३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण « Khabarhub

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् ।

गैँडाको सङ्ख्या बढाउनका लागि तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । 

थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए। उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ । 

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई चार गैँडा उपहारस्वरुप प्रदान गरेको विभागले जनाएको छ । त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, संयुक्त अधिराज्य, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरुप प्रदान गरिसकेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैँडाको आन्तरिक एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

उक्त अध्ययनका आधारमा वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) को गत माघ २४ गतेको निर्णयानुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा छ वटा गैँडा स्थानान्तरण कार्य सम्पन्न भएको छ । स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो । यस स्थानान्तरणबाट गैँडाको सङ्ख्या वृद्धि दर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार मन्त्रालय (मन्त्रीस्तर) को गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा दुई पोथी गैँडा (पुष्पाअञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो ।

हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ । चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट शाहले जानकारी दिए। 

कोसीटप्पु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास क्रमसँगै गैँडाको प्रजनन भई दिगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उनको भनाइ छ । सो क्षेत्रमा ‘राइनो सेञ्चुरी’का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उनले बताउए

    विश्वमा एकसिङ्गे गैँडाको सङ्ख्या चार हजार

भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन् । विश्वमा करिब चार हजारको सङ्ख्यामा रहेका एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ ।

यो प्रजाति आयुसिएनको संवेदनशील वर्गमा, साइटिसको अनुसूची १ मा र नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ (संरक्षित वन्यजन्तु) मा पर्दछ । गैँडाको खागका लागि हुने चोरी, सिकार, बासस्थानको विनाश एवं ह्रास र जलवायु परिवर्तनको प्रभाव यसको संरक्षणका लागि मुख्य चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९-८० मा मात्र विभिन्न कारणले २६ गैँडाको मृत्यु भएको थियो । सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई-दुई गैँडाको मृत्यु भएको उनले जानकारी दिए । 

चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। तीमध्ये प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) कारणबाट १५, चोरी, सिकारबाट तीन र अन्य कारणबाट एक गैँडाको मृत्यु भएको थियो ।  

विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैँडाका साथै पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । जैविक विविधताको धनी यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी चार जिल्लामा फैलिएको छ ।

दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको यो नेपालको पहिलो निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३० असोज ४ गते भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ४८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था