काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् ।
उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न माग गर्दै अघिल्लो वर्षभन्दा मूल्य बढाउन ध्यानाकर्षण गराएका छन् ।
नवलपरासी– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । गत वर्ष सरकारले तोकेको अनुदानवापतको रकम किसानले अहिले पनि नपाएको र केही चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए ।
उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन् । उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी वापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल एक सय रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।
साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट क्षेत्र भएकाले उल्लेख गर्दै हाल प्राप्त मलको कोटा अपुग भएकाले कोटा वृद्धि गर्न पनि सरकारसँग माग गरे ।
प्रतिक्रिया