विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज पुस २५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १०, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा आठ सय महिला जेलमा
अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ ।

कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल ८०० महिलासहित करिब १९ हजार कैदीहरू छन् । फरक-फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ ।

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए ।

उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन् । टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दावी गरे ।

केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले उल्लेख गरेको छ ।

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिवान प्रशासनले लिएको गैर(जिम्मेवारपूर्ण कदम हो ।

अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गर्नुपर्ने कडा नियम लगाएको छ ।

तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ ।

भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त
सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका लिबरल पिपुल्स डेमोक्रयाटिका पार्टी ९पीडीपी० ले मंगलबारको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले बुधबार जनाएको छ ।

भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका हुन् । पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो ।

भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए । जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गरेका छन् ।

पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गर्नुभएका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी रहेका छन् ।

वर्तमान राजाको शासनकाल सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसद्मा टोब्गे विपक्षी दलका नेता पनि थिए ।

पाकिस्तानमा आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको अस्पतालमा लगेका थिए ।

पाकिस्तानी सेना तथा सुरक्षाकर्मीले सम्बन्धित क्षेत्रमा उच्च सुरक्षाका साथ आक्रमणकारीहरूको खोजी सुरु गरेको छ ।

आक्रमणपछि आक्रमणमा संलग्न व्यक्तिहरू नजिकैको पहाडी क्षेत्रमा भाग्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

बंगलादेशका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद पदको सपथ लिएका छन् । सांसदहरूलाई बंगलादेशको संसद्का सभामुख शिरीन शर्मिन चौधरीले सपथ ग्रहण गराएका थिए ।

समारोहमा अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले पनि शपथ लिएका थिए । निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको अवामी लीग पार्टीले २९८ मध्ये २२२ सिट जितेको छ ।

आवामी लीग नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । आम चुनावमा भारी जित हासिल गरेको हसिनाको सत्तारुढ अवामी लीग पार्टीले जनवरी ११ मा नयाँ मन्त्रिमण्डल गठन गर्ने क्याबिनेट डिभिजनका एक वरिष्ठ अधिकारीले बताए ।

प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गराउने निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा हुनेमा आशंका व्यक्त गर्दै बङ्लादेश नेशनल पार्टीलगायतका प्रमुख विपक्षी दलहरूले गत आइतबार सम्पन्न निर्वाचनमा भाग लिएका थिएनन् ।

इक्वेडरको जेलबाट ३९ कैदी फरार
इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विस्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए।

प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए ।

फरार हुनेमा ‘लस लोबोस’ आपराधिक संगठनसंग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ । अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् ।

रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दङ्गा भड्किनुका साथै सोमबार राति र मंगलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।

सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कफ्र्यूसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।

सन् २०२३ मा बिएमडब्ल्यू पच्चीस लाख साठी हजार कार बिक्री गर्न सफल

जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको जनाएको छ ।

ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, ‘हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं । यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ ।

गोलरले भने, ‘हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।’

चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४.२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार