बर्खामा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ? | Khabarhub Khabarhub

स्वास्थ्य

बर्खामा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ?


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बर्खा लागेसँगै देशभर मनसुन बलियो हुँदैछ । यो मौसममा पानीजन्य सरुवा रोगहरूका साथै कीटजन्य रोग संक्रमण पनि बढ्ने गर्छ ।

विगत वर्षहरूमा झाडापखाला, हैजा र डेङ्गी लगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएका थिए । यस वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ४३२ जनामा सङ्क्रमण देखिएको छ ।

उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा डेङ्गी सङक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा १५९ जनामा डेङ्गी देखिएको छ । झापामा १२० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी संक्रमण फैलाउँछ । डा. दाहालले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. मुकेश पौडेलका अनुसार अहिले फाट्टफुट्ट रूपमा पानीजन्य सरुवा रोग देखिन थालेको छ । जसको निगरानी भइरहेको उनले बताए ।

खबरहबसँग कुरा गर्दै डा. पौडेलले भने, ‘विगतका वर्षमा जस्तो महामारीकै रूपमा फैलिएको छैन, तर एक-दुई केशहरू भेटिएको छ । धेरै फैलिन नदिन सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

दूषित पानीका कारण देखिने रोगहरूः

झाडापखाला
दूषित पानीका कारण यो मौसमा देखिने मुख्य सरुवा रोग झाडापखाला हो । बर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुदाँ झाडापखाला देखिने गर्छ । झाडापखालाबाट विशेष गरी बालबालिका बढी प्रभावित हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर बताउँछन् ।

शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला धेरै देखिने गर्छ । यस मौसममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म मिसिने हुँदा झाडापखाला धेरै देखिने गरेको उनको भनाइ छ ।

टाइफाइड
मनसुनको बेला धेरैमा टाइफाइट ज्वरो संक्रमण हुन्छ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहमा धेरै खालका जीवाणु हुन्छन्‌ ।

तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरू देखिन्छ ।

यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरू प्रभावित हुने गरेको देखिएको छ । मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । रिङ्गटा लाग्ने, वाकवाकी लागि कसैलाई बान्त पनि हुने, शरीर गल्ने र खान मन नलाग्ने लक्षणहरू देखिने गर्दछन् ।

हेपाटाइटिस ए, बी
हामीले खाने खाद्यान्न र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइटिस ए, बी अर्थात जन्डिस हो । बासी खाने कुरा र दूषित पानीले धेरैमा जन्डिस  निम्त्याउँछ ।

शरीरमा पानी मात्रा कम हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने र शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।

आउँ र हैजा
हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ ।

पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपूर्ण अङ्गहरूले काम गर्न छोड्ने जस्ता समस्या निम्तिन्छ ।

जसकारण यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

वर्षा याममा फैलिने कीटजन्य रोगहरू
वर्षायाम शुरु भएसँगै पानी जमेको ठाउँ वरपर धेरै लामखुट्टे बस्छ । यसरी बसेको लामखुट्टेको टोकाइबाट डेङ्गी फैलिने गर्दछ । अहिले पनि देशका ७३ वटा जिल्लामा डेङ्गी देखा परेको र यसलाई फैलिन नदिन सु-सूचित भएर तयारी अवस्थामा बस्नुपर्ने डा. पौडेल बताउँछन् ।

बाढी चलेको केही दिनिभत्र पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्ने गर्छ । यसरी बसेको लामखुट्टेको टोकाइले कीटजन्य रोगहरू डेङ्गी, मलेरिया र स्क्रब टाइफसजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

यस्ता संक्रमणबाट बच्न घर बाहिर निस्कँदा बाक्लो कपडा लगाउनुपर्छ । धेरै झाडी भएको ठाउँमा नजाने तथा सुत्दा झुल प्रयोग गर्न डा. पौडेलको सुझाव छ ।

यसरी जोगिन सकिन्छः

पानी उमालेर खाने
बर्खाको बेला बाढी-पहिरो आउने गर्छ । जसले गर्दा हाम्रो घर वरपरका खानेपानीको मुहानहरूमा बाढी पस्छ । खानेपानीको मुहान दूषित हुन्छ ।

यसरी बाढी पसेको पानी पिउँदा हामीलाई झाडापखाला र आउँजस्ता संक्रमण हुन्छ । त्यसैले पानीलाई उमालेर पिउने गर्नुपर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गर्न सकिन्छ । पानीलाई कम्तिमा पनि एक मिनेटसम्म उमालेर खाने गर्दा यस्ता रोगहरूबाट बच्न सकिने चिकित्सक सुझाउँछन् ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने
सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । वर्षात्‌को मौसममा; अझ बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

वर्षात्‌मा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु र खानेकुरा खानुअघि हात धुनु नै हो । जथाभावी दिसापिसाब गर्नु हुँदैन । खानेकुरा लाई राम्रोसँग पकाएर खानुपर्छ ।

यसका साथै साबुन-पानीले हात धुने गरे पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरिसकेपछि, खाना बनाउनु अघि, खाना बाँड्नुअघि र खाना खानुभन्दा पहिले पहिला साबुनपानीले हात धुनु आवश्यक हुन्छ । विशेषगरी बालबालिकालाई यस्ता रोगहरूले सताउने भएकाले आफैँले उनीहरूको सरसफाइ गरी दिनुपर्छ ।

घरबाहिर निस्कँदा माक्स प्रयोग गर्ने
यस मौसममा बासी तथा काँचो खानेकुरा खानु हुदैन । घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्ने गर्नु पर्छ ।

बाढीले विभिन्न जीवजन्तुहरूलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा दुर्गन्ध फैलिने गर्छ । त्यस्तो दुर्गन्धले हाम्रो स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।

के छ पूर्वतयारी ?
सरकारले २ वर्षअघि पूर्व तयारीस्वरूपः द्रूत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूह निर्देशिका तयार पारेको थियो । सो निर्देशिकामा पालिका स्तरमा पनि द्रूत प्रतिकार्य टोली हुनुपर्ने अवधारणा छ ।

द्रूत प्रतिकार्य टोलीले पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्ने गर्दछन् । यो पटक पनि बर्खा लाग्नुअघि नै टोलीलाई पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्न महाशाखाले निर्देशन दिइसकेको डा.पौडेलले बताए ।

केही ठाउँमा यी टोलीमार्फत चेतनामूलक कार्यक्रमहरू भइरहेका छन् भने नभएका पालिकामा केन्द्र तथा प्रदेशको समन्वयमा पूर्वतयारीबारे जानकारी दिने काम पनि भइरहेको उनले जानकारी दिए ।

त्यस्तै; ग्रामीण भेगहरूमा पानीजन्य सरुवा रोगको प्रकोप अझ बढी हुने भएकाले ती क्षेत्रहरूमा पानीको परीक्षण गर्ने गरिएको छ । यी रोगहरू फैलिन व्यक्ति तथा गाउँ-समाजको पनि त्यत्तिकै जिम्मेवारी हुने भएकाले सरकारले एक्लैले मात्रै गरेर केही हुँदैन । मानिसहरू आफैँ सचेत भएर सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : ४६ बजे

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो

बाढी पीडितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर