समाचार

आजका समाचार : टुंगिएन सरकारको साझा कार्यक्रम, सहकारी ठगीमा धनराज, बैंकिङ कसुर विधेयक पारित

By खबरहब

September 09, 2024

सत्तारुढ दलका नेताको बैठक : न्यनूतम साझा कार्यक्रम टुंगो लगाइँदै

सत्ता साझेदार दलका शीर्ष नेताहरूसहितको प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठकमा सरकारमा सहभागी सबै दल उपस्थित भएका छन् ।

सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले छलफलबाट न्यूनतम् साझा कार्यक्रमबारे निर्णय गर्ने बुझिएको छ ।

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताएका हुन् ।

परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन्

परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर जाने बताइन् ।

प्रस्तावित थप चार राजदूतको सुनुवाइ, यस्ता छन् उनीहरूका कार्ययोजना

पूर्वउपसभामुख यादव अष्ट्रेलियाका लागि राजदूत बन्दै

सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोप लागेको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको हो ।

रविले स्वीकारे- गोर्खा मिडियामा गलत बाटोबाट सहकारीको रकम आएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेट्ववर्कमा गलत ढंगले सहकारी संस्थाको रकम आएको स्वीकारेका छन्।

सोमबार धनगढीमा पत्रकारहरूसँगको सम्वादका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम लगानीका रुपमा आएको स्वीकारेका हुन् ।

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारी संस्थाको रकम आएको कुरा ठीक हो,’ उनले पत्रकारहरूलाई भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्‍यो भन्ने कुरा अदालतमा प्रवेश गरिसकेको छ। क-कसले बदमासी गरेका थिए भन्ने अब स्पष्ट भइसकेको छ।’

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल

प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

सांसदहरूले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौँ उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने उल्लेख गर्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गरिन् ।

पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ?

दीक्षान्त रोकिएकोमा आपत्ति जनाउँदै सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न

धनराजबारे रास्वपाको जिकिर- सहकारीको बचत हिनामिना लुकाउन सम्बन्ध विच्छेद गरियो

संसदमा रास्वपाको प्रश्न : उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ?

नेपाल विश्वविद्यालय विधेयक पारित

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छ : सांसद केसी

नदीकिनारका जग्गाको फैसलाविरुद्ध पुनरावलोकनमा जानुपर्छ : रघुजी पन्त

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन : सांसद तामाङ

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त विधेयकलाई संशोधन सहित पारित गरेको हो । २०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गर्नुभएको थियो ।

सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको एक सय ११औँ बिपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा उनले सङ्खुवासभाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोगमार्फत शिर उच्च हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री कान्छाराम रामेछाप पुग्दा उनकै कार्यकर्ताले देखाए कालोझन्डा

बागमती प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) गृहजिल्ला रामेछाप पुग्दा उनकै कार्यकर्ताले कालोझन्डा देखाएका छन् ।

१११ औँ बीपी जयन्त मनाउन सोमबार रामेछाप पुगेका कान्छारामलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

पहिलो पटक संघीय संरचनाअनुसार विधान बनाउँदै तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको विधान संशोधन मस्यौदा समितिले अध्यक्ष विद्वान गुरुङलाई संशोधित मस्यौदा बुझाएको छ । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसर पारेर समितिले अध्यक्ष गुरुङलाई विधानको मस्यौदा बुझाएको हो ।

तरुण दलको ०८० चैत्र १५ र १६ मा बसेको बैठकको निर्णयअनुसार अध्यक्ष गुरुङले गत जेठ १८ गते विधान संशोधन मस्यौदा समिति गठन गरेका थिए । विधान मस्यौदा समितिले विभिन्न चरणमा मातृ पार्टीका नेताहरू र तरुण दलका पूर्व अध्यक्षहरूसँग राय-सुझाव लिएको थियो ।

प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार

प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डामा पदभार ग्रहण गरेका हुन्।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।

त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण पनि गरेका छन् ।

विपुल पोखरेलले पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिए

विपुल पोखरेलले नेपाल पत्रकार महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

समयमा महासंघको महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न असफल पोखरेलले राजीनामासँगै कार्यबाहकको जिम्मेवारी रमेश विष्टलाई दिएका छन् ।

कोरोना बीमा भुक्तानीबारेको रिटलाई अग्राधिकार, कारण देखाऊ आदेश

कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटले अग्राधिकार पाएको छ ।

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार दिएको छ ।

सुरुङमार्ग नजिकै पहिरो, काठमाडौं आइरहेको गाडी आधा पुरियो

मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ ।

काठमाडौं आइरहेको एउटा यात्रु गाडीलाई धादिङको नौबिसेस्थित सडकको माथिबाट खसेको पहिरोले पुरेको हो ।

सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा अहिले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

पहिरोमा एउटा स्करपियो गाडीपरे पनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ ।

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल

ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको बाटोमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेर बजारिएको छ ।

सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको गुडिरहेको माइक्रो बसलाई बिजुलीको पोल ढलेर किचेको हो ।

अन्तर्राष्ट्रिय…

भेनेजुएलाका विपक्षी नेता गोन्जालेज देशबाट भागेर स्पेन पुगे

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु

भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

खेलकुद…

एन्फा महिला लिगमा वालिङको दोस्रो जित

पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक, को-को परे ?

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

राखेप निर्देशक चयनमा विवाद : उपनिर्देशक संगीना वैद्यको राजीनामा