुबै दलका लागि ।

मतदाता र निर्वाचन क्षेत्रका हिसाबले कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) काठमाडौं उपत्यका जत्तिकै महत्वपूर्ण छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ निर्वाचन क्षेत्र छन् । झापा, मोरङ र सुनसरीमा पनि १५ वटै निर्वाचन क्षेत्र छन् । कोशी प्रदेशमा समग्र २८ निर्वाचन क्षेत्र छन् ।

गत ०७९ को चुनावमा पूर्वी तराईका तीन जिल्लामा जित निकाल्न नसके पनि रास्वपाले आफ्नो शक्ति ह्वात्तै बढाएको थियो । समानुपातिकतर्फको मत हेर्दा समग्र कोशी प्रदेशमा माओवादी केन्द्रलाई समेत उछिन्दै रास्पवा तेस्रो दल बन्न सफल भएको थियो ।

तर, प्रदेशको चुनावमा भाग नलिने संकीर्ण नीतिका कारण कोशी प्रदेशसभामा ५ सिट जित्ने समानुपातिक मत पाउँदा पनि रास्वपाले जनमतको सदुपयोग गर्न सकेन ।

प्रदेशसभाको चुनावमा भाग लिएको भए अहिले कोशीको सरकार गठनमा रास्वपा निर्णायक दल बन्न सक्थ्यो । तैपनि संविधान मान्ने तर प्रदेशको चुनाव बहिस्कार गर्ने आवेगपूर्ण नीतिका कारण सबै प्रदेशसभामा रास्वपा शून्य अवस्थामा रह्यो ।

समानुपातिकतर्फको मतका आधारमा विश्लेषण गर्दा गत चुनावमा रास्पवाले राम्रो मत पाएको थियो । उसले माओवादीलाई उछिन्दै चौथो दलमा झारिदिएको थियो ।

कोशीमा खसेको करिब साढे १९ लाख मतमध्ये एमालेले ६ लाख ४२ हजार र कांग्रेसले ५ लाख ५५ हजार मत पाउँदा रास्पवा २ लाख १४ हजार मतका साथ तेस्रो दल बनेको थियो ।

कोशीमा माओवादीले १ लाख ८८ हजार र राप्रपाले १ लाख ३० हजार समानुपातिक मत पाएका थिए ।

जसपा, एकीकृत समाजवादी र अन्य साना दलले पाएको कुल मत २ लाखको हाराहारीमा थियो ।

समानुपातिकमा रास्वपाले बटुलेको यो मत प्रदेशसभामा रुपान्तरण हुन पाएको भए अहिले कोशी प्रदेशसभामा राप्रपाको भन्दा बढी सिट रास्वपाको हुने थियो ।

सवा २ लाख मत, १० स्थानमा तेस्रो

गत संसदीय चुनावमा धरान बजारसमेत समेटिएको सुनसरी क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा आइन् । माओवादी र कांग्रेसका साझा उम्मेद्वारलाई पछि पार्दै गोमाले १६ हजार ६०६ मत ल्याइन् । तर, उनले एमाले–जसपाका साझा उम्मेदवार अशोक राईलाई ४५३ मतले उछिन्न नसक्दा जित निकाल्न सकिनन् । अलिकति मिहेनत पुगेको भए अहिले धरान रास्पवाको कब्जा हुने थियो ।

कोशी प्रदेशका कुल २८ सिटमध्ये रास्वपा दोस्रो भएको यही एउटा सिट हो । तर, भर्खरै खुलेको पार्टीले जित निकाल्न नसके पनि १० निर्वाचन क्षेत्रमा राम्रो मतका साथ तेस्रो बन्न पुगेको थियो ।

रास्वपाले सुनसरी १ मा दोस्रो स्थान पाएको थियो भने सुनसरी २ र ३ मा तेस्रो स्थान हासिल गरेको थियो । सुनसरी ४ मा भने कांग्रेस, एमाले, राप्रपा र माओवादीभन्दा पछाडि पाँचौं स्थानमा थियो ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले तीनवटा क्षेत्रमा राम्रो मतका साथ तेस्रो स्थान पाएको थियो । मोरङ १, २ र ६ नम्बर क्षेत्रमा रास्वपा तेस्रो बनेको थियो ।

समग्र कोशी प्रदेशका २८ सिटमध्ये रास्वपा १० स्थानमा तेस्रो बनेको थियो भने एउटामा दोस्रो बनेको थियो ।

हेर्नुहोस् सूची–
    

कोशी प्रदेशका २८ सिटमा पहिलो, दोस्रो र तेस्रो दल

क्रसं निर्वाचन क्षेत्र पहिलो दल दोस्रो दल तेस्रो दल
१ ताप्लेजुङ एमाले माओवादी लिम्बुवान
२ पाँचथर एमाले कांग्रेस राप्रपा
३ इलाम १ एमाले ए समाजवादी मंगोल नेशनल
४ इलाम २ एमाले कांग्रेस पहिचानवादी
५ झापा १ कांग्रेस एमाले रास्वपा
६ झापा २ एमाले स्वतन्त्र माओवादी
७ झापा ३ राप्रपा कांग्रेस रास्वपा
८ झापा ४ एमाले कांग्रेस रास्वपा
९ झापा ५ एमाले कांग्रेस रास्वपा
१० मोरङ १ कांग्रेस एमाले रास्वपा
११ मोरङ २ एमाले कांग्रेस रास्वपा
१२ मोरङ ३ कांग्रेस एमाले राप्रपा
१३ मोरङ ४ माओवादी एमाले राप्रपा
१४ मोरङ ५ स्वतन्त्र माओवादी जसपा
१५ मोरङ ६ कांग्रेस एमाले रास्वपा
१६ सुनसरी १ जसपा रास्वपा माओवादी
१७ सुनसरी २ एमाले कांग्रेस रास्वपा
१८ सुनसरी ३ एमाले कांग्रेस रास्वपा
१९ सुनसरी ४ कांग्रेस एमाले राप्रपा
२० धनकुटा एमाले कांग्रेस स्वतन्त्र
२१ तेह्रथुम कांग्रेस एमाले लिम्बुवान
२२ संखुवासभा कांग्रेस एमाले रास्वपा
२३ भोजपुर माओवादी एमाले नेपालका लागि नेपाली
२४ सोलुखुम्बु माओवादी कांग्रेस जसपा
२५ खोटाङ माओवादी एमाले जसपा
२६ ओखलढुंगा कांग्रेस एमाले जसपा
२७ उदयपुर १ कांग्रेस एमाले राप्रपा
२८ उदयपुर २ एमाले कांग्रेस स्वतन्त्र

माओवादीबाट पाठ सिक्न जरुरी

जनताले मन पराए पनि भोट ह्वारह्वारी खन्याउँछन् तर काम राम्रो भएन भने उपियाँले छाडे जसरी जनताले छाड्छन् भन्ने दृष्टान्त रास्वपाले माओवादीबाट सिक्न सक्छ ।

पहिलो संविधानसभाको चुनाव ०६४ मा पूर्वी नेपालमा माओवादीको उभार नै आएको थियो । धनकुटाका दुबै क्षेत्र माओवादीले जितेको थियो ।

पहिलो संविधानसभा चुनावमा झापाबाट केपी शर्मा ओली र कृष्ण सिटौलाजस्ता ठूला नेताहरु माओवादीका सामान्य उम्मेदवारसँग हारेका थिए । मोरङमा भरतमोहनको निर्वाचन क्षेत्रमा समेत माओवादीले जित निकालेको थियो । सुनसरीको धरानजस्तो एमालेको गढबाट पनि ०६४ मा माओवादीले जितेको थियो । तर, ०७० को दोस्रो संविधानसभामा माओवादीको प्रभाव खहरे सुकेजसरी माओवादीको प्रभाव सुक्यो ।

गत ०७९ मा झापा, मोरङ, सुनसरीबाट जित निकाल्न नसके पनि रास्वपाले जुन उत्साहजनक मत पाएको थियो, अब त्यसलाई बचाउँदै ०८४ मा जित निकाल्ने या माओवादीजस्तै सुकेर सानो हुने ? यो चुनौतीपूर्ण मोडमा उभिएको छ रास्वपा ।

भर्खरै उपनिर्वाचन सकिएको कोशी प्रदेशमा मात्र होइन, काठमाडौं र समग्र देशभरि नै रास्वपा एउटा चुनौतीपूर्ण परीक्षाको घडीमा उभिएको प्रतीत हुन्छ । नेताहरुले अलिकति खेलाँची गरे पनि विगतमा साझा विवेकशीलको प्रभाव सेलाएजस्तै नहोला भन्ने अवस्था छैन ।

कोशी प्रदेश रास्वपाका लागि एउटा ‘केस स्टडी’ हुन सक्छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४३ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच