अर्थसंक्षेप : ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स, अर्थतन्त्रका सबै सूचक सकारात्मक  | Khabarhub Khabarhub

अर्थसंक्षेप : ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स, अर्थतन्त्रका सबै सूचक सकारात्मक 


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ । यता लगातार वर्षाका कारण नागढुङ्गा सुरुङमार्ग अन्तर्गत फ्लाइओभर निर्माण रोकिएको छ ।

यस्तै, बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ भने  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित गरेको छ । यसरी नै पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू : 

बढ्दो रेमिट्यान्स, ११ महिनामा सवा १३ खर्ब नाघ्यो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

नेपालको आर्थिक अवस्था : वाह्य अधिकांश सूचक सकारात्मक

नेपालको अर्थतन्त्रका वाह्य अधिकांश सूचक सकारात्मक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कले नेपालको अर्थतन्त्रसँग सम्बन्धित अधिकांश बाह्य सूचक सकारात्मक भएको देखाएको हो ।

कुल विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघ्यो 

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ ।

२०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो

लगातार वर्षाका कारण नागढुङ्गा सुरुङमार्ग अन्तर्गत फ्लाइओभर निर्माण रोकिएको छ ।

काठमाडौंको बलम्बुमा निर्माणाधीन फ्लाइओभरमाथि गाडी गुड्ने ‘सुपरस्ट्रक्चर’ र बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने बिन्दु टुटीपाखा सम्मको पहुँच मार्गमा कालोपत्रे गर्ने काम रोकिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठले बताए ।

बलम्बुदेखि टुटीपाखासम्म साढे २ किलोमिटर लामो उक्त पहुँचमार्ग कालोपत्रेको काम यसअघि ५० प्रतिशत सम्पन्न भइसकेको थियो । त्यस्तै, गाडी गुड्ने सुपरस्ट्रक्चरको काम पनि ६० प्रतिशत पूरा भइसकेको थियो । तर, पछिल्ला दिनमा लगातार पानी परिरहेकाले फ्लाइओभरतर्फका काम अवरुद्ध हुन पुगेको श्रेष्ठले बताए ।

२३ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ७४ करोड 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । बुधबार एकै दिन नेप्से २३ अंकले बढेको छ । नेप्से १.०८ प्रतिशतले बढेर १२७५.४० विन्दुमा पुगेको छ ।

बुधबार नेप्से बढ्दा निर्जीवन बीमामा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार एकै दिन निर्जीवन बीमा समूह १४१.१६ अंकले बढेर ११ हजार ३०.३१ विन्दुमा पुगेको छ । समूहअन्तर्गत गुमाउने समूहमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । बुधबार विकास बैंक समूहका लगानीकर्ताले १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा पनि उछाल आएको छ । बुधबार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ७१४ पटक नेप्सेमा शेयर किनबेच भएको छ ।

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित गरेको छ । शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने घोषणा गरिएको कम्पनीको आईपीओ कम्पनीको आर्थिक अवस्थासम्बन्धी विवरणहरूमा विवाद भएपछि स्थगित गरिएको हो ।

सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीको आईपीओ अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय बोर्डले गरेको बताए । ‘कम्पनीको आर्थिक विवरणसँग सम्बन्धित विषयहरू विवादित बनेपछि र केही सरोकारवालाहरूले बोर्डमा निवेदन दिएपछि अर्को निर्णय नभएसम्म सो कम्पनीको आईपीओ निष्कासन गर्ने विषय स्थगित भएको छ’, प्रवक्ता डा. अधिकारीले भने ।

साथै संसद्को सार्वजनिक लेखा समितिले माग गरेको ५ वटा विषयको जवाफ दिने बोर्डले गरेको उनले बताए ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलायन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

बढ्दैछ प्लाइउड निर्यात, पछिल्लो नीतिले उद्योग नै बन्द हुने जोखिम

अहिले नेपालबाट प्लाइउड निर्यात बढ्दो छ । केही समय अघिसम्म शून्य रहेको प्लाइउड निर्यात गत आर्थिक वर्षदेखि बढ्न थालेको हो । भारतीय बजारमा नेपाली प्लाइउडको माग उच्च छ । भन्सार विभागका अनुसार पछिल्लो २३ महिनामा मात्रै नेपालबाट साढे ११ अर्ब रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको तथ्याङ्क छ ।

२०७९ को साउनदेखि २०८० असारसम्म ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । २०८० साउनदेखि २०८१ असारसम्म ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको प्लाइउड भारतीय बजारमा पठाइएको छ ।

त्यस अघिका वर्षहरूमा झिनो परिमाणमा मात्रै प्लाइउड निर्यात हुने गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा जम्मा एक करोड ४६ लाख रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । त्यसको ठिक पछिल्लो आर्थिक वर्ष २०७८÷७९ मा  ३५ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भयो ।

प्लाइउड काठबाट बनाइएको पाता हो, जुन पातला पानाहरू जोडेर बनाइएको हुन्छ । अहिले नेपालमा ८० भन्दा धेरै प्लाइउड कम्पनीहरू छन् । अधिकांश उद्योगमा नेपाली कच्चापदार्थ नै प्रयोग गरेर प्लाइउड उत्पादन भइरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताउँछन् । अहिले नेपालबाट प्लाइउड मात्र नभएर प्लाइउड बनाउने कच्चा पदार्थ पनि निर्यात हुने गरेको उनको भनाइ छ ।

घिमिरेले भने, ‘नेपालमा सबै कुरा सम्भावना भएर पनि काम गर्न नसक्ने यो सरकार र राज्यको नीतिबाट व्यवसायीहरू जहिल्यै पिसिँदै आएका छन् । भारतले यसअघि लगाएको निर्यात प्रतिबन्ध हटाए पनि नेपालको नीति र व्यवस्था नेपाली उद्योगीहरूको बाधक बनिरहेको छ ।’

दुग्ध किसानले पाए सोह्र लाख अनुदान

गलकोट जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दूधमा भने प्रतिलिटर २.५ अनुदान दिँदै आइएको उनले जानकारी दिए ।

यस वर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको रु २४ लाखमध्ये १६ लाख ४२ हजार रकम सोझैँ किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए। अनुदान पाउन एउटै संकलन केन्द्रले दैनिक दुई सय लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रूपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए ।

नौबिसे–मलेखु सडक आजदेखि राति बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।

आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएकाले राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए ।

नौबिसे–नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए । गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ३० बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको