आर्यघाटमा अन्तिम शोषण ! | Khabarhub Khabarhub

आर्यघाटमा अन्तिम शोषण !

पशुपतिको आर्यघाटमा कालोबजारी बढेको गुनासो



काठमाडौं– आर्यघाट मान्छेको अन्तिम गन्तव्य हो । तर, मरिसकेपछि पनि मानिसलाई महंगी र कालोबजारीले छोड्दैन भन्ने तत्वज्ञान पशुपति आर्यघाटमा पुगिसकेपछि प्राप्त हुन्छ । शायद यो मानिसको जीवनमा हुने अन्तिम शोषण हो ।

सर्लाही घर भएका सन्तोष मिश्र आफन्तको दाहसंस्कारका लागि यो साता पशुपति आर्यघाट पुगे । चिता जलाउने ठाउँभन्दा थोरै वर भेटिएका उनका हातमा पानीको बोतल थियो । आर्यघाट परिसरमा उनले पानी ३० रुपैयाँमा किनेका थिए ।

पढाइका सिलसिलामा मिश्र काठमाडौं बस्दै आएका छन् । गाउँबाट उपचारका लागि काठमाडौं ल्याएका आफन्तको अस्पतालमै मृत्यु भएपछि उनी मलामी गएका हुन् ।

शव जलाउन गाउँ लैजान भन्दा पशुपतिमै सस्तो र सजिलो पर्ने भएपछि उनीहरु आर्यघाट पुगेका हुन् । आफन्तको उपचार गर्दा–गर्दै मृतकका परिवारको पैसा सकिएको उनीहरु आर्थिकरुपले कमजोर रहेको सन्तोषले सुनाए ।

मिश्रजस्तै शोकले डुबेर आर्यघाटमा पुग्नेहरुलाई कसैले एक घुड्को पानी दिँदैन, किनेरै खानुपर्छ, त्यो पनि बजारभाऊ भन्दा बढीमा ।

एउटा लास जल्न तीन-चार घण्टा लाग्छ, त्यत्रो समयमा मलामीलाई तिर्खा लागिहाल्छ । तर, घाटजस्तो ठाउँमा बजारमा भन्दा महंगो मूल्यमा पानी किन्नु दुर्भाग्य भएको सन्तोष बताउँछन् ।

सन्तोषसँगै मलामी आएका विनोद चौधरीले पनि आर्यघाटमा सबै सामाग्री बजार मूल्यभन्दा बढी भएको गुनासो गरे । उनले भने, ‘बाहिर २० रुपैयाँमा पाइने पानी यहाँ घाटमा ३० रुपैयाँ पर्ने रहेछ ।’

पशुपतिमा रहेको किरिया घर आसपासको अवस्था पनि उस्तै छ । बाहिर चिया २० देखि २५ रुपैयाँमा पाइन्छ । तर, किरिया घर अगाडितिरको पसलमा ३० रुपैयाँ लिने गरिएको चौधरीले बताए ।

काठमाडौंका विकास महर्जन फूल किन्ने क्रममा पशुपति परिसरमा भेटिए । उनी माइजू बितेर घाट आइपुगेका रहेछन् । शव ल्याउनुपूर्व नै उनी घाट पुगेका रहेछन् । शवलाई फूलले सजाउने पारिवारिक सल्लाहबमोजिम उनी अगाडि नै त्यहाँ पुगेका थिए । महर्जनले पशुपतिमा फूलको मुल्य मनलाग्दी भएको गुनासो सुनाए । उनले भने, ‘मृत्युमा मात्र नभएर पूजा वा बिहे गर्दा पनि हामीले फूल प्रयोग गर्दै आएको हो तर अन्तभन्दा आर्यघाटमा फूल महंगो नहुनुपर्ने हो ।’

महर्जनले थपे, ‘परिवारको सदस्यको अन्तिम विदाइ राम्रैसँग गरौं भन्ने सबैलाई हुन्छ । तर यस्तो दुःखको समयमा आर्यघाटमा बार्गेनिङ गर्नुपर्ने स्थिति रहेछ । पशुपति विकास कोषले कमसेकम आर्यघाटमा जनता नठगिने वातावरण विकास गर्नुपर्‍यो ।’

केही भारतीय पर्यटक फूलको मूल्यमा बार्गेनिङ गरिरहेका भेटिए । व्यापारी उनीहरुलाई तानातान नै गरिरहेका थिए ।उनीहरुले पनि पूजा सामाग्रीको मूल्य चर्को भएको गुनासो गरे ।

भारतको आगरादेखि आएका एकजना धार्मिक पर्यटकले मन्दिरजस्तो पवित्रस्थलमा आफूहरुसँग मनलाग्दी मूल्य लिएको गुनासो पोखे । उनले भने, ‘हामी छिमेकी देशका हौं । हामीसँग धेरै मूल्य लिन नहुने हो ।’

आर्यघाट भन्दा थोरै तलतिर किरियापुत्री घर छ । त्यहाँ बस्नेदेखि ठाउँदेखि लिएर कर्मकाण्डमा चाहिने सबै कुराको व्यवस्थापन छ । व्यवस्थापनको हिसाबले सजिलो भए पनि त्यहाँको खर्च सामान्य मान्छेले धान्नै नसक्ने महंगो भएको रुपदेन्हीका मजोज पौडेलले बताए । आफ्नी आमाको १३ दिने काज किरिया सकाएर निस्कँदै गरेका पौडेलले १३ दिनमा आफ्नो सवा लाख रुपैयाँ खर्च भएको सुनाए ।

पौडेल भन्छन्, ‘म त एक्लो छोरो, एक्लै किरिया बसें । खर्च पनि कम हुने भयो । धेरै जना किरिया गर्ने मान्छे भएमा यहाँ निकै खर्च हुन्छ ।’

सजिलोको हिसाबले यहाँ किरिया गर्दा चाहिने आवश्यक कुरा सबै पाइन्छ । भुइँमा नसुत्ने भन्ने हो भने दशदेखि पन्ध्र हजारसम्मका लो–बेडको समेत यहाँ व्यवस्था छ । कम्मल नओढेर ब्लाङ्केट ओढ्छु भन्दा पनि पाइन्छ ।

‘सुविधाको हिसाबले राम्रो हो तर यो त मान्छे मरेर अन्तिम कर्म गर्न आउने ठाउँ हो । सबैसँग स्रोत नहुन सक्छ’ पौडेल भन्छन्,‘अनिवार्य कर्मकाण्डी गर्ने ठाउँ न्यूनतम मूल्यमा उपलब्ध हुनुपर्ने हो ।
आर्यघाटभित्रका यी केही घटनाले त्यहाँको कालोबजारीको चित्रण गर्छ । पानी, फूल जस्तो अति आवश्यक सामग्रीमा जथाभावी मूल्य लिने गरिएको छ ।

हुन त पशुपतिमा चाहिने सामानको सार्वजनिक मूल्य सूची पनि नराखिएको होइन, तर कतिपय वस्तुको मूल्यसूची आफैंमा बढी छ भने कतिपय सामाग्रीहरुको मूल्य तोकिएको भन्दा बढी लिने गरिएको पाइएको छ ।

बढी शुल्क लिनेमाथि कारवाही हुन्छ : कोष

पशुपति परिसरमा कुनै पनि सामाग्री बजार मूल्य भन्दा बढीमा किनबेच गर्न नपाइने पशुपति विकास कोष प्रवक्ता रेवती अधिकारी बताउँछन् । उनी भन्छन्, ‘मन्दिर भन्नेवित्तिकै श्रद्धाभाव रहन्छ । त्यसमा पनि यहाँ आर्यघाटजस्तो ठाउँमा कालोबजारी हुन्छ कि भन्नेमा कोष सचेत छ ।’

घाटमा आएका मान्छेहरु नठगिउन् भनेर कोषले दिनमा तीन पटकसम्म अनुगमन गरिरहेको अधिकारीको दाबी छ । तर, कर्मचारीको ड्युटी अवधि सकिएपछि व्यापारीले मनलाग्दी मूल्यमा बेचेको भए साँझको समयमा पनि निगरानी बढाउने उनले खबरहबलाई बताए ।

आर्यघाटमा आएका मान्छेहरु नठगिउन् भनेर कोषले दिनमा तीन पटकसम्म अनुगमन गरिरहेको पशुपति विकास कोष प्रवक्ता रेवती अधिकारी बताउँछन् 

आर्यघाट जस्तो ठाउँमा व्यापारीको मनलाग्दी हुन नदिने कुरामा कोष गम्भीर भएर लाग्ने अधिकारीले खबरहबलाई बताए । उनले किरियापुत्री घरमा कुनै पनि सामाग्रीको मूल्य बजार भाउभन्दा बढी नभएको दाबीसमेत गरे । त्यहाँको सेवा सुविधाका लागि कोषले न्यूनतम शुल्क लिएको उनले बताए ।

फूल व्यवसायीमाथि पनि निगरानी राखिएको बताउँदै अधिकारीले भने, ‘व्यवसायी हुन्, नाफा कमाउँ भन्ने हुन्छ, तर ग्राहकलाई अनावश्यक दुःख दिने र मूल्यमा मनलाग्दी गरेको पाइएमा कारवाही हुन्छ ।’

मन्दिर र घाटजस्तो पवित्रस्थलमा कालोबजारी हुन नदिनका लागि कोषले निगरानी बढाउने अधिकारीले प्रतिवद्धतासमेत जनाए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ४१ बजे

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत