निजी फार्मेसीले अपराध गर्दा हजारौं नागरिकको जीवन बर्बाद ! | Khabarhub Khabarhub

औषधी नै लागुऔषध

निजी फार्मेसीले अपराध गर्दा हजारौं नागरिकको जीवन बर्बाद !

औषधीलाई ड्रग्स बनाउँदा बिरामीले सकस भोग्दै


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थलाई लागुपदार्थ वा लागुऔषध भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ ।

कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध हो भने सूर्तीजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

विश्व स्वास्थ्य सङ्गठनले यस्ता लागुपदार्थ स्वस्थ शरीरमा प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ । तर, कतिपय बिरामीलाई निको पार्न उत्पादन गरिएका औषधीहरूको प्रयोग लागुपदार्थका रूपमा हुने गरेको पाइएको छ ।

नेपाल ड्रग युजर्स सर्भे-२०२० का अनुसार सन्‌ २०२४ को अप्रिल १५ सम्म नेपालमा लागुऔषध प्रयोगकर्ता सङ्ख्या एक लाख ५६ हजार ८२१ पुगेको थियो । लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेकाले यो सङ्ख्या झनै बढेको हुनसक्ने सरकारी अधिकारीहरू बताउँछन्‌ ।

पछिल्लो समय ट्रामाडोल र टापेन्टाडोल नामक औषधीको दुरुपयोग भइरहेको छ । क्यान्सर लगायत घातक रोग लागेका बिरामीहरूले प्रयोग गर्ने यी औषधी ओभरडोज (निर्धारित मात्राभन्दा बढी) खाएर कुलतमा फसेकाहरूले ड्रग्सको रूपमा प्रयोग गर्न थालेपछि सरकारले बिक्री वितरण तथा प्रयोगमै कडाइ गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख २७ मा बसेको बैठकले यी दुई औषधीलाई मनोद्दीपक औषधीको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

दुखाइ कम गर्ने यी दुई औषधीहरूका एकल वा सम्मिश्रण औषधीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड ‘क’ को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधीको सूचीमा समावेश गरिएका हुन् । त्यसयता यी औषधीहरूको बिक्री वितरणमा रोक लगाइएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार चिकित्सकको निगरानीमा रहेका गम्भीर खालका बिरामीलाई यी औषधी दिइन्छ । तर कुलतमा फसेका युवाहरूले लागुपदार्थका रूपमा खान थालेपछि यसको प्रयोगमा कडाइ गर्नुपरेको हो ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल ।

खबरहबसँग कुरा गर्दै महानिर्देशक ढकालले भने, ‘ट्रामाडोल र टापेन्टाडोल लगायत धेरै नार्कोटिक (मादक पदार्थयुक्त) औषधीहरू नार्कोटिक ऐन अनुसार पहिले नै सूचीमा समावेश भएका छन् । यीनको नियन्त्रण भइरहेको छ । तर, ट्रामाडोल र टापेन्टाडोलको अहिले धेरै दुरुपयोग भएको पाइकाले यसलाई नियन्त्रण गर्न कडाइ गर्नुपरेको हो ।

आवश्यक परेका बिरामीहरूलाई मर्का नपर्ने गरी अस्पताल बाहेकका फार्मेसीहरूमा यसको बिक्री वितरणमा रोक लगाइएको र यदि कसैले अवैध रूपमा बिक्री वितरण गरेको पाइए कानूनअनुसार कारबाही गरिने ढकालले बताए ।

यो कामको जिम्मा विभागले प्रहरीलाई सुम्पिएको छ । यो औषधीको कारोबारलाई लागुपदार्थ सरह मानेर सोही अनुसारको कारबाही भइरहेको प्रहरीले बताएको छ ।

यही औषधीको अवैध बिक्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद्‌ भइ निलम्बित ढाकाकुमार श्रेष्ठ पनि मुछिएका थिए । पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएपछि उनी पक्राउ परेका थिए ।

श्रेष्ठको फार्मेसीबाट ट्रामाडोल खरिद गरेका ४२ वर्षीय प्रकाश थापा मगर गएको साउन ३ गते पोखरास्थित बागलुङ बसपार्कमा समातिएका थिए । थापाले प्रहरीलाई श्रेष्ठको फार्मेसीबाट ९७ थान ट्रामाडोल खरिद गरेको बयान दिए ।

यो पनि –

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे

उक्त बयानको आधारमा जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि ढाकाकुमार श्रेष्ठ गत भदौ २७ गते पक्राउ परेका थिए । उनी असोज १० मा धरौटी बुझाएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा पनि लागुऔषधसम्बन्धी निकै मुद्दा परेका छन् । प्रहरीले विभिन्न मेडिकलहरूमा ‘अप्रेशन’ नै चलाएर यस्ता औषधी बरामद गरेको र यो क्रम देशभर नै जारी जारी रहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवम्‌ प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।

नेपाल-भारत खुला सीमाका कारण यस्ता धेरै औषधीहरू भारतबाट भित्रने गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले मात्रै हालसम्म एक लाख ९० हजार ९९६ क्याप्सुल ट्रामाडोल नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

ट्रामाडोलको प्रयोग र असर

कुनै पनि औषधीहरू बिरामीलाई निको पार्न उत्पादन गरिन्छ । यस्ता औषधी सामान्य प्रकृतिका हुँदैनन्‌ । ठूला-ठूला शल्यक्रिया (अप्रेशन) गर्दा सहनै नसक्ने पीडा हुने भएकाले यस्ता औषधी प्रयोग गरिन्छ ।

यस्ता औषधी चिकित्सकको सल्लाह बिनै सेवन गर्दा ज्यान नै जाने जोखिम हुन्छ । त्यस्तै, घातक रोग निम्त्याउन सक्ने खतरा हुने चिकित्सकहरू बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्ण भन्छन् । पारासिटामोल जस्ता सामान्य दुखाइ कम गर्ने औषधीहरू जुन चिकित्सकको सल्लाह बिना दिन मिल्छ त्यस्ता औषधीहरूले दुखाइ कम भएन भने ट्रामाडोलजस्ता कडा खालका औषधी दिइन्छ ।

डा. अम्बुज कर्ण ।

डा. कर्णका अनुसार मुख्यतः यो दुखाइ कम गर्ने औषधी हो । बिरामीले प्रयोग गर्दा पनि वाकवाकी गराउने, कब्जियत गराउने र निन्द्रा धेरै लगाउनेजस्ता केही साइड इफेक्ट हुने भएकाले बिरामी बाहेक अन्य व्यक्तिले लागु औषधको रूपमा प्रयोग गर्ने जोखिम भएकाले यसको बिक्री वितरण नियन्त्रित हुनुपर्छ ।

कुलतमा परेको व्यक्तिले नसाकै रूपमा प्रयोग गर्यो भने यसले झुम्म पार्ने, निन्द्रा लगाउने, आनन्द हुने, रमाइलो महसुस गराउँछ । लामो समयसम्म यसको प्रयोग गर्दा यसले किड्नीमा नराम्रो असर गर्छ । त्यसबाहेक पनि शरीरका अन्य अङ्गहरूमा यसले त्यत्तिकै असर गर्छ । त्यसैले यसको प्रयोग सही व्यक्तिले सही समस्याको लागि गर्नुपर्ने उनको भनाइ छ ।

‘क्यान्सरको बिरामी होस् या अन्य कुनै बिरामीमा हुने असैह्य दुखाइ कम गर्न यो औषधी बनाइएको हो । ती बिरामीहरूले सही मात्रामा चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्यो भने यसको लत बस्दैन । तर कुलतमा फसेका व्यक्तिहरूले नसाको रूपमा यसको प्रयोग गर्दा स्वास्थ्यमा धेरै असर गर्नुका साथै ओभर डोज भयो भने मृत्युसम्म भएका घटनाहरू पनि देखिएका छन्‌,’ डा. कर्णले भने ।

कतिपय बिरामीहरूलाई यी औषधी दिनु नै हुँदैन । दमका बिरामी, आन्द्राका बिरामी र अरू कुनै औषधी खाइरहेका बिरामीहरूलाई यो औषधी पनि खान दिइयो भने मुटुको चालमा परिवर्तन ल्याउनेदेखि चाल अनियन्त्रित गर्ने सम्भावना हुन्छ । त्यसैले विशेषज्ञको निगरानीमा मात्रै यसको प्रयोग गर्न डा। कर्णको सुझाव छ ।

अहिले ट्रामाडोलको बिक्री वितरणमा कडाइ गरिएको छ । त्यो राम्रो कुरा भए पनि आवश्यक परेका व्यक्तिहरूलाई असहज भइरहेको तर्फ पनि ध्यान दिनुपर्ने उनी बताउँछन्‌ । ट्रामाडोलमात्रै नभएर चिकित्सकको सल्लाह बिना बिक्री गर्न नपाइने एण्टीवाइटिक र मनोरोगीहरूले प्रयोग गर्ने औषधी बिक्री वितरणमा पनि कडाइ गर्न जरुरी रहेको उनले बताए ।

यता, विभागका महानिर्देशक ढकाल पनि यो तथ्य स्वीकार्छन् । उनी भन्छन्, ‘चिकित्सकको सल्लाह बिना दिन नपाइने ट्रामाडोलजस्ता धेरै औषधीहरू छन्, तिनको नियन्त्रण गर्न एकदमै चुनौती छ । यस विषयमा बिरामीहरूलाई पहुँचकै समस्या हुन्छ भनेर कडाइ नगरेको हो । तर यो पनि समस्याकै रूपमा रहेको छ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी लागिपरेका छौं ।’ तत्कालका लागि ट्रामाडोल नियन्त्रण गर्न आवश्यक ठानेर यसमा कडाइ गरिएको उनले बताए ।

लागु औषध तथा मादक पदार्थको रूपमा प्रयोग हुने औषधीहरू

लागुपदार्थहरूलाई मुख्य दुई भागमा विभाजन गरिएको छ । ती हुन्‌ – प्राकृतिक र औषधीजन्य ।

प्राकृतिक लागुपदार्थ प्राकृतिक रूपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरू जस्तै – गाँजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदि हुन्‌ ।

मानव जीवन रक्षाको लागि निर्मित औषधीजन्य पदार्थहरू, जसलाई चिकित्सकको सल्लाह विपरीत नसा लिन पनि दुरुपयोग हुने गरेको छ, त्यस्ता औषधीलाई औषधीजन्य लागुपदार्थ भनिन्छ ।

नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नोकफ, अल्प्राजोलम, क्लोरडियाजेपोक्साइड, क्लोजाम, क्लोनाजेपाम, डायजेपाम, फ्लुराजेपाम, लोराजेपाम, मेडाजेपाम, मेप्रोबामेट, मिडाजोलम, नाइट्राजेपाम, ओक्साजेपाम, ओक्साजोलम, फेनोबार्बिटल, फेन्टरमाइन, प्राजेपाम, ट्राइजोलम, जोल्पाइड, कोडाइन, डेक्सट्रोप्रोपोक्फेन, इथाइलमोर्फिन, इटोर्फिन, मेथाडोन, मोर्फिन, फेथिडेन, फोल्कोडिन र फेण्टानाइल लगायत औषधीहरू औषधीजन्य लागुपदार्थका रूपमा दुरुपयोग हुने गरेको छ ।
यी औषधीहरूको प्रयोग लागुपदार्थ तथा मादक पदार्थका रूपमा प्रयोग हुनसक्ने जोखिम रहने चिकित्सक बताउँछन् ।

ट्रामाडोल र टापेन्टाडोलको प्रयोगको प्रक्रिया

सरकारले ट्रामाडोल र टापेन्टाडोलको प्रयोग तथा बिक्री वितरणमा कडाइ गरेपछि यी दुईवटै औषधीहरू अहिले अस्पतालको फार्मेसीबाट मात्रै बेच्न पाइन्छ ।

जसको उत्पादनका लागि पनि गृह मन्त्रालयबाट स्विकृती लिनुपर्छ र कुन अस्पतालमा कति औषधी पठाइएको हो – त्यसको बिल कम्पनीले औषधी व्यवस्था विभागमा बुझाउनुपर्ने व्यवस्था रहेको अन्नपुर्ण न्यूरो अस्पतालमा कार्यरत फार्मासिष्ट दीपेश दाहाल बताउँछन् ।

फार्मासिष्ट दीपेश दाहाल ।

अस्पताल फार्मेसीबाट बेच्दा पनि बिरामीको नाम, उमेर, चिकित्सकको प्रेस्क्रिप्सन, त्यस्तो प्रेस्क्रिप्सन आजको होरहोइन भनी मिति हेर्ने, डाक्टरको नाम र हस्ताक्षर भएरनभएको जाँच गर्ने, डाक्टरको नेपाल मेडिकल काउन्सिल सदस्यता नम्बर (एमएमसी नम्बर) जाँच गर्ने, कति मात्रामा औषधी दिन भनेको छ – त्यो सबै कुरा बुझेरमात्रै औषधी दिने गरिन्छ ।

औषधी दिइसकेपछि एउटा छाप लगाइन्छ, जसबाट कुन औषधी कतिमा बेचेको भन्ने पनि थाहा हुन्छ । औषधी किन्ने व्यक्तिको फोन नम्बर र औंठाछाप समेत गराइन्छ, ता कि उसले अर्को औषधी पसलमा गएर त्यही औषधी किन्न नपाओस् !

तर, निजी फार्मेसीहरूबाट अझै पनि अवैधानिक रूपमा यसको खरीद बिक्री हुने क्रम नरोकिएको चिकित्सकहरू बताउँछन्‌ । नेपालमै उत्पादन हुने औषधी भन्दा पनि अवैध रूपमा भारतबाट यस्ता औषधीहरू ल्याएर बिक्री वितरण हुने गरेको छ । जसको नियन्त्रणका लागि नाकामा नै नियमन तथा अनुगमन हुन जरुरी रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ३४ बजे

पिठो तथा इन्धन अभावले गाजाका बेकरी बन्द हुने अवस्थामा 

एजेन्सी – राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : कामको शैली फेर्नुस्, अर्को बैठकमा नतिजा चाहियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक काममा

सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री

काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक

नदी किनारको थप २० मिटरसम्बन्धी मापदण्ड तत्काल कार्यान्वयन नहुने

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाका खोला किनारको थप २० मिटर

कुखुरामा गम्बोरो रोगको समस्या

चितवन– व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ