सगरमाथादेखि गोरेटोसम्म धार्मिक आस्था बोकेका ध्वजा (फोटो फिचर) | Khabarhub Khabarhub

सगरमाथादेखि गोरेटोसम्म धार्मिक आस्था बोकेका ध्वजा (फोटो फिचर)



काठमाडौं – चाहे सगरमाथाको चुचुरोमा पाइला टेक्दा होस् या गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्दा नै किन नहोस्, नेपाली भूमिले आध्यात्मिकताको आभास दिलाउँछ। राजधानीका साँघुरा गल्ली डुल्दै गर्दा अथवा दुर्गम बस्तीका बाटो, गोरेटो, घोडेटो हिँड्दा पनि आध्यात्मिकताले पाइला चाल्ने मान्छेको साथ छाड्दैन।

विश्वमा अन्त कतै नभेटिने अद्वितीय आध्यामिकताको खोजीमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेखनीय छ।

आकाशमा फहरिने रंगीचंगी ध्वजा अर्थात् ‘लुङ्ता’ ले यस पवित्र नेपाली भूमिको सौन्दर्यलाई बढाउँदै आएको छ। तिब्बती भाषामा लुङ्ताको अर्थ ‘वायुपङ्खी घोडा’ हुन आउँछ। परम्परागत रुपमा बौद्धमार्गीको आस्थाका केन्द्र चैत्य, स्तूप, छोर्तेन र गुम्बामा फहरिने लुङ्ता आजकल मान्छे बस्ने घर, फरक आस्थाका मन्दिर, नदीका दुई किनारालाई जोड्ने पुल, बाटोघाटो, व्यवासायिक भवन, होटेल, रेस्टुरेन्ट जताततै देख्न पाइन्छ।

बौद्धशास्त्रका अध्येता खेन्पो निमा डोन्ड्रुप ह्योल्मोलाई लुङ्ताको विशेषता, अध्यात्मिक महत्त्व र प्रयोजन राम्रोसँग थाहा छ। अध्यात्मिकताको पहिचान बोकेको लुङ्ता किन यति धेरै महत्वपूर्ण छ त ? खेन्पो ह्योल्मोले लुङ्ताबारे हामीसँग खुलेर कुरा गरेका छन्। उनले बताएअनुसार ज्ञान वा आस्था नराखी फहराइने लुङ्ताले कुनै महत्त्व राख्दैन।

व्यवसायिक अथवा निजी प्रयोजनका लागि घर अथवा होटेलमा फहराउँदैमा त्यसले लुङ्ताको अध्यात्मिक मर्म पूरा नहुने उनको भनाइ छ। यसका बावजुद जो कसैले पनि आफ्नो आस्था वा विश्वासका लागि लुङ्ता फहराउन सक्ने उनी बताउँछन्। यद्यपि गलत स्थानमा लुङ्ता फहराउन नहुनेमा भने उनी जोड दिन्छन्।

लुङ्ता फहराउनुको उद्देश्य फहराउने मान्छेको उद्देश्यमा निर्भर हुन्छ। कसैले शुभकार्यको प्रार्थानाका लागि लुङ्ता फहराउँछन् भने कसैले बाधा अड्चन निवारण होस् भनेर पनि यसो गर्छन् । त्यसबाहेक शुभाशिष पाउन, स्वास्थ्यलाभको कामना गर्न पनि लुङ्ता फहराइने परम्परा छ।

खेन्पो लुङ्तामा अंकित हरेक मन्त्रको आफ्नै विशिष्ट अर्थ र प्रयोजन हुन्छ। लुङ्तामा अंकित मन्त्रले नै यसको प्रभावकारिता निर्धारण गर्छ। लुङ्तामा अंकित मन्त्र अक्षुण रहन्छ, तबसम्म लुङ्ताको प्रयोजन रहिरहन्छ। मन्त्रमा क्षति पुगेको खण्डमा यसको प्रयोजन पनि बाँकी रहँदैन। खेन्पोका अनुसार लुङ्तामा अंकित मन्त्रमा क्षति पुगे त्यसलाई कसैको पहुँच नहुने ठाउँमा राख्न वा जलाउन सकिन्छ। यस्तो अवस्थामा लुङ्ता जलाएपछि श्रद्धासाथ शुद्ध स्थानमा बिसर्जन गर्न सकिन्छ। मन्त्र अंकित रहेका बेला लुङ्ता जलाए मात्रै त्यसलाई दोषपूर्ण कार्य मानिन्छ।

त्यसबाहेक लुङ्ता फहराउनका लागि अरु बेलाभन्दा निश्चित समय र मिति शुभ मानिन्छ। उदाहरणका लागि कसैको दीर्घायुको कामना गरी फहराइने लुङ्ताका लागि त्यस व्यक्तिको जन्मदिन वा अरु कुनै विशेष दिन उपयुक्त हुन्छ। त्यसैगरी, फहराउनुअघि लुङ्ताको अभिषेक गर्ने पनि परम्पार पनि रहिआएको छ।

परम्परागत रुपमा लुङ्तामा पाँच रङ हुन्छन्। लुङ्तामा पोतिने निलो, सेतो, रातो, हरियो र पहेँलो रङको पनि आफ्नै विशिष्ट महत्व छ। लुङ्ताका पाँच रङ पाँचै वटा दिशाका प्रतिक हुन्। यसअनुसार हरियोले उत्तर, पहेँलोले दक्षिण, सेतोले पूर्व, रातोले पश्चिम र निलो ले मध्य दिशा जनाउँछन्।

लुङ्ताको रङ दिशाको मात्रै प्रतिक होइन। हरेक रङले यस धर्तीका विशिष्ट शक्तिको पनि प्रतिनिधित्व गर्दछ। यसअनुसार पहेँलोले पृथ्वी, हरियोले जल, रातोले अग्नि, सेतोले वायु र निलोले आकाशलाई जनाउँछ।

लुङ्तामा अंकित मन्त्रको पनि आ–आफ्नै महत्त्व र विशेषता रहेको खेन्पो ह्योल्मो बताउँछन्। रङले विशिष्ट अर्थ दिने भए पनि लुङ्ताको रहस्य भने त्यहाँ अंकित मन्त्रमा नै विद्यमान रहेको उनको भनाइ छ। उदाहरणका लागि लुङ्तामा अंकित ‘ग्याल्जेन चेमु’ ले विजय दर्शाउँछ।

लुङ्ताका हरेक ध्वजामा बौद्ध धर्मको आस्थाको प्रतिक त्रिरत्न जडित वायुपङ्खी घोडाको प्रतिरुप अंकित हुन्छ। कुनै अवस्थामा लुङ्ताको विशेषता हेरी ध्वजामा घोडाबाहेक बाघ, सिंह, गरुड वा ड्रागन पनि अंकित गरिएको पाइन्छ। यस्ता प्रतिरुपलाई तेज गतिको प्रतिक मानिन्छ। यसै प्रतिरुपमार्फत् लुङ्ताले तेज गतिमा मान्छेको आकांक्षा पूरा गर्ने विश्वास गरिन्छ।

ध्वजाहरुमा प्रतिमोक्ष सुत्रजस्ता बुद्धका शिक्षा पनि समावेश हुने गरेको खेन्पोको भनाइ छ। मन्त्र अंकित सबै ध्वजालाई यथार्थमा लुङ्ता मान्न नसकिने उनले जानकारी दिए। उनका अनुसार ‘साम्बा लिन्डुप’, ‘बर्जे ल्हाम सोल’ बज्र गुरुजस्ता ध्वजा लुङ्ता होइनन्।

ध्वजाको मौलिकता, यसमा अंकित मन्त्र र अध्यात्मिक प्रयोजनले लुङ्तालाई विशिष्ट बनाउँछ। कहीँकतै हामीले लम्बाकार शैलीमा स्तम्भमा राखेर फहराइएका ध्वजा पनि देख्ने गरेका छौँ। यसलाई ‘दार्चो’ भनिन्छ। यसमा पनि लुङ्ताजस्तै पाँच रङ र मन्त्रहरु अंकित हुन्छन्। जसले पनि यस्ता ध्वजा फहराउन सक्ने तर, यसप्रतिको श्रद्धा, साइत, पालन गर्नुपर्ने परम्परागत संस्कारले चाहिँ विशेष अर्थ राख्ने खेन्पो बताउँछन्।

अध्यात्ममा विश्वास राख्नेहरु हावाको बहावमा फहरिने लुङ्ताले सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँछन्। अविच्छिन्न रुपमा आकाशमा उडिरहने लुङ्ताको स्पर्श पाएको हावाले आसपासको वातावरण र प्राणीको आत्मालाई शुद्ध तुल्याउने विश्वास गर्छन्।

 

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : ३७ बजे

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले