अर्थसंक्षेप : अर्को साताभित्र बंगलादेश बिजुली निर्यात हुँदै, एकैदिन चार हजारले घट्यो सुनको मूल्य | Khabarhub Khabarhub

अर्थसंक्षेप : अर्को साताभित्र बंगलादेश बिजुली निर्यात हुँदै, एकैदिन चार हजारले घट्यो सुनको मूल्य


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ ।

त्यस्तै, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । स्थानीय बजारमा बिहीबार एकैदिन चारहजार रुपैयाँले सुनको मूल्य घटेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरुः

बङ्गलादेशलाई बेचिँदै ४० मेगावाट नेपाली बिजुली

अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको छ । नेपालले भारतपछि बिजुली तेस्रो देश अर्थात् बङ्गलादेशलाई बिजुली बेच्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साताभित्र ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने गरी तयारी थालिएको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बङ्गलादेशमा बिजुली निर्यात बिहीबारबाटै थाल्ने तयारी भए पनि भारतको स्वीकृति नआउँदा केही दिन ढिलाइ भएको खबरहबलाई जानकारी दिए ।

एक साताभित्रै बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात भइसक्ने उनले बताए । ‘४० मेगावाट बिजुली बिहीबारबाटै गर्ने तयारी थियो । तर भारतबाट स्वीकृति नआउँदा केही दिन ढिलो हुने भएको छ,’ उनले भने, ‘अर्को सातादेखि बङ्गलादेशमा बिजुली निर्यात सुरु हुन्छ ।’

नेपालले यसअघि भारतीय बजारमा मात्रै बिजुली निर्यात गर्दै आएको थियो । अब भने भारतको बाटो हुँदै बङ्गलादेशसम्म ४० मेगावाट बिजुली निर्यात सुनिश्चित भइसकेको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२÷३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।

ग्वार्को फ्लाइओभरमा मोटर गुडाउन अझै तीन महिना कुर्नुपर्ने

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ । फ्लाइओभर निर्माणका अधिकांश काम अन्तिम चरणमा पुगे पनि यातायात सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिएको हो ।

यसअघि वर्षाका कारण रोकिएको फ्लाइओभर निर्माणकार्य पुनः सुरु भएको छ । ठेकेदार कम्पनीले निर्माणमा देखाएको ढिलासुस्तीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकिरहेको छैन ।

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । आइतबार ९२ लाख १ हजार रुपैयाँ रहेको बिटक्वाइनको मूल्य बिहीबार १ करोड ७६ हजार माथि रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै बुधबार धेरै मूल्य रहेका अधिकांश मुख्य क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । मंगलबार ३ लाख २९ हजार रहेको इथरको मूल्य बुधबारदेखि बढेर आज ३ लाख ७९ हजार माथि पुगेको छ । त्यस्तै, मंगलबार १७२ अमेरिकी डलर रहको सोलोनाको मूल्य १८७ डलर र बिएनबीको ५९५ डलर पुगेको छ ।

एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्राधिकरण–ईप्पान साझेदारीमा काबेली करिडोर प्रसारण लाइन पुनःनिर्माण

इलामको माइखोला आएको बाढीले क्षति पु¥याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते शनिबार माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माइ नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पु¥याएको थियो ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा पुनःनिर्माण तथा पुनःस्थापना गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज

बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीस कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने फैसाला गरेको हो । अदालतमा काठमाडौं–४ का हरिबहादुर केसी र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स र रिलायन्स लाई विपक्षी बनाइ रिलायन्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेर आईपीओ निष्कासन गर्ने खोजेकाले रोक्न माग गर्दै गत असार २५ गते रिट दायर गरेको थियो ।

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।

उनले दसैँ तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए । भौतिक सम्पत्तिमा पनि ठूलो क्षति भयो । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । तर, क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ ।

चालीस दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्णविवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७, बमोजिम घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल

जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान धानबालीमा गभारो लागेपछि चिन्तित भएका छन् । गभारोका कारण एक हजार रोपनी क्षेत्रफलमा लगाइएको जेठोबुढो धानखेती खेर गएको छ । यस्तै, पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । रोगबारे अनभिज्ञ रहेको उनको भनाइ छ । उनले भने, ‘यसअघि यस्तो देखिएको थाहा छैन ।’

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसक्यो’, महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

देउसीभैलोबाट क्याम्पसलाई ४० लाख रुपैयाँ संकलन

ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटाएको छ ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटेको बताए । दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म ५३ लाख रुपैयाँ जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ’, उनले भने ।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा. रेखा रोका, डा. रञ्जना रोका र डा. स्वस्ती रोकाले एक लाख ९२ हजार रुपैयाँका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ६ : २३ बजे

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण

खानामा कपाल भेटिए के गर्ने ?

काठमाडौं– खानामा कपाल पर्नु, झर्नु वा भेटिनु साधारण कुरा हो

मासु खानेको स्वार्थ र बलिप्रथा

बलिको अर्थ आफैंभित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष

प्रविधिको प्रयोगले सुन्तला ग्रेडिङमा सहज

स्याङ्जा– सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ ।

एनपीएल : आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई खेल