यो लोकतन्त्र हो कि लोभतन्त्र ? « Khabarhub

यो लोकतन्त्र हो कि लोभतन्त्र ?



देश लोभतन्त्रमा फसेको छ । अरु देशमा लोकतन्त्र हुन्छ, यहाँ ६ इञ्चको बाटोमा ८ इञ्चको गाडी कुदाउने गरी मित्रहरुले लोकतन्त्र स्थापना गरिदिएका छन् । वर्षैपिच्छे वैशाख ११ मा लोकतन्त्र दिवस पनि भव्यरुपमै मनाइन्छ ।

यो पंक्तिकार यसैसाता चितवन, परासी, बुटवल हुँदै अर्घाखाँचीसम्म पुग्दा साँचो अर्थमा त्यहाँ कुनै स्थानमा संघीयता देखिएन । लोकतन्त्र पनि देखिएन । हिलाम्मे र धुलाम्मे सडकभित्र पछारिएको लोकतन्त्र देशैभरिका गतिविधि हेर्दा मूच्र्छित छ भन्दा फरक पर्दैन । विकासको आधार नै सडक, यातायात हो, जुन यहाँ नाजुक छ ।

लगत्तै नुवाकोट, रसुवातिर त लोकतन्त्र पाइएला कि भनी खोज्दा त्यता पनि भेटिएन । भेटियो बरु सडकको दुर्दशा । जताततै डोजरले कोपरेको दृश्य ।

ललितपुरको लगनखेल, टीकाभैरव हुँदै लेले, नल्लु र भारदेउ हुँदै गोटीखेल र महाभारतको उकाली चढ्न मन लागेर उतातिर हानिएको, सातोपुत्लो नै उड्यो । कुइरीमण्डल धूलो अनि बाटाभरि डोजरले वन, पाखा, पखेरी खन्दै रहेछन् । गाडीको ढोका पूरै बन्द गर्दा पनि उकुसमुकुस, छारो र धूलो । बाहिर दिउसै बत्ती बाल्नुपर्ने अवस्था । सबैतिर अँधेरी मात्र । धन्न, यस्तो विषम परिवेशमा स्थानीयबासीले कसरी दिन बिताउलान् ? जति पर गयाmे हालत उस्तै । कतै सफा छैन ।

लालिगुराँसको राजधानी भनिएको देश नेपालमा पर्यटनको सम्भावना धेरै छ । तर, आन्तरिक पर्यटनको हालत यस्तो विषम छ । वाह्य पर्यटकहरुलाई के देखाउने ? हाम्रो अर्थतन्त्र राम्रो कसरी गर्ने ? पहाडका भित्ता–भित्तामा प्लटिङ भइरहेको अर्को दृश्यले कृषि प्रधान देशलाई नेताहरुले लोकतन्त्रका नाममा कुर्सी प्रधान बनाएको स्पष्ट तस्बिर त्यहीँ देखिन्थ्यो ।

केही दशकअघि त्यता जाँदा ऋतु अनुसारका कृषि बालीहरु झुलेका देखिन्थे, दूधका गाडीहरु दौडन्थे, तरकारी लगायतका सामान ढुवानी भइरहेको देखिन्थ्यो । अब त दिनहरु धेरै ढलेछन् । नयाँ पुस्तावय कोही देखिएनन् । देखिए निरस डोजरले भत्काइएका पहाड मात्र । युवापुस्ताको उठिबास लगाइसकेछ लोभतन्त्रले ।

दुई दशकअघिसम्म देखिएको ललितपुरको दुर्गम र हरियाली क्षेत्र गोटीखेल अब खण्डहर भइसकेछ । महाभारत पर्वत श्रृंखलाको लेक कालेश्वरको उचाइ चुम्ने पंक्तिकारको ध्येय अनुसार गोटीखेलको वैतरणी नदी स्नानपछि उकाली लाग्दा घुम्ती मोड्दै हैँ–हैँ गरी देउरालीसम्म हाम्रो सवारी त पुग्यो, तर धेरैको यात्रा असहज देखियो । अरु धेरै सवारी त्यहाँ पुग्न सकेनन् । यात्रुहरु बाटैमा बिचल्ली भए । माथि त बस्ने–खाने सुविधा नै छैन पनि ।

कति असहज हुँदाहुँदै हाम्रो समूह देउराली भन्ज्याङ त पुग्यो, तर वनैवन उकाली लाग्नुपर्ने । साहसी पर्यटकका रुपमा लाठीको सहाराले उकाली लाग्दाको क्षण भने अर्कै रह्यो । वसन्तको आगमन झल्काउने लालिगुराँसको जंगल ।

पहिले उखान थियो– जहाँ जंगल त्यहाँ मंगल । अब त कंक्रिटका निरस वन हेरेर दिन बिताउनु परेको छ, सहरतिर पानीको अभावमा । लोभतन्त्रले देशको पूर्वाधारलाई सलक्क निलिसकेको छ ।

ललितपुर मात्र होइन, प्युठान, रोल्पा, बाँके, राप्ती, लुम्बिनी लगायतका क्षेत्रमा देश दौडाहा गर्ने अभियान नै राखियो । तर, स्थानीय सबैको मुखबाट सुनियो, खोई हजूर, यता लोकतन्त्र, संघीयता र गणतन्त्र गुडेर आएको देखेकै छैन । उडेर आउनेले देश कहाँ देख्ला र ? यहाँ केवल पाँचतारे होटलमा पढाउन मात्रै कागजका योजनाहरु विदेशीले दिन्छन् । देशमा योजनाहरु कति बने, पन्ध्रौँ याजनामै सबै ठीक हुन्छ भनियो, सबै सूचकांक निराशाजनक छन् ।

महानगरमा पनि गरिवीको परिचयपत्र दिने गरी तथ्यांक लिन लागियो रे । तर, अरु क्षेत्रको तयार परिचयपत्रको नवीकरण भएको छैन । देश त पूरै गरीव छ, सबैलाई पचियपत्र दिए भइहाल्यो नि । जता जहाँ जसलाई भेट्दा पनि यस्तै–यस्तै आम धारणा राखे पंक्तिकारसँग ।

मधेस प्रदेशका गृहमन्त्रीले ०७५ सालमा ३२६ पल्ट र ०७६ सालमा ३३० पल्ट गरी १६ लाख ४० हजार त भत्ता मात्रै बुझेछन्, राजनीतिकर्मीहरुलाई यति उर्बर भएको लोभतन्त्र विश्लेषकहरुको नजरमा भने फाट्टफुट्ट मात्रै राम्रो भएको छ, अधिकांश जनमानसमा पीडा भरेको छ, यसले प्रसुती गृहदेखि घाटसम्म कर तिर्नु परेको छ र नजन्मदै ८० हजारको ऋणभार पनि हाम्रो लोभतन्त्रले बोकाइसकेको छ ।

देश धनी थियो कृषिमा, धर्ममा, संस्कृतिमा संस्कारमा पनि । पर्यटन क्षेत्रमा अब्बल नै थियो । वन, जंगल, वन्यजन्तु, जडिबुटी, हराभरा तराई अनि सिंगो हिमाल सेतो सुनको राशी कति थिए राम्रा दृश्यहरु । विश्वमै दूर्लभ लुण्डेसी र क्वानियम प्रजातिको रैथाने गुराँस यहीँ पाइन्छ । मुस्ताग, मनाङ, डोल्पादेखि रसुवा लाङटाङसम्म भरिभराउ नै छन् यी । देशका ४३ जिल्लामा थरिथरिका लालिगुराँस पाइन्छन्, जसबाट मनमोहक प्रकृति देखाएर यहाँ पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । जैविक विविधताले चिनिएको देशमा पाटेबाघहरु छन् । गैँडा, अर्ना, हात्ती, डाँफे, मुनाल कति छन् ।

यहाँ ६ हजार बढी पहिचान भएका वनस्पति छन् । सुनपाती, कालो गुराँस, सेतो, रातो थरिथरिका गुराँस पाइन्छन् वसन्त ऋतुमा । पूर्वको तेह्रथुम वा संखुवासभामा घुमौँ वा, ताप्लेजुङ नै पुगौँ, ढपक्कै देखिन्छ वन लालीगुराँसले ।

इलामको श्रीअन्तु वा फिक्कल, आइतबारे पुगौँ वा झापाको बुधबारे, शनिश्चरे पुगौँ या महेशपुरको किच्चक्बध । यी क्षेत्रमा देशको इतिहास, पाइन्छ । मौलिकता र महाभारतकालीन अवशेषहरु । कति सुन्दर छ हाम्रो ग्रमीण पर्यटन । कति रमाइलो छ होम स्टे । बस् ६ लाख ९२ हजार हेक्टर जमिनको वनले ढाकेको हाम्रो नेपालमा १० प्रतिशत त लालिगुराँस नै पाइन्छ ।

विश्वको चर्चा गर्नु पर्दा गुराँस नै १ हजार १५७ प्रजातिका रहेका छन्, एसिया, उत्तर अमेरिका, युरोप, अष्ट्रेलियामा पनि छन् गुराँस । ९० प्रतिशत नेपाल चीन, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, भियतनाम, इन्डोनेसिया, फिलिपिन्समा भेटिन्छन् ।

समुद्र सतहबाट १ हजार देखि ६ हजार मिटरसम्मको उचाइमा गुराँसको सम्भावना रहने वैज्ञानिकहरुको तर्क छ । करिव ३ हजार मिटरको उचाइमा उक्लँदै गर्दा पंक्तिकार महाभारतको वन जंगलबाट मोहित भएको हो ।

कालेश्वरको डाँडाभरि लालिगुराँसमा भुल्नेहरु धेरै देखिन्थे । पर्वत शिखरबाट उत्तर हिमाली दृश्य र दक्षिण मकवानपुर तराईक्षेत्र बडो मजाले दृश्यावलोकन गर्दागर्दै कुहिरोले ढाकेकाले दृश्यावलोकन अधुरै रह्यो हाम्रो । गर्मी महसूस गरिरहेका हामीले क्षणभरमै जाडो महसुस गर्नु परेको थियो । यति सहज मौसम छ हाम्रो । अरु देशको जस्तो निरस बालुवा ५५ डिग्री सेल्सियसको तापक्रम, त्यसमै हाम्रा संगीसाथीहरु भेडा चराउँदैछन् खाडीमा । कम से कम यो देशमा यति कठोरता कतै छैन ।

बुझ्ने यो देश श्रीखण्ड नै हो तर लोभतन्त्रले देशलाई हरिबिजोक गराएको छ, अझै सपना बाँड्न छोडिएको छैन । पहाड आफैं संसारको अग्लो भ्यूटावरभन्दा कम छैन, कमिसनको लोभमा कंक्रिटका भ्यूटावरहरुले देशलाई हरिबिजोक गराएको छ, व्यापार घाटा र आन्तरिक अनि वाह्य ऋणमा डुबाएको छ ।

गुराँसको फूलबाट जुस बन्न सक्छ, निर्यात हुन सक्छ । तर, हाम्रो बेहोसीपना छ । दाउराको प्रयोग, काठ नै चोरी निकासी, चरिचरनले उजाड अनि वन कोतर्ने वडाअध्यक्षहरुको डोजर ल्याइदिएको छ लोभतन्त्रले । वनलाई सहर बनाउने कल्पना गरेको छ, जसबाट भूक्षय, बाढीपहिरोको दर्दनाक घटना बढेका छन् । कृषि बाली उजाड छ । पानीको मुहान सुकेको छ । त्यति पर पुग्दा पनि नक्कली सहरबाट लगिएको बोतलको पानी पिउनु पर्दा धेरै दुःख लाग्यो । यात्राभरि नै, दही मोही त कतै भेटिएन । कोक र फ्यान्टाका बोतलहरु जताततै सजाइएका देखिन्थे मल्टिनेशनल कम्पनीका । खेतबारीमा काम गरिने अवस्था देखिएन । भएका मान्छेहरु धुलाम्मे कच्ची बाटाको साइडमा बसेर क्यारिमबोर्ड खेल्दै गरेको दृश्य टीठलाग्दो थियो ।

जनतामा चरम निराशा, आर्थिक मन्दी, बेरोजगारीका पीडा छन् । ठालुहरुको अर्ती उपदेश, दलीय हानाथाप, कुशासन र भ्रष्टाचार अनि आफ्नो देवत्वकरण र गहुँत पानी छर्कने प्रवृत्ति छ । सनातन धर्ममाथिको व्यापक आक्रमण छ । सांसदहरुको राहदानी दुरुपयोग भइरहेको छ । पुरुष सांसदहरु सुत्केरी भत्ता लिन्छन् । नातागोता नपुगेर गर्लफ्रेण्डलाई समेत कुर्सी दिलाउँछन् ।

भागबण्डाका लागि दलको सिद्धान्तलाई बिर्सने र स्वार्थका लागि कानुनलाई संशोधन गरिदिने चरित्र बोकेको लोकतन्त्रभित्र निसास्सिएको छ हाम्रो देश । चैत्र महिना त्यो पनि २४ गते अनि वैशाख ११ गते सम्मका अतीतका दिनहरुलाई सम्झेर रुनु बाहेक नेपालीहरुको अरु बल के नै छ र ? श्रीहरुका लागि मात्र आएको लोकतन्त्र दिवस श्रीहरुले मनाउँदा राम्रो नै हुन्छ, बाँकीहरु त आम निर्वाचनकै दिन पनि झोला बोक्दै ऋण गरेर एयरपोर्ट पुगेकै हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : ३७ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका