काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी आपूर्ति गर्न कूटनीतिक पहल भएको र १६० वटा अतिरिक्त बुलेट उपलब्ध गराउनसकारात्मक प्रतिक्रिया आएको जानकारी दिएका हुन् ।
उनले कृष्णभीरको सडक दुईतर्फी खुलाउन पहल भइरहेको र ग्यास बुलेटहरू भित्रिन थालेपछि स्थिति सहज हुने तथा पुरानै दरमा वितरण हुने जानकारी दिए ।
हाल दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखिएकोमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा सिलिन्डर वितरण भइरहेको उनले बताए ।
उनले काठमाडौँका खाली सिलिन्डरहरू ट्रकमा बोकेर तराईका उद्योगहरूमा लगी तीनवटै सिफ्टमा चलाएर रिफिलिङ गराई त्रिभुवन राजपथ हुँदै भित्र्याइएको जानकारी दिए ।
उनले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर हुनेहरूले पनि लाइन बसेर थप स्टक राख्न खोज्दा समस्या जटिल बनेकाले तत्काल आवश्यक नहुनेहरूलाई अनावश्यक लाइन नबस्न आग्रह गरे ।
एउटा मात्र सिलिन्डर भएका, डेरामा बस्ने विद्यार्थी, सुत्केरी, गर्भवती तथा निम्न आय भएका वर्गलाई पहिलो प्राथमिकता दिन आग्रह गरिएको उनको भनाइ छ ।












प्रतिक्रिया