साला ! लिम्बुवानमा के छ ? | Khabarhub Khabarhub

नियात्रा

साला ! लिम्बुवानमा के छ ?


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 14 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

‘त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस् ।’

(कवि मीनबहादुर विस्ट, साला पहाडमें क्या है )

कविता/निबन्ध लेख्न सकिने गरी पहाडमा खासै केही छैन भन्ने कवि मीनबहादुर विस्टको मर्मस्पर्शी कवितालाई चुनौती दिन मन लाग्यो । पहाडमा लेख्न सकिने, लेख्नुपर्ने धेरै विषय रहेछन् ।

जेठ १४ देखि २० सम्म इलामको बाटो भएर पाँचथर, ताप्लेजुङ अनि तेह्रथुमको भ्रमण गर्दा मानसपटलमा कोरिएका केही आकृति/अनूभूतिलाई यहाँ शब्दमा उतार्ने प्रयास गरिएको छ ।

‘लिम्बुवान’ शब्दप्रति धेरै मानिसको विमति/विरोध हुन सक्छ । तर पूर्वी नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायत भूगोललाई लिम्बुवान भन्ने प्रचलन यहाँका स्थानीयको हकमा सामान्य हो । नेपाल एकीकरणकै बेलादेखि यो भूमिलाई ऐतिहासिक एवम्‌ सांस्कृतिक हिसाबले ‘लिम्बुवान भूमि’ मानिँदै आएको हो ।

‘लिम्बुवान’ पदावलीले यहाँको आदिवासी, रैथाने जातिको संस्कृति, परम्परा र इतिहासलाई सम्बोधन गर्छ । राजनीतिक वा जातीय मात्र नभएर इतिहास एवम्‌ संस्कृति झल्काउने पदावली हो– लिम्बुवान । यो तथ्यमा कमसेकम पूर्वी पहाडका बासिन्दा सायदै असहमत छन् । त्यसैले, प्रस्तुत आलेखको शीर्षकमै लिम्बुवान पदावलीको प्रयोग गरिएको छ र देखाउन खोजिएको छ कि अहिले लिम्बुवानमा के चलिरहेको छ ?

‘लिम्बुवान’ भन्दैमा यस भूमिको ‘आर्य सभ्यता’ चाहिँ पुरानो होइन भन्न मिल्दैन । पूर्वी पहाड खस आर्य र आदिवासी लिम्बु–किरातहरूको द्वैध सभ्यताको समानान्तर भूमि हो

‘लिम्बुवान’ भन्दैमा यस भूमिको ‘आर्य सभ्यता’ चाहिँ पुरानो होइन भन्न मिल्दैन । पूर्वी पहाड खस आर्य र आदिवासी लिम्बु–किरातहरूको द्वैध सभ्यताको समानान्तर भूमि हो । तर, लिम्बु–किरातचाहिँ यहाँका आदिवासी, भूमिपुत्र हुन् ।

जेठ १४ गते झापाको चन्द्रगढी विमानस्थलमा ओर्लेर चारआलीको बाटो हुँदै इलामको कन्याम, फिक्कल र इलाम बजार भएर पाँचथर सदरमुकाम फिदिम बजारमा बास बस्न पुगियो ।

कन्यामको चिया बगान

कन्यामको चिया बगान हेर्दा राम्रो छ । मानिसहरूले यहाँ फोटो खिच्छन्, सेल्फी हान्छन् । तर, इलामका अधिकांश चिया बगानहरू सरकारले कौडीको भाउमा निजी व्यवसायीलाई लिजमा दिएको र राज्यले निकै ठूलो घाटा ब्यहोरिरहेको तीतो यथार्थ पनि सुन्न पाइन्छ । शायद, इलामको ‘चिया अर्थतन्त्र’बारे खोजी पत्रकारिताको आवश्यकता खड्किएको छ । यसबारे पत्रकार र सामाजिक अनुसन्धानकर्ताले ध्यान दिन जरुरी छ ।

भलै, हामी इलामको चियाको रिपोर्टिङ गर्न त्यहाँ गएका थिएनौं । फलतः अरुले जस्तै हामीले पनि कन्याममा फोटो खिच्यौं । सेल्फी हान्यौं । कफी पियौं । (कन्यामका पसलमा चिया पिउन पाइएन । रैथाने खानेकुराको साटो चाउमिन, चाउचाउ मात्रै भेटियो )

इलाम बजारमा केही अनलाइन र पत्रपत्रिका जसोतसो चलिरहेका रहेछन् । पत्रकार सोमनाथ सुसेली र कवि विमल वैद्यसँग चियापान गरियो । पूर्वपत्रकार समेत रहेका कवि वैद्यको मीठो कविता सुनियो ।

फिदिम घोषणापत्र

पाँचथरको फिदिममा जेठ १५ गते पत्रकार महासंघले आयोजना गरेको मिडिया सम्मेलनमा सहभागी भइयो । कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश आचार्यसमेत केही पत्रकार साथीहरू सम्मानित भए । स्थानीय कलाकारले लिम्बु संस्कृति झल्कने नृत्य प्रदर्शन गरे ।

नेपाल पत्रकार महासंघ पाँचथरका साथीहरूले अथक परिश्रमबाट निर्माण गरेको भव्य कार्यालय भवनको प्राङ्गणमा आयोजित मिडिया सम्मेलनमा काठमाडौं र ‘मोफसल’का मिडियाले भोगिरहेका चुनौती र सम्भावनाबारे खुलेर बहस भयो । खासगरी स्थानीय सरकार र पत्रकारबीच सम्बन्ध कस्तो चलिरहेको छ र कस्तो हुनुपर्छ भन्ने विषयले पनि चर्चा पायो ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले कार्यक्रममा बोल्दै आफ्नो पालिकामा आएर कमीकमजोरी औंल्याइदिन पत्रकारहरूलाई आग्रह गरे । उनको यो आग्रहले सञ्चारमाध्यमप्रति स्थानीय जनप्रतिनिधिको बुझाइमा आएको सकारात्मक परिवर्तनलाई झल्काउँथ्यो । तर, विज्ञापनमा अझै पनि काठमाडौंका मिडियाको एकाधिकार रहेको स्थानीय सञ्चारकर्मीको गुनासो थियो ।

पाँचथरमा मिडिया सम्मेलन चलिरहँदा विभिन्न जिल्लास्थित पत्रकार महासंघका कार्यालयमा सदस्यतासम्बन्धी विवादका कारण तालाबन्दी गरिएका खबरहरू आइरहेका थिए । उता, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीले पनि गाउँ-गाउँमा चर्चा पाइरहेको थियो । यिनै कुराहरूबाट प्रभावित भएर होला- स्थानीय जनप्रतिनिधिहरूले पनि पत्रकारितामा आन्तरिक शुद्धीकरण र एकताको चर्चा गरे ।

अन्ततः पाँचथरको मिडिया सम्मेलनले ११ बुँदे फिदिम घोषणापत्र जारी गरेको छ । यो घोषणापत्र देशैभरिका स्थानीय मिडियाका लागि मार्गदर्शन हुनसक्छ ।

 विवादमा पाथीभरा

ताप्लेजुङको पाथीभरा अर्थात मुकुम्लुङबाट कञ्चञ्जंगा (सेवालुङ), कुम्भकर्ण (फक्ताङलुङ), मकालु, लोत्से, नोत्से, डोम, काङबाचेन आदि हिमाल देखिन्छन् । भरिएको पाथीजस्तै देखिने पाथीभरा डाँडाको उचाइ ३७९४ मिटर छ ।

पाथीभराको शिरमा खुला आकाशमुनि रहेको पाथीभरादेवीको दर्शन गर्न तल्लो फेदीबाट चार घण्टा उकालो हिँड्नुपर्छ । मन्दिर दर्शन गरेर ओर्लँदा करिब साढे तीन घण्टा लाग्छ । हिँड्न नसक्नेहरूले प्रतिकिलो २०० रुपैयाँका दरले मानिसबाट बोकिएर पनि पाथीभराको दर्शन गर्न सक्छन् ।

पाथीभरा माताको मूर्ति

गाडीबाट ओर्लिएर करिब साढे ७ घण्टा उकालो–ओरालो हिँडेपछि पाथीभरा अथवा मुकुम्लुङको यात्रा पूरा हुन्छ । तल्लो फेदीसम्म गाडी गुड्ने कच्ची बाटो पुगेको छ । फेदीबाट पैदल उकालो चढ्नुको कुनै विकल्प छैन ।

ताप्लेजुङको शिरमा रहेको हिन्दु धर्मावलम्बीको पवित्र स्थल पाथीभरादेवी अर्थात लिम्बु समुदायको ऐतिहासिक सांस्कृतिक थलो मुकुम्लुङ यतिबेला चर्को विवादमा फसेको छ । खासगरी यहाँ केन्द्रका शासकहरूले स्थानीय समुदायसँग पर्याप्त छलफल नै नगरी व्यवसायी चन्द्र ढकाललाई केबलकार बनाउने दिने र पाथीभरा फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो ।

पाथीभरा डाँडोमा अहिले केबलकार बनाउने भन्दै ठूल्ठूला रुखहरू काटिएका छन् । बाटामा ठाउँ ठाउँमा केबलकारको विरोध गर्दै पोस्टरहरू टाँगिएका छन् । एकातिर रुख फाँडिएको र अर्कातिर विरोधका पोस्टरहरू टाँगिएको घटनाले यहाँको द्वन्द्वलाई प्रष्टसँग झल्काउँछ ।

केबलकारको विषयमा विभिन्न किसिमका तर्कहरू सुनिन्छन् । यसरी मन्दिर दर्शनका लागि डाँडो चढ्न र ओर्लन झण्डै ८ घण्टा लाग्ने भएकाले केबलकार बन्यो भने मन्दिरको दर्शन गरेर फर्कन सजिलो हुने केबलकार निर्माताको तर्क छ ।

कतिपय भक्तजनले पनि पाथीभरा चढेर फर्केपछि केबलकार त बन्नुपर्ने रहेछ भन्ने तर्क गर्ने गरेको पनि सुनियो । केबलकार बन्नुपर्छ भन्नेहरूका तर्क यिनै रहेछन् – चढ्ने र ओर्लने दुःख हुँदैन, सजिलो हुन्छ । केबलकार चढ्न रहर गर्नेहरूको संख्या बढ्ने भएकाले आम्दानी राम्रो हुन्छ । कमाइ हुन्छ । विकास हुन्छ…आदि आदि ।

पाथीभरामा केबलकार बनाउने योजनामा चन्द्र ढकाल र प्रचण्ड सरकारका हर्ताकर्ताहरूको खुसामतीले बढी काम गरेको देखिन्छ । यो केबलकार प्रोजेक्टको मोडल के हुने ? स्थानीय तहले के कति पाउने ? प्रदेशले के पाउने ? अनि फेदीमा होटल व्यवसाय गरेर बसेकाहरू विस्थापित हुने अवस्था आयो भने के हुने ? यहाँको पर्यावरणीय विनासको क्षतिपूर्ति कसले कसरी तिर्ने ? स्थानीयको हक अधिकार कसरी सुनिश्चित हुने ?

पाथीभराबाट कमाएको सम्पत्ति चन्द्र ढकालको खल्तीमा जाने र पार्टीका नेताहरू मात्रै पोसिने कि यो केबलकार प्रोजेक्टबाट सरकार र स्थानीय जनतालाई पनि प्रत्यक्ष लाभ हुन्छ ? यी कुनै पनि प्रश्नमा सरोकारवालाहरूसँग पर्याप्त छलफल र बहस भएको पाइएन । पुरानै एकात्मक शासनका बेलामा जस्तै दलका नेतालाई प्रभावमा पारेर केबलकारको परियोजना हात पारेको र रुख काट्न थालेको स्थिति देखियो ।

पाथीभरामा केबलकारको विवादबारे गम्भीर बहसको खाँचो महसुस भयो । धार्मिकस्थलमा मानिसको भीड देखेर व्यापारीहरू लोभिएको र काठमाडौंमा नेतासँग मिलेमतो गरेर दाम कमाउने उद्देश्य राखेको प्रष्ट देखियो । पाथीभरा क्षेत्रको समग्र विकासमा स्थानीयवासीलाई साथमा लिएर अघि बढ्न खोजेको पाइएन । ताप्लेजुङका जनताको भविष्य अन्य जिल्लाका ठेकदारहरूले निर्धारण गर्न खोज्दा समस्या सिर्जना भएको देखियो ।

केबलकार निर्माणका लागि फाँडिएको पाथीभराको जंगल

यहाँ केबलकार पनि बन्नैपर्ला, तर यसबाट आउने नाफामा स्थानीय जनता र सरकारलाई लाभ हुनुपर्छ । व्यक्तिलाई होइन भन्ने तर्क पनि स्थानीय विश्लेषकको रहेको पाइयो । भगवानमा आस्था राख्ने भक्तजनहरूले पाथीभरा दर्शनका लागि जुन कष्टपूर्ण पैदल यात्राको आनन्द र ऊर्जा लिने गरेका छन्, केबलकार चढेर त्यहाँ पुगियो भने यो मन्दिरको ‘बिजनेश भ्यालु’ रहला । तर साधना र ‘आध्यात्मिक भ्यालु’ भने स्वतः घट्ने देखिन्छ । किनभने, पहाडको शिखरमा कष्टपूर्वक चढेर ओर्लनुको मज्जा नै बेग्लै छ, जुन आनन्द केबलकारबाट पाइनेछैन ।

त्यसैगरी तल्लो र माथिल्लो फेदीमा रहेका व्यवसायीहरूमा पनि केबलकारले रोजगारी खोसिदिने चिन्ता पाइयो ।

(पाथीभरा–मुकुम्लुङ केबलकार विवादको अन्तरकथा अर्को आलेखमा विस्तृत रूपमा चर्चा गरिनेछ । अहिलेचाहिँ त्यहाँ केबलकार बन्नुपर्छ र बन्न हुँदैन भन्नेबारे गम्भीर विवाद रहेछ भन्ने सन्देश मात्रै दिन खोजिएको हो ।)

पाथीभरामा भक्तजनले चढाएको भेटी बोकेर सदरमुकाम जाँदै भरियाहरू । ५० किलोको भारी फुङलिङमा लगेर गणना गर्ने प्रचलन छ ।

पाँचथरको सदरमुकाम फिदिमबाट एकाबिहानै बोलेरो गाडी लिएर हिँडेको टोली ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै पाथीभराको तल्लो फेदीमा पुग्दा दिउँसोको १२ बजिसकेको थियो । पाथीभरा चढेर फेदीमा झर्दा साँझ ७ बज्यो । राति जसोतसो गर्दै फुङलिङका बास बस्न आइपुगियो । फुङलिङका होटलहरूमा हाइड्रो कम्पनीका सञ्चालकहरू र स्थानीय पार्टीका नेताहरू कुम ठोक्किन आइपुग्दा रहेछन् ।

तेह्रथुम : जनसंख्या घटिरहेको जिल्ला

फुङलिङबाट हाम्रो टोली फिदिम पुग्यो । फिदिमबाट तमोर झरेर पक्की पुल पार गरी तेह्रथुमको आठराईतर्फ लाग्यो । पक्की सडकले फिदिम र आठराईलाई जोडेको रहेछ । फिदिमबाट हिँडेको करिब ४५ मिनेटमै आठराईको चुहानडाँडा क्याम्पस पुगियो ।

वि.सं. २०१७ सालमा ‘वीरेन्द्र इन्टर कलेज’ का नामबाट आठराईको चुहानडाँडामा क्याम्पस खुलेको रहेछ । अहिलेसम्म पनि यहाँ उच्च शिक्षा अध्ययन भइरहेको छ । राणाकालमै दार्जीलिङमा पढेर आएका शिक्षीत व्यक्तिहरूले यो पहाडी गाउँमा शिक्षाका साथै राजनीतिक चेतना पनि फैलाएका रहेछन् । त्यसबेला तीनदिनको बाटो हिँडेर आठराईबाट मानिसहरू फिदिम र इलाम पशुपतिनगर हुँदै दार्जीलिङ पुग्ने गरेको स्थानीयले कैरन सुनाए ।

मदन भण्डारी, द्रोणप्रसाद आचार्य, सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, कृष्णप्रसाद सिटौला, शिवकुमार श्रेष्ठ, काजीमान कन्दङ्वा, सूर्य कन्दङ्वा, चन्द्रमान (सीएम) कन्दङ्वा र भक्तराज कन्दङबा जस्ता व्यक्तित्व आठराईकै उत्पादन हुन् । चर्चित लेखक खगेन्द्र संग्रौला पाँचथरमा जन्मे पनि उनले पढेको थलो आठराई नै हो ।

खगेन्द्र संग्रौलाले आइएसम्म पढेको आठराईस्थित तेह्रथुम बहुमुखी क्याम्पस

राजनीतिक नेताका साथै प्राज्ञिक एवम्‌ कर्मचारी प्रशासनतर्फ पनि उच्च ओहोदामा पुगेका धेरै मानिसको नाम आठराई क्याम्पसका सरहरूले सुनाए । जस्तै– डा. वेदप्रकाश उप्रेती, डा. गोपालकृष्ण सिवाकोटी, डा. हेमनाथ पौडेल, भीष्म प्रसाईं, बासुदेव ओली, चन्द्र गौतम, मोहन सिटौला, सीता गुरुङ, गंगाप्रसाद उप्रेती… आदि ।

तमोरको पुल र सडक नबन्दासम्म फिदिम र आठराईको दुरी धेरै टाढा थियो । अहिले गाउँमा बाटोघाटो बनेको छ । विद्यालय, खानेपानी, बिजुली र स्वास्थ्य संस्थाहरू पनि बनेकै छन् । तै पनि बसाइँसराइ तेह्रथुमको मुख्य समस्या रहेछ ।

आठराई क्याम्पसका अर्थशास्त्र प्राध्यापक दीपक उप्रेतीका अनुसार हरेक दिन एक परिवार तराईतिर बसाइँ सरेको दृश्य देखिने गरेको छ । उनका अनुसार त्यसरी बसाइँ सर्नेमा जनजातिहरू कमै छन्, प्रायः क्षेत्री बाहुन/कुमाईहरू बढी छन् ।

आठराई विगतमा कुमाई बाहुनहरूको बाहुल्य रहेको क्षेत्र हो । आठराईमा विगतमा ओली, प्रसाईं, सिटौला, उप्रेती, मैनाली, पाठक, थपलिया आदिको बाहुल्य थियो । अहिले पनि उहाँ उनीहरूका पुराना पुर्ख्यौली घर भेटिन्छन् । केपी शर्मा ओलीले यही ठाउँमा आफ्नो घर सुरक्षित गरेर प्रतिष्ठान बनाएका छन् ।

आठराईकोे होडामा वि.सं. २०१० सालमा बनेको कृष्णप्रसाद पाठकको घर । २०२४ सालमा पाठक परिवार झापा बसाइँ सरे पनि यो घर अहिलेसम्म सग्लै छ ।

चुहानडाँडा क्याम्पसमा हामीले प्राध्यापकहरूसँग पहाडको बसाइँसराइ रोक्ने वा कम गर्ने उपाय के हुन सक्छ भन्नेबारे केहीबेर छलफल गर्‍यौं । गाउँमा पूर्वाधार, विकास भइरहे पनि मानिसहरू बसाइँ सरिरहेको कारण पत्ता लगाउन नसकिएको उनीहरूको भनाइ थियो ।

(आठराईको ऐतिहासिकताका सम्बन्धमा बेग्लै आलेखमा विस्तृत चर्चा गरिनेछ)

आठराई मात्र होइन, फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवालले पनि बसाइँसराइले गाउँ रित्तिन थालेको भन्दै चिन्ता प्रकट गरे । उपाध्यक्ष सुनिता पाहिमले पनि बसाइँसराइ रोक्न नसकिएकोमा चिन्ता व्यक्त गरिन् । गाउँमा किसानहरूका लागि ल्याइएका विभिन्न कार्यक्रमहरूले पनि बसाइँसराइलाई रोक्न नसकेकोमा जनप्रतिनिधिहरूमा चिन्ता देखियो ।

पाथीभराको शीर्षस्थानमा रहेको फाल्गुनन्दको मूर्ति

०७८ सालको (पछिल्लो) जनगणना अनुसार नेपालका ३४ जिल्लाको जनसंख्या ऋणात्मक छ । अर्थात् यी ३४ जिल्लाको जनसंख्या ०६८ सालdf भन्दा घटेको छ । जस्तो– तेह्रथुम जिल्लाको जनसंख्या ०६८ सालमा १ लाख १ हजार ५७७ रहेकोमा ०७८ सालमा आइपुग्दा घटेर ८८ हजार ७३१ पुगेको छ । यो भनेको १.३ प्रतिशतले ऋणात्मक हो । तेह्रथुममा यसरी जनसंख्या घट्नुको मुख्य कारण बसाइँसराइलाई मानिएको छ ।

सबैभन्दा बढी जनसंख्या ऋणात्मक भएका पाँच जिल्लामा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र त्यसपछि तेह्रथुम आउँछ । यसरी जनसंख्या ऋणात्मक देखिनुको मुख्य कारण बसाइँसराइ नै हो ।

तेह्रथुममा २ वटा नगरपालिका र ४ वटा गाउँपालिका छन् । म्याङलुङ नगरपालिकाको जनसंख्या १८ हजार छ भने लालीगुराँस नगरपालिकामा १५ हजार मानिसको बसोबास छ । आठराई गाउँपालिकामा १८ हजार, फेदापमा १५ हजार, छथरमा १४ हजार र मेन्छायेम गाउँपालिकामा साढे ६ हजार मानिसको बसोबास छ । यहाँका पालिकाबाट मानिसहरू दिनहुँ तराईतिर बसाइँ हिँड्ने गरेका छन् र जनसंख्या घट्दो छ । यहाँका हरेक स्थानीय जनिप्रतिनिधि प्रश्न गर्छन्– पहाडको बसाइँसराइ रोक्ने उपाय के होला ?

स्वर्गजस्तो वसन्तपुर !

करिब १५ हजार जनसंख्या रहेको तेह्रथुमको लालीगुराँस नगरपालिका घनकटा, संखुवासभा र तेह्रथुमको त्रिवेणी हो । यसको केन्द्र वसन्तपुर बजार हो । लालीगुराँसको राजधानी मानिने यही नगरपालिकामा तीनजुरे–मिल्के-जलजले क्षेत्र समेटिएको छ । यो नगरपालिकाको अर्को आकर्षण भनेको मेयर अर्जुनबाबु माबोहाङको परिकल्पनामा निर्माण भएको लिम्बु जातिको सांस्कृतिक संग्रहालय चोःलुङ पार्क पनि हो ।

लालीगुराँस नगरपालिकाबाट पनि मानिसहरू तराई बसाइँ झर्ने क्रम जारी छ । तर, स्थानीय जनप्रतिनिधिले आफ्नो पालिकालाई आकर्षक बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न हदैसम्मको प्रयास जारी राखेको देखिन्छ । एकजना मेयरले चाह्यो भने गाउँलाई कसरी सुन्दर बनाउन सक्छ भन्ने नमूना हेर्नका लागि देशैभरिका जनप्रतिनिधि वसन्तपुर गए हुन्छ ।

यो पनि-

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

यहाँ प्रकृति र संस्कृतिलाई संरक्षण गर्दै विकासका काम अगाडि बढाइएको छ । गाउँमा अलकत्राको विकल्पमा ढुंगा बिच्छ्याएर बाटोहरू बनाइएको छ । पहाडी गाउँमा नगरबस सञ्चालनमा ल्याइएको छ । शिक्षा र कृषिलाई प्राथमिकतामा राखिएको छ । किसानलाई समूहमा आधारित अनुदानहरूको व्यवस्था गरिएको छ । लालीगुरास नगरपालिकाले डाँडामा ‘सानो पाथीभरा’ मन्दिरसमेत बनाएको छ, जहाँ आन्तरिक पर्यटक घुइँचो लाग्ने गरेको छ ।

(लालीगुराँस नगरपालिकाले गरिरहेको कामबारे  बेग्लै आलेखमा चर्चा गरिनेछ)

पालिकाले यति धेरै प्रयास गर्दा पनि लालिगुराँसबाट समेत मानिसहरू तराईतिर बसाइँ हिँडिरहेकै छन् । आखिर किन ? यसको जवाफ अहिलेसम्म भेटिएको छैन ।

राष्ट्रिय जनगणना २०७८ ले भने बसाइँ सराइको पहिलो कारण विवाहलाई मानेको छ । दोस्रो काम तथा रोजगारीलाई मानेको छ । त्यस्तै, अध्ययन लगायतका विविध कारणहरू औंल्याइएको छ । जस्तै; देशभरि बसाई सर्ने कारण र प्रतिशत हेरौं–

असमावेशी ‘डेमोग्राफी’ को चिन्ता

पहाडमा घटिरहेको जनसंख्याले भविष्यमा केही असमावेशी चित्र निर्माण गर्ने हो कि भन्ने स्थानीयमा चिन्ता देखिन्छ । क्षेत्री बाहुनहरू तीव्र रूपमा बसाइँ सर्ने र आदिवासी जनजातिको बसाइँसराइ कम हुनाले आगामी दिनमा यहाँको जातीय सन्तुलनमा फेरबदल आउने र यसले राजनीतिलाई पनि प्रभाव पार्न सक्ने आठराईका केही बुद्धिजीवीको तर्क सुनियो ।

हुन त अहिले नै हेर्दा के देखिन्छ भने विगतमा कलेज निर्माणमा लिम्बु, श्रेष्ठ आदिको समेत योगदान रहेको आठराई क्याम्पसका प्राध्यापकहरूमा अहिले जनजाति समुदायको उपस्थिति न्यून रहेछ । संक्रान्ति स्कुलमा भइरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरूमा भने क्षेत्री-बाहुन प्रायः देखिएनन् ।

यो दृश्यले सरकारी ओहोदा र जागिरमा एक जातिको उपस्थिति र खेदकूदमा अर्को जातिको बाहुल्य चित्रित गर्दछ । खेलकूदमा जस्तै स्थानीय तहको राजनीतिमा पनि लिम्बु जातिकै बोलवाला देखियो ।

तेह्रथुमका ६ मध्ये पाँचवटा पालिकाको प्रमुखमा लिम्बुको नेतृत्व छ भने एकजना मात्रै कुमाई बाहुन (फेदापमा) पालिका प्रमुख छन् । संघ र प्रदेशमा भने तीनैजना गैरलिम्बु ( सीता गुरुङ, किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाईं) निर्वाचित छन् ।

पूर्वी पहाडमा उत्पादन हुने छुर्पीले सजिएको पसल

तेह्रथुम जिल्लामा उसै पनि विगतदेखि नै लिम्बु जातिको एकल बहुमत छ । जिल्लामा  हाल ८८ हजार ७३१ जनसंख्यामध्ये थाक्थुङ लिम्बुको मात्रै एकल जनसंख्या ३२ हजार २९७ छ । १७ हजार क्षेत्री र ९ हजार बाहुन जोड्दा पनि लिम्बुको भन्दा कमै संख्या पुग्छ । यहाँ तामाङ ६ हजार, गुरुङ २८ सय र नेवार २५ सय छन् । दलित समुदाय (परियार र विश्वकर्मा जोड्दा) को जनसंख्या ६८ सय छ । तर, यी सबै जातजातिको संख्या ०६८ सालमा भन्दा ०७८ मा घटेकै छ । तेह्रथुममा १० वर्षयता शेर्पा जातिको मात्रै जनसंख्या बढेको देखिन्छ ।

आठराईका प्राध्यापक/शिक्षकहरूले दाबी गरेजस्तो क्षेत्री-बाहुनहरू दिनहुँ तराईतिर बसाइँ झरिरहने, तर लिम्बुहरू कमै बसाइँ सर्ने भएकाले भविष्यमा क्षेत्री-बाहुन थप अल्पमतमा पर्लान् कि भन्ने चिन्ता खासै गर्नुपर्ने स्थिति देखिएन । किनभने, ०६८ सालमा ३६ हजार ३७५ रहेको लिम्बुको जनसंख्यासमेत अहिले घटेर ३२ हजार २९७ मा झरेको छ । यसको अर्थ क्षेत्री-बाहुनजस्तै लिम्बुहरू पनि तेह्रथुमबाट बसाइँ हिँडिरहेका छन् । गोर्खा सैनिकमा भर्ती हुनेहरू तेह्रथुम, ताप्लेजुङतिर सायदै फर्कन्छन् । उनीहरू धरान, इटहरी, दमकतिरै घर बनाएर बस्छन् । काठमाडौं, ललितपुरतिरै बस्छन् ।

बसाइँसराइको समस्या कुनै एक जातिमा मात्र सीमित छैन, शेर्पाबाहेक सबै जातिमा यो समस्या छ । पहाडको साझा समस्या हो यो । अथवा, यो समस्या नै पो होइन कि ? गम्भीर बहस र अनुसन्धानको विषय छ ।

हेर्नुहोस् १० वर्षमा घटेको जातिगत संख्या-

गुनासो राज्यसँग

पक्कै हो, लिम्बुवानमा आन्दोलन छ । कोशी प्रदेशको नामलाई लिएर होस् या पाथीभराको ‘अतिक्रमण’, पहिचान पक्षधर निरन्तर आन्दोलनमा छन् । सप्तकोशी पश्चिमका मानिसलाई लाग्न सक्छ- पूर्वी नेपालमा चलिरहेको पहिचानको आन्दोलनले पहाडमा अशान्ति छ होला । तर, विल्कुल देखिएन ।

पूर्वी पहाड शान्त रहेछ । यहाँ सबै जातजाति मिलेर बसेको पाइयो । लिम्बुवानमा बसोबास गर्ने कोही पनि क्षेत्री-बाहुनले ‘थ्रेट’ को अनुभूति गरेका छैनन् ।

वि.सं. २००७ सालमै क्षेत्रीबाहुन लखेटिएको ठाउँ हो- संक्रान्ति बजार । यहाँका खसआर्य शिक्षक हामीलाई भन्दै थिए- हामीकहाँ कुनै किसिमको जातीय वैमनश्यता छैन, हामी दशकौंदेखि मिलेर बसिरहेका छौं ।

हो, यहाँ लिम्बुहरूको केही गुनासो छ । तर, यो गुनासो स्थानीय क्षेत्री-बाहुनसँग होइन, राज्यसँग छ । स्थानीय तहको नाम फेदाप स्वीकार हुन सक्ने, तर प्रदेशको नाममा लिम्बुवान–किरात किन स्वीकार्य नहुने ? प्रश्न यत्ति हो ।

पृथ्वीनारायण शाहले १८३१ मा स्थानीय आदिवासीको आवाज सुनेका थिए । तर, २०८१ का गणतन्त्रवादी शासकहरू स्थानीय समुदायलाई पेलेर, सांस्कृतिक अतिक्रमण गरेर अघि बढ्न चाहन्छन् । लिम्बुवानको मुख्य राजनीतिक–सामाजिक समस्या नै यत्ति हो

लिम्बुवानको ऐतिहासिक स्थलमा विकासका नाममा हुने गतिविधिमा एकलौटी नगरियोस्, हाम्रो पनि आवाजको सुनुवाइ होस्, आदिवासीको माग यत्ति नै देखिन्छ । तर, काठमाडौंका शासक स्थानीय आदिवासीको आवाज सुन्न चाहँदैनन् । यसले गर्दा समस्या आएको छ । यो समस्या ०८४ को चुनावसम्म अझ विकराल बन्न सक्ने संकेत देखिएका छन् ।

यहाँ कसैलाई ‘थ्रेट’ नै नभएको स्थिति पनि होइन । विगतमा एमाले अध्यक्ष केपी ओलीमाथि पनि ढुंगामुढा भएकै हो । तर, यसको अन्तर्य के हो भने कांग्रेस, एमाले र माओवादीका पुराना नेताहरूलाई थ्रेट छ, स्थानीयलाई होइन । काठमाडौंका नेताले यहाँका जनताको भावना नबुझेको, गैरजिम्मेवार बनेको आदि गुनासा छन् ।

यहाँ जनताको आकर्षण पुराना दलमा भन्दा नयाँ दलतिर बढ्दै गएको देखिन्छ । गाउँ–गाउँमा बालेन्द्र शाहको प्रशंसा गर्नेहरू भेटिन थालेका छन् । काठमाडौंमा योगेश भट्टराईले बालेन्द्रको विरोध गर्दा ताप्लेजुङमा उनको भोट घट्ने स्थिति देखियो । पहाडका जनता र काठमाडौंका नेताबीच दुरी बढ्दै गएको महसुस भयो ।

पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा स्थानीय आदिवासीहरूको आवाज सुनेका थिए । तर, २०८१ का गणतन्त्रवादी शासकहरू स्थानीय समुदायलाई पेलेरै, सांस्कृतिक अतिक्रमण गरेरै अघि बढ्न खोजिरहेका छन् । लिम्बुवानको मुख्य राजनीतिक–सामाजिक समस्या नै यत्ति हो । विकासका काम त सीमित स्रोत-साधनका बाबजुद स्थानीय तहले गरिरहेकै छन् ।

पाथीभरा तल्लो फेदी  जाने बाटो

पहाडमा के छ, के छैन ? 

पहाडमा जनसंख्या थोरै भएकाले तराई र शहरमा जस्तो कोलाहल र अशान्ति छैन । यहाँको हावापानी पनि शीतल छ । खोनकुरा ताजा र पौष्टिकताले भरपूर पाइन्छ । परापूर्वकालदेखि यहाँ आर्य र किरात सभ्यताको मिश्रण पाइन्छ । जहाँ मन्दिर र मूर्तिहरू छन्, त्यहाँ छेवैमा फाल्गुनन्दको पनि मूर्ति ठडिएकै छ । पाथीभरामा पनि फाल्गुनन्दको मूर्ति छ ।

पहाडमा बाटोघाटो, बिजुली, भवनहरू बनिरहेका छन् । विकासका काम धमाधम भइरहेका छन् । पालिकाका भवनहरू भव्य बनिरहेका छन् । जनप्रतिनिधिले पहाडमा केही न केही नयाँ काम गर्न खोजिरहेको देखिन्छ

विभिन्न जिल्लाका डाँडामा याक्थुम्बाका अगुवाहरू इमानसिंह चेम्जोङ, सूर्य कन्दङबा, काजीमान कन्दङबा, भक्तराज कन्दङबाहरूका शालिक देख्न पाइन्छ । तोङ्बादेखि लसुन अनि गुराँसदेखि बिरालोसम्मका कलात्मक शालिकहरू बनेका छन् । जतासुकै दुई (याक्थुम्बा र पिनेबा) सम्यताको समिश्रण देखिन्छ । दुबैका भगवान–युमा पनि मिलेर बसेका छन्, जनता पनि आपसमा मिलिजुली बसेका छन् । जातीय द्वन्द्व कतै देखिएन ।

पहाडमा बाटोघाटो, बिजुली, भवनहरू बनिरहेका छन् । विकासका काम धमाधम भइरहेका छन् । पालिकाका भवनहरू भव्य बनिरहेका छन् । जनप्रतिनिधिले पहाडमा केही न केही नयाँ काम गर्न खोजिरहेको देखिन्छ ।

तर, पहाडमा रैथाने खानेकुरा भने खासै पाइँदैन । रोजगारी सिर्जना हुन सकेको छैन । संक्रान्ति बजार पुगेर धान नाच्न पाइए पनि चाउमिन खानुपर्ने बाध्यता छ । गाउँगाउँमा पत्रु खाना (जङ्कफुड) र शहरी खानाको बिगबिगी छ । रैथाने खानालाई बढावा दिनेखालको अभियान चल्न सकेको छैन । कृषि उपजलाई व्यवसायीकरण गर्न नसक्दा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन । तथापि चिया, अलैंची, अदुवा, अकबरे खुर्सानी, दूध, मह, घिऊ, काष्ठ उत्पादन, दलहन, सुन्तला, कागती, इत्यादिमा पहाड सम्भावनाले भरपूर छ ।

वसन्तपुरमा विगतमा फस्टाएको कागजको लोक्ता बनाउने घरेलु उद्योग अहिले देख्न पाइएन । म्याङलुङमा लागेको ढाका मेलामा तराईका सामग्री बढी देखिए । उत्पादनको बजार प्रवर्द्धन नहुँदा ढाका व्यवसायले प्रोत्साहन पाउन सकेको देखिएन ।

तथापि पहाडमा विगतको जस्तै हराभरा बन्न सक्ने सम्भावनाहरू भने प्रशस्तै देखिए । हिजो बाटोघाटो, बिजुली, विद्यालय केही पनि नहुँदासमेत पहाडको जनजीवन हराभरा थियो । तर, मानिसहरू भौंतारिएर सुविधा (विकास ?) खोज्दै हुर्रिएर तराईतिर झरे । अहिले तराईको प्रकृति र समाज दुबै तात्न थालेको छ । पहाडको विकास र शान्त वातावरणले मानिसहरूलाई बोलाउन थालेको छ ।

वसन्तपुरबाट हिले, धनकुटा, मुलघाट, भेडेटार हुँदै धरान झर्ने क्रममा मुगाली सूर्यबहादुर थापाले जीवनको उत्तरार्धमा यस पंक्तिकारसँग भनेको सम्झना आयो- अब विस्तारै मानिसहरू तराईबाट पहाडतिर बसाइँ सर्न थाल्नेछन् ।

अन्त्यमा, प्यूठानका मीनबहादुर विस्टको मार्मिक कविता ‘साला पहाडमें क्या है ?’ सँगै आलेखको बिट मारौं–

साला पहाडमें क्या है

– मीनबहादुर विस्ट

१. मुहानबाट निस्केर फुत्त
कहीँ हुत्तिँदै कहीँ थामिँदै
तर कहीँ कतै पनि
पछाडि फर्केर
एक नजरसम्म
नलगाउँदै
बरु उल्टै दुई किनारहरूमा
सालिकझैँ
उभिएका रोगी पहाडहरूलाई
लात हान्दै बेस्सरी
भागिरहेछ नदी
देश छोडेर !

२. काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला र
कम्मरमा
वर्षौँदेखि शान नलगाई
खिया परेको
खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मुर्दाघर जस्तो घर
रुङ्न अह्राउँदै
पियारीहरूलाई साथमा लिएर
हिँडिरहेछन् तन्नेरी छोराहरू
जनम ठाउँ छोडेर ।

३. बेमौसम
अज्ञात मुलुकबाट
आएको बताससँगसँगै
लहस्सिँदै र बतासिँदै
उडिरहेछन् दिशाहीन भएर
सुन्दर, मुलायम
फूलका कलिला कोपिलाहरू
र हरिया, नरम पातहरू
बिल्कुल नाङ्गो र कुरुप पार्दै
पर्वतका शृङ्खलाहरूमा
लाम बाँधेर
परेडमा उभिएका सिपाहीझैँ
उभिएका वटवृक्षहरूलाई ।

४. लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका
परेवाका बथानहरू
सुकुम्बासीझैँ
खडेरीले शुष्क भएको छाती र
बर्सात्ले निथ्रुक्क भिजेको जिउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाँसको ठेगान
बिल्कुल बेठेगान भएर
भौंतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा ।

५. त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा
निबन्ध लेख्न सकोस्
जस्तो कि
धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’

हो, केही छैन ‘साला’ पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा
जस्तो—
नवजात शिशु मरेका आमाहरूझैँ
असाध्यै पीडामा आँसु बगाइरहेका
नदीका मुहानहरू छन्,
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र
केही भ्यागुताहरूको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टान झैँ जमेका
केही पोखरीहरू छन्,
एक्कैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढीहरू छन्,
अनुहार सक्किएका केही पर्वतहरू र
यौवनमै ठहरै परेका
केही वटवृक्षहरू छन्
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी
घुरिरहेका सुकुम्बासी
परेवाका बथानहरू ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : २६ बजे

अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौं – भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको

भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको भारतविरुद्धको खेलमा

भारतलाई दोस्रो सफलता, आउट भए मिचेल मार्श

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको

मनसुन देशभर फैलियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल