चाडपर्व सकिएसँगै मानवबेचविखनको जोखिम, प्रहरी भन्छ- ‘आफ्नो सुरक्षा आफैँ गरौँ’ | Khabarhub Khabarhub

चाडपर्व सकिएसँगै मानवबेचविखनको जोखिम, प्रहरी भन्छ- ‘आफ्नो सुरक्षा आफैँ गरौँ’

बेचिएकै पत्तो पाउँदैनन् बेचिएकाहरु



चाडपर्व सकिएलगत्तै मानव बेचबिखन बढ्ने भन्दै सतर्कता अपनाउन मानव बेचबिखन ब्युरोले आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता गौतम मिश्रले रोजगारको खोजीमा निस्कँदा दलालको फन्दामा पर्न सकिने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

चाडपर्व सकिएलगत्तै मानिसहरु आ–आफ्नो कर्मभूमिमा फर्किन्छन्। साथै, नयाँ कामको खोजीमा पनि मानिस सहर पस्ने गर्छन्। त्यो अवस्थामा बेचबिखनमा पर्न सक्ने सम्भावना हुन्छ।

मिश्रले भने, ‘चाडपर्व सकिएपछि मानिस अवसरको खोजीमा निस्कन्छन्। पर्वले आर्थिक भार थपेको हुन्छ र अर्को खेतीपाती भित्र्याएर पनि सकिने भएकाले मानिस निस्कन्छन्। यस समयमा अत्यधिक मानव बेचबिखन हुन्छ। आफ्नै देशभित्र र भारत हुँदै तेस्रो मुलुकमा जानेहरु धेरै बेचबिखनमा पर्छन्।’

भेगको हिसाबले कर्णाली तथा सुदूपश्चिमका कामको खोजी गर्दै भारत पस्दा बेचबिखनमा पर्ने प्रवक्ता बताउँछन्। उनी भन्छन्, ‘त्यहाँ कामको लागि भनेर परदेशिने महिला निकै कम हुन्छन्। पुरुषहरु नै कमाउनको लागि हिँड्छन्। उनीहरु प्रायः कोइलाखानीमा फसेका हुन्छन्।’

‘चाडपर्व सकिएपछि मानिस अवसरको खोजीमा निस्कन्छन्। पर्वले आर्थिक भार थपेको हुन्छ र अर्को खेतीपाती भित्र्याएर पनि सकिने भएकाले मानिस निस्कन्छन्। यस समयमा अत्यधिक मानव बेचबिखन हुन्छ। आफ्नै देशभित्र र भारत हुँदै तेस्रो मुलुकमा जानेहरु धेरै बेचबिखनमा पर्छन्।’

‘वर्षमा एकपटक आउने भन्दै चाडपर्वमा मासु खाने, नयाँ लुगा लगाउने र दक्षिणा तथा उपहार दिने चलनले केही वर्गलाई ऋणमै पुर्याउँछ, मिश्रले भने, ‘त्यसकारण जहाँ जस्तो काम भेटिए पनि गर्नुपर्ने बाध्यताले उनीहरु बन्धक नै भएर काम गर्नुपर्ने ठाउँसम्म पुग्छन्।’

वैदेशिक रोजगारको सिलसिलामा बेचिएको भन्ने कुरा निकै पछि थाहा हुने मिश्रको भनाइ छ। ‘खाडी मुलुकमा घरेलु कामदारको रुपमा जानेहरू निकै लामो समयपछि मात्रै बेचिएको थाहा पाउने भएकाले समयमै उद्धार गर्न गाह्रो हुन्छ’ उनी थप्छन्, ‘धेरै देशमा नेपालीहरू बेचिएका छन्, ती देशहरूमा गएर खोज अनुसन्धान गर्न निकै समस्या छ।’

ब्यूरोमा जनशक्ति अत्यन्त कम भएका कारणले बेचबिखनमा परेकाहरुको उद्धार गर्न कठिन भएको प्रवक्ताले बताए। उनले भने, ‘यति थोरै संख्या रहेको जनशक्तिले जति काम गरेको त्यो उल्लेखनीय नै हो। तर, सरकारले आफ्ना नागरिक बेचबिखन हुनबाट जोगाउन जति काम गर्नुपर्ने थियो, त्यो सन्तोषजनक छैन।’

समयसँगै मानव बेचबिखनका तरिका परिवर्तन भएका छन्। मिश्रका अनुसार पहिले देशभित्र र बाहिर भारतसम्ममा मात्रै हुन्थ्यो। अहिले रोजगारीका नाममा जुनसुकै देशमा पुगेका नेपालीहरू बेचिएका छन्। पीडितलाई आफू बेचिएकै नै थाहा नभएको अवस्था छ।

मानव बेचबिखन राज्यको कुनै एक निकायले मात्रै समाधान गर्ने विषय नभएको मिश्र बताउँछन्। उनी भन्छन्, ‘आफ्ना नागरिकलाई देशमै राख्ने वा जोखिम भएको ठाउँमा जानै नदिने संयन्त्र बनाउन सबैले हातेमालो गर्नुपर्छ।’ देशमा रोजगारको अवस्था सिर्जना गर्न सके घरेलु कामदारको लागि नेपालीहरू वैदेशिक रोजगारमा जानुपर्दैन र घर–घरै नेपाली बेचिनुपर्ने अवस्थाको न्यूनिकरण हुने मिश्रको भनाइ छ।

मानव बेचबिखन तथा ओसारपसारको तथ्याङ

प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मानव बेचबिखन काठमाडौं उपत्यकामा भएको छ। रोजगारको खोजीमा मानिसहरु उपत्यका आउने गर्छन्। त्यसपछि दोस्रो लुम्बिनी प्रदेशमा भएको देखिन्छ। लुम्बिनी प्रदेश छिमेकी राष्ट्र भारतको नाका पर्छ। भारतमा पनि रोजगारीको लागि नेपालीहरु जाने गर्छन्।

प्रहरी मुख्यालयका प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मानव बेचबिखन हुने सम्भावना भएका ठाउँहरुका प्रहरीको अनुसन्धान निरन्तर भइरहेको बताए। उनले भने, ‘वैदेशिक रोजगार विभागले पनि नियमन गर्छ। प्रहरीले विभागसँग समन्वय र सहकार्यमा काम गरिरहेको छ। नाका र विमानस्थलमा विशेष ध्यान दिइनेछ। अध्यागमन विभागले पनि यो समयमा निगरानी गरिराखेको छ। प्रहरी सहयोगीको रुपमा कहिँ पनि सक्रिय रहन्छ।’

‘नेपालीहरुको मुख्य पर्व मानिएको दशै र तिहारपछिको समयमा मानिसहरु देश भित्रै र वैदेशिक रोजगारीको लागि निस्कन्छन्। यो समयमा धेरै जना बेचबिखनमा पर्छन्, त्यसको लागि प्रहरीले सम्बन्धित निकायसँग सहकार्य गरेर काम गर्छ, कार्कीले भने, ‘यसको लागि प्रहरीले विभिन्न माध्यमबाट मानवबेचबिखन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सचेतना कार्यक्रमहरु गरिरहेको छ।’

बेचबिखन हुनबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफू नै सचेत हुनुपर्ने प्रहरीको भनाइ छ। बेचबिखन के हो ? र के होइन भन्ने कुरा थाहा पाउन जरुरी रहेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीको भनाइ छ ।

बेचबिखन हुनबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफू नै सचेत हुनुपर्ने प्रहरीको भनाइ छ। बेचबिखन के हो ? र के होइन भन्ने कुरा थाहा पाउन जरुरी रहेको कार्कीले बताए। उनले भने, ‘कतिपयले आफू बेचबिखनमा परे नपरेको थाहा पाउँदैनन्। प्रहरीले उद्धार गरेर ल्याएपछि मात्रै थाहा पाउँछन्। त्यसकारण मानवबेचबिखनबारे थाहा हुन जरुरी छ।’

साथै, आफूलाई रोजगारको अवस्थामा अप्ठ्यारो भएमा प्रहरीकोमा उजुरी दिन समेत उनले आग्रह गरेका छन्। मानव बेचबिखन गैरकानुनी कार्य हो। मानव बेचबिखन नियन्त्रण ऐन २०६४ को दफा १५ ले २० वर्ष कैद र दुई लाख जरिवानाको तोकेको छ। त्यस्तै ओसारपसार भएमा सजाय १ वर्ष कैद सजाय तोकेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १० : १२ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत