जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ । अर्काको घरभित्रको अन्तरविरोधमा खेलेर चुक्ली लगाउने र फुटाउने प्रवृत्तिलाई ‘घरभँडुवा’ प्रवृत्ति भनिन्छ ।
लोकतन्त्रमा राजनीतिक दल पनि एउटा घरजस्तै हो । दलभित्र पनि मतभेद, फरक विचार र अन्तरविरोध रहन्छन् । तर, एउटा दलको नेताले अर्को पार्टीभित्रको अन्तरविरोधमा खेलेर त्यो पार्टी फुटाउने षड्यन्त्र गर्छ भने त्यस्तो नेतालाई ‘घरभँडुवा’ भन्नुपर्ने हुन्छ ।
जसरी घरभँडुवा व्यक्तिले समाजको नेतृत्व गर्न सक्दैन, त्यसैगरी अर्काको घर भाँड्ने घरभँडुवा नेताले देशको नेतृृृत्व गर्न सक्दैन । उसले समाज र राष्ट्रलाई जुटाउने र एकतावद्ध बनाउने हैन, फुटाउने मात्रै भूमिका खेल्छ । अर्काको पार्टीमा चुक्ली लगाएर फुटाउने चिन्तन बोकेको व्यक्ति राजनेता हुनै सक्दैन ।
भर्खरै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । ‘सरकार जोगाउनका लागि’ भएको विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत भूमिका रहेको बताइँदैछ । बडो गर्वका साथ प्रचण्ड-ओलीको बाघचाल, बुद्धिमत्ता एवं पराक्रमका रुपमा जसपाको विभाजनलाई व्याख्या गर्ने काम भइरहेको छ।
के जसपा फुटाउने बाह्य ‘फ्याक्टर’का रुपमा प्रचण्ड र ओलीको संलग्नता छ ? यदि यो प्रमाणित भयो भने यस्तो कार्यलाई अनुचित मात्र होइन, राजनीतिक अपराध नै मान्नुपर्ने हुन्छ । सत्तामा बसेर, सत्ताको प्रलोभन देखाएर अर्काको दल विभाजन गर्न उक्साउनु भनेको राजनीतिक खेल होइन, अपराधकर्म हो ।
जसपाको विभाजनमा पार्टीभित्रको आन्तरिक पक्ष मात्रै नभएर बाहिरबाट चलखेल भएको हो भने त्यो जघन्य राजनीतिक अपराध हो । यस्तो कार्यमा दल बाहिरबाट देशी, विदेशी ज-जसले भूमिका खेलेका छन्, उनीहरु घरभँडुवा हुन् । अर्काको घर भाँड्नु अपराधकर्म हो ।
जसपा विभाजनमा प्रचण्ड र ओलीको हात छ कि छैन ? यो प्रमाणित हुन बाँकी छ । जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किइसकेका छन्, सायद यसबारे उनले छानविन गर्लान् ।
शंकाको सुई प्रचण्ड र ओलीतिर
प्रतिनिधिसभामा १२ सिटको प्रतिनिधित्व गर्ने जसपाका तीन नेताहरु अहिले प्रचण्ड सरकारमा मन्त्री छन् । अध्यक्ष यादव स्वयं उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् । नवलकिशोर साह सुडी वनमन्त्री छन् भने दीपक कार्की वन राज्यमन्त्री छन् ।
तर, उपप्रधानमन्त्री यादव अमेरिकामा कार्यक्रममा गएको समय पारेर अशोक राईसहित ७ सांसदले पार्टी फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्तासमेत गरिसकेका छन् । अब यादवको पक्षमा ५ र अशोक राईको पक्षमा ७ सांसद रहने गरी दल फुटाइएको छ ।
सिंगो जसपा पार्टी सरकारमै रहेका बेला प्रचण्ड नेतृत्वको सरकार जोगाउने भन्दै मन्त्री सुडीसमेत लागेर पार्टी फुटाइएको छ । उपेन्द्र यादवले सरकार छाड्न लागेको र अर्को गठबन्धन बनाउन लागेको भन्दै प्रचण्ड सरकार जोगाउन पार्टी फुटाइएको बताइएको छ ।
जुन तर्कका आधारमा जसपा विभाजन गरिएको छ, यसमा ओली र प्रचण्डको राजनीतिक दाउपेचले भूमिका खेलेको विश्लेषण भइरहेको छ । खासगरी, उपेन्द्र यादव र माधव नेपालले मिलेर अर्को गठबन्धन बनाउने र प्रचण्ड–ओली नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको सुइँको पाएपछि ओली र प्रचण्डले यस्तो चाल चालेको व्याख्या राजनीतिक वृत्तमा भइरहेको छ ।
खेलको नियम उल्लंघन
सरकारमा रहेका नेताहरुले आफ्नो सत्ता जोगाउन खोज्नु र विपक्षमा रहेकाले सत्ता प्राप्तिको प्रयास गर्नु राजनीतिमा नाजायज होइन । सरकारमा रहेको दलले सरकारबाट बाहिर चाहेमा उसलाई त्यो स्वतन्त्रता रहन्छ ।
अर्काको दल फुटाएर सरकार टिकाउन खोज्नु नाजायज र अनुचित मात्र होइन, अपराधकर्म हो
तर, सत्ता प्राप्ति वा बहिर्गमनको खेल स्वच्छ हुनुपर्छ । षड्यन्त्र र अपराधमा आधारित हैन, खेलको नियम अनुसार खेलिनुपर्छ । क्रिकेट होस् या फुटबल, सबै खेलका आफ्नै नियम हुन्छन् । के राजनीतिमा चाहिँ अनुशासन र खेलको नियम पालना गर्नुपर्दैन ? अवश्य पर्छ । जसपा सरकारबाट बाहिरिनै लागेको थियो भने पनि उसलाई कन्भिन्स गरिनुपर्थ्यो, फुट्न उक्साउनेतिर लाग्नुहुँदैनथ्यो ।
उदाहरणका लागि, भोलि रवि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिन लाग्यो भने के गर्ने ? त्यसलाई पनि फुटाइदिने ? एकीकृत समाजवादीले सरकार छाड्न लाग्यो भने त्यसलाई पनि फुटाउने ? कि उक्त दललाई विश्वासमा लिएर सरकार टिकाउने ? यो गम्भीर प्रश्न यतिबेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीतिर सोझिएको छ ।
अर्काको दल फुटाएर सरकार टिकाउन खोज्नु भनेको अर्काको घर परिवार फुटाएर आफ्नो घरजम जोड्नुजस्तै हो । यो नाजायज र अनुचित मात्र होइन, अपराधकर्म हो ।
त्यसर्थ, जसपा विभाजनमा प्रचण्ड र ओलीको हात छ कि छैन, यसको छानविन हुनुपर्छ । दुई नेताहरुको हात रहेछ भने त्यसलाई अपराधिक कर्मका रुपमा किटानी गरिनुपर्छ । यसो गरिएन भने नेपालका कुनै पनि नयाँ र साना दलहरु भविष्यमा सुरक्षित रहने छैनन् ।
अब कोही सुरक्षित छैनन्
सरकारमा रहिरहनका लागि भन्दै जसपामा जुन विभाजन भयो, यो घटनाले अब रास्वपा, एकीकृत समाजवादी, राप्रपा र जनमत पार्टीसमेतलाई असुरक्षित बनाइदिएको छ । यतिमात्र किन ? जति नै झगडा भए पनि प्रायः नफुटेको नेपाली कांग्रेसलाई समेत फुटाउने प्रयास अब हुन सक्छ । शेखर कोइरालालाई प्रधानमन्त्री दिने आश्वासन एमालेजनबाट आउन थालेकै छ । कोशीमा यसको रिहर्सल पनि भएकै हो तर कांग्रेस फुटेन ।
प्रतिनिधिसभामा २० सिट रहेको रवि लामिछाने नेतृत्वको रास्वपा यतिबेला सरकारमा छ । इलामको उपनिर्वाचनपछि सरकारमा बसेर मिसन ०८४ पूरा हुन नसक्ने डिस्कोर्र्स रास्वपाभित्र सुरु भइसकेको छ । योसँगै रास्वपामा प्रतिपक्षमा बसौं भन्ने कार्यकर्ता तहबाट दबाव सुरु भएको छ ।
भोलि पार्टीको बहुमतले सभापति लामिछानेलाई सरकारबाट फिर्ता बोलायो भने ओली र प्रचण्डले के गर्लान् ? के आफ्नो सरकार बचाउनका लागि रवि लामिछानेको पार्टी पनि फुटाइदिने ? जसपाको नजिरले यो सम्भावना बढाएको छ ।
अब रास्वपामा गम्भीर आन्तरिक संकट आउने देखिन्छ । सरकारमा बसिराखौं, जनतामा अलोकप्रिय हुँदै जाने डर । सरकार छाडौं, पार्टी नै फुट्न सक्ने डर । रास्वपा गठबन्धन सरकारबाट बाहिर बसिराख्यो भने ६/८ महिनापछि देश मध्यावधि चुनावतिर जान सक्छ ।
जसपापछि अब फुट्ने–फुटाउने पालो माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको हुन सक्छ । किनभने, माधव नेपालप्रति केपी ओलीको गहिरो रिस छ । हिजो नेकपा एमाले फुटाएको रिस फेर्न ओली लागिपरेको ‘ओपन सेक्रेट’ विषय हो ।
संसदमा १० सिट रहेको एकीकृत समाजवादीले अब प्रचण्ड नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय लियो भने ‘वामपन्थी सरकार जोगाउनका लागि’ भन्दै प्रेम आले, किसान श्रेष्ठ आदिले एकीकृत समाजवादी फुटाए भने अचम्म नमान्दा हुन्छ ।
एकीकृत समाजवादीमा जस्तै स्थिति राप्रपामा पनि आउन सक्छ । प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ । अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारमा नरहने निर्णय गराएकाले पार्टी प्रतिपक्षमा छ । तर, राप्रपाभित्र विक्रम पाण्डे लगायतका केही नेताहरु सरकारमा जान अति लालायित छन् । यो स्थितिमा ओली र प्रचण्डले भोलि आफ्नो सरकार जोगाउनका लागि राप्रपाको १४ सिटबाट पनि केही सांसद चुँडचाँड गरेर लिन सक्ने जोखिम राप्रपाभित्र बढेको छ ।
यतिसम्म कि प्रतिनिधिसभामा ६ सिटको प्रतिनिधित्व रहेको सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारबाट बाहिरै बसेको अवस्थामा अब उसमाथि पनि जोखिम बढेको छ । सरकारमा जान चाहने नेताहरुलाई लिएर जनमतलाई पनि ‘घरभँडुवा’हरुले फुटाइदिन सक्छन् ।
बाबुराममाथि अन्याय
गत ०७९ को चुनावका बेला बाबुराम भट्टराई र उपेन्द्र यादववीच भर्खरै विभाजन आएको थियो । जसपाबाट अलग भएर बाबुरामले नेपाल समाजवादी पार्टी बनाएका थिए । त्यसबेला प्रचण्डले चितवनमा चुनाव हार्ने स्थिति थियो, बाबुरामले उनलाई रेस्क्यु गरेर गोरखा लगे र आफूले त्याग गर्दै चुनाव जिताए । त्यसैको आडमा प्रचण्डले अहिले प्रधानमन्त्री हुन पाएका छन् ।
तर, बाबुरामले लगाएको गुन प्रचण्डले कसरी तिरे ? उनले बाबुरामको पार्टी हुँडलेर फुटाइदिए । समाजवादी पार्टी फुटाएर बाबुरामलाई किनारा लगाउने घरभँडुवा नीति प्रचण्डले लागु गरे ।
उपेन्द्र यादवमाथि बारम्बार प्रहार
मुलुकको राजनीतिमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता यादवले कहिले विदेशी तत्वबाट त कहिले नेपालकै ठूला दलहरुबाट पीडित बन्दै आउनुपरेको छ ।
जसपा अध्यक्ष यादव संघर्षबाट उदाएका नेता हुन् । नेकपा पुष्पलाल समूह र एमाले हुँदै एकताका उनी माओवादीमा पनि लागेका थिए । पार्टी छाडेपछि जनयुद्धकालमा यादवलाई माओवादीले मार्न खोजेको थियो र उनी भूमिगत भएर बचेका थिए ।
०६२/०६३ को आन्दोलनपछि उनले मधेसी जनअधिकार फोरम बनाएर संघीयताको आन्दोलन गरे । अहिले देशमा जुन संघीयता आएको छ, यसमा उपेन्द्र यादवको देन छ ।
धेरै मानिसलाई मन परोस्, नपरोस् उपेन्द्र यादवले नेपालमा एउटा स्पष्ट राजनीतिक धारको प्रतिनिधित्व गर्छन् । उनी संघीयता र पहिचानको पक्षमा प्रचण्डको भन्दा बढी अडान भएका नेता हुन् । पूर्वकम्युनिष्टसमेत भएकाले यादव समाजवादी एवं वामपन्थी धारका नेता हुन् ।उपेन्द्र यादवको छवि राष्ट्रवादी नेताका रुपमा रहेको छ । उनको यही राष्ट्रवादी छविकै कारण भारतको पिछलग्गु बन्न नमान्दा भारतले समेत आफ्नो पार्टी फुटाइदिने गरेको जसपाका कतिपय नेताहरु विश्लेषण सुनाउँछन् ।
पहिलो संविधानसभामा यादव नेतृत्वको मधेसी जनअधिकार फोरम चौथो शक्तिका रुपमा उदाएको थियो । तर, विजय गच्छदारले पार्टी फुटाएपछि फोरम कमजोर बन्यो । त्यो विभाजनमा विदेशी चलखेलको समेत भूमिका रहेको जसपा नेताहरुको गुनासो छ ।
त्यसयता उपेन्द्र यादवको पार्टीमाथि बारम्बार बाह्य हस्तक्षेप र फुट हुँदै आएको छ ।
यादवले कांग्रेस–एमालेको विकल्पमा तेस्रो राजनीतिक धार बनाउने प्रयास निरन्तर गर्दै आएका थिए । उनले यसवीचमा एमाले छाडेर आएका अशोक राईसँग एकता गरे । माओवादी छाडेका बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता गरे । तमलोपाका महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो लगायत सबैलाई मिलाएर बलियो शक्ति बनाए ।
यसैको प्रतिफलस्वरुप मधेस प्रदेशमा जसपाले कांग्रेस एमाले र माओवादीलाई टक्कर दियो र बलियो स्थायी शक्तिका रुपमा आफूलाई स्थापित गर्यो ।
यादव मधेसबाट पहाडमा पनि उक्लिए । सातै प्रदेशमा पार्टी विस्तार भयो र माधव नेपालको भन्दा ठूलो दलका रुपमा उनले राष्ट्रिय मान्यतासमेत पाए ।
तर, उपेन्द्र यादवले बनाएको तेस्रो धार देशका ठूला पार्टीहरुलाई पच्ने कुरै थिएन । विदेशी शक्तिलाई पनि यादवको राष्ट्रवादी शक्ति बढेको मन परिरहेको थिएन । यसैको शिकार अहिले उपेन्द्र यादव बनेका छन् । उपेन्द्र यादव मात्रै यसको शिकार बनेनन्, वैकल्पिक राजनीतिमाथि नै गला रेट्ने काम भयो ।
आन्तरिक पार्टी सञ्चालनमा उपेन्द्र यादवसँग केही–कमजोरी र सीमाहरु अवश्य छन् । सामुहिकतामा चल्न नसकेको उनीमाथि आरोप लाग्ने गरेको छ । आखिर यस्तो आरोपबाट ओली, देउवा, प्रचण्ड र रवि लामिछानेहरु पनि मुक्त छैनन् । पार्टीमा आन्तरिक लोकतन्त्र भएन भन्दैमा बाह्य दबाव र हस्तक्षेपबाट अर्काको दल फुटाउने कार्यको औचित्य सिद्ध हुँदैन ।
देशमा एउटा बलियो राजनीतिक शक्ति बनाउँछु भन्दा पुराना शक्तिहरुले कसरी जालझेल गर्छन् र अघि बढ्न दिँदैनन् भन्ने ‘केस स्टडी’का लागि उपेन्द्र यादवको पार्टी राजनीतिक अध्येताहरुलाई एउटा सन्दर्भ सामग्री बन्न सक्छ ।
प्रश्न ओली र प्रचण्डतिर मात्र होइन, अशोक राईजस्ता मुर्धन्य नेतामाथि पनि तेर्सिएको छ ।
एमालेका पूर्वउपाध्यक्षसमेत रहिसकेको नेता अशोक राईले कोशी प्रदेशमा रहेका आफ्नै समुदायका नेताहरुसँग पनि सल्लाह नगरी, मधेसकै केही समानुपातिक सांसद एवं मन्त्रीका लागि लोभ गर्ने नेताहरुसँग मिलेर किन र कुन उद्देश्यका लागि पार्टी फुटाए ? यो विभाजनले कसको हित गर्यो ?
अशोक राईले जीवनभर भन्दै र गर्दै आएको पहिचान, निष्ठाको राजनीति र विद्रोह अब कहाँ पुग्यो ?
यो पनि-
पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन
प्रतिक्रिया