एमालेका मन्त्री : सुन तस्करको वकालतदेखि ‘मानव तस्कर’को अभियोगसम्म | Khabarhub Khabarhub

एमालेका मन्त्री : सुन तस्करको वकालतदेखि ‘मानव तस्कर’को अभियोगसम्म

लीलाबल्लभ अधिकारीको विचलन : कम्युनिस्ट कुहिँदा दुर्गन्ध !


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, खुवा (कुराउनी) कुहियो भने असाध्य गन्हाउँछ । गरीब जनताको पक्षमा वकालत गर्ने कम्युनिस्ट बिग्रियो भने त्यस्तै गन्हाउँदोरहेछ । यसको पछिल्लो दृष्टान्त बनेका छन्– नेकपा एमालेका तर्फबाट कोशी प्रदेशका निवर्तमान गृह तथा कानूनमन्त्री एवं प्रदेश सांसद लीलाबल्लभ अधिकारी ।

एमाले नेता अधिकारी मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषदमा अधिकारी आन्तरिक मामिला एवं कानून मन्त्री थिए । प्रदेशको आन्तरिक मामिला मन्त्रीलाई गृहमन्त्रीसरह मानिन्छ ।

मानव तस्करीको अभियोगमा मुछिएर मन्त्रीपदबाट राजीनामा दिएलगत्तै अधिकारीलाई आइतबार प्रहरीले घरैबाट पक्राऊ गरेको छ

गत साता जापान भ्रमणमा गएका मन्त्री अधिकारीलाई जापानको अध्यागमन विभागले डिपोट गरेर काठमाडौं फर्काइदिएको थियो । उनले साथमा लगेका खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटालाई पनि जापान सरकारले नेपाल फिर्ता पठायो ।

मन्त्री अधिकारी कोशी प्रदेश मन्त्रिपरिषदको अनुमति नलिई तीनजना युवालाई साथमा लिएर जापान भ्रमणमा निस्केका थिए । नेपाल फर्कनासाथ पक्राउ परेका तीन युवाको वयानका आधारमा मन्त्री अधिकारीलाई गिरफ्तार गरिएको प्रहरी स्रोतले जनाएको छ ।

मन्त्री अधिकारीले आफ्नो साथमा लगेका युवाको नक्कली सरकारी परिचयपत्रसमेत बनाएको अनुसन्धानबाट खुलेको छ । नक्कली परिचयपत्रमा मन्त्री अधिकारीकै हस्ताक्षर छ ।

पक्राउ परेका व्यक्तिहरुले प्रहरीलाई दिएको वयानअनुसार मन्त्री अधिकारीको अगुवाइमा युवाहरुबाट १० देखि १३ लाख रुपैयाँसम्म बुझेर जापान लगेर छाड्ने योजना बनाइएको थियो । तर, बहालवाला मन्त्रीबाटै मानव तस्करी भएको सुइँको पाएपछि जापान सरकारले आफ्नो विमानस्थलबाटै डिपोट गरिएपछि मन्त्री अधिकारीको अपराध छताछुल्ल भयो । लाज छोप्ने कुनै उपाय नभएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरे ।

उता, नेकपा एमालेले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यता लगायत कुनै पदमा नरहने गरी निलम्बन गरेको छ ।

गम्भीर प्रकारको फौजदारी अभियोगमा पक्रऊ परेका अधिकारी अब प्रदेशसभा सदस्य पदबाट समेत स्वतः निलम्बनमा पर्नेछन् ।

को हुन् लीलाबल्लभ ?

मोरङको एमाले राजनीतिमा लीला बल्लभ अधिकारी पुरानै नाम हो । उनी साबिकको अमरदह गाउँपालिका निवासी हुन् । ०७४ सालमा प्रदेशसभा सदस्य बन्नुअघिसमम उनी बिराटगरमा वकालत (कानून व्यवसायी) पेशा गर्थे । उनी आफूलाई गरीबको वकिल भएको दाबी गर्थे । क्लाइन्टहरुलाई समेत ‘कमरेड’ भनेर सम्वोधन गर्थे ।

बिराटनगर निवासी एमालेका एकजना पुराना नेताले खबरहबसँग भने, ‘उनी विगतमा एमालेभित्र ‘क्रान्तिकारी’ व्यक्तिका रुपमा परिचित थिए । निकै क्रान्तिकारी कुरा गर्थे, तर कहिलेदेखि यत्तिसाह्रो बिग्रिए, पत्तै भएन ।’

एमालेका पुरानै नेता भइकन पनि उनले राज्यका पदहरुमा भने ०७४ अघि खासै अवसरहरु पाएका थिएनन् । विगतमा एमालेभित्र नौलो जनवादी धारका रुपमा रहेको सीपी मैनालीको पक्षमा लागेको भन्दै संस्थापन पक्षले उनलाई अवसरहरु खासै नदिएको कतिपय एमाले नेताहरुको बुझाइ छ ।

तर, पछिल्लो समयमा ओली समूहका ऋषिकेश पोखरेलको साथ लिएर लीलाबल्लभले ०७४ मा प्रदेशसभा सदस्यको टिकट पाए । कांग्रेसभित्र अन्तरघात हुँदा फ्याट्ट चुनाव जिते । अनि ०७९ को चुनावमा पनि उनले मोरङ–२ (ख) बाटै चुनाव जिते र प्रदेशको कानुन मन्त्रीसमेत बन्न सफल भए ।

अधिकारीले ०७९ को चुनावमा नेपाली कांग्रेसका विनोद कार्कीलाई हराएका थिए । विनोदले १४ हजार ९५२ मत पाउँदा अधिकारीले १७ हजार ७५२ मत पाएका थिए ।

निवर्तमान मन्त्री अधिकारीकी पत्नी विराटनर महानगरपालिकामा कार्यरत कर्मचारी हुन् । उनले एक समय महानगरको सहकारी विभाग हेर्थिन् । सहकारी ठगीका विषयमा विभिन्न मिडियामा अन्तरवार्ता र लेखहरुसमेत प्रकाशित गर्थिन् ।

त्यही बिरानगरमा यतिबेला लीलाबल्लभ अधिकारीका सिनियर नेता सांसद ऋषिकेश पोखरेलकी पत्नी अध्यक्ष रहेको सहकारी ठगी प्रकरण सतहमा आएको छ । सहकारी चलाउने पनि एमाले, नियमन गर्ने ठाउँमा पनि एमाले रहेको त्यो अवस्था संयोग मात्रै हो या आपसी ‘कनेक्सन’ थियो ? यो भने अध्ययन–अनुसन्धानको विषय हो ।

कुहिने क्रम कहिलेबाट ?

त्यसो त प्रदेशसभा सदस्य भइसकेपछि एमाले नेता लीलाबल्लभ अधिकारीको व्यवहारमा एकाएक परिवर्तन आउन थालेको र विभिन्न विवादमा मुछिन सुरु भएको जिल्लाका एमाले नेताहरुको विश्लेषण छ । महानगरका एक एमाले नेताले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने,‘बिराटनगर महानगरमा गोपाल रेग्मी कार्यकारी प्रमुख भएका बेलामा लीलाबल्लभकी पत्नीमाथि भ्रष्टाचारको आरोप लाग्यो । तर, पार्टीले यताउता गरेर त्यसलाई मिलायो ।’

ती एमाले नेता भन्छन्, ‘त्यतिबेलैदेखि वकिल भएको नाताले ठेकदारहरुको मुद्दा लिने र उता महानगरमा पत्नीमार्फत् सेटिङ मिलाउने क्रम चलेको हामीले अनुमान लगाइसकेका थियौं, तर पार्टीले सचेत गराउने भन्दा पनि प्रदेशको टिकट दिने, सांसद र मन्त्री बनाएर पुरस्कृत गर्नेतर्फ लाग्दा अहिलेको अवस्था आयो ।’

त्यसो त ०७४ पछि प्रदेशसभामा बोल्ने क्रममा अधिकारीले ३३ किलो सुन प्रकरणमा तस्करको पक्षमा सभामै बोलेको एमाले नेता सम्झन्छन् । ती एमाले नेता भन्छन्,‘त्यसबेला सुन तस्करको पक्षमा बोलेपछि एमालेले उनलाई तीन महिनासम्म बोल्न नपाउने गरी अनुशासनको कारवाही गरेको थियो । तर, अधिकारी सच्चिनु त परै जाओस्, मन्त्री बनेपछि उनीमाथि सरकारी छाप नै प्रयोग गरेर मानव तस्करीको धन्दा चलाएको अभियोग लागेको छ । यो हर्कतले पार्टीलाई बदनाम गर्ने काम गरेको छ ।’

रंगेली बजारका एकजना अग्रवाल थरका सुन व्यवसायीसँग अधिकारीको निकट सम्बन्ध रहेको आर्थिक लेनदेनसमेत हुने गरेको एमालेकै नेताहरुको आरोप छ । सुन व्यवसायीहरुसँगको यही कनेक्सनकै कारण उनले अघिल्लो कार्यकालमा सुन तस्करको पक्षका वकालत गरेको उनकै पार्टीका नेताहरु बताउँछन् ।

बिराटनगरको मुनालपथमा डेरा बस्दा अधिकारीले घरेबेटीसँग घरको स्वामित्वमै विवाद गरेको एमालेका ती नेता बताउँछन् । आफ्नो घर हुँदाहुँदै डेरामा बस्छु भन्दै प्रदेशसभाबाट भत्ता लिएको देखि लिएर सालोलाई निजी सचिव बनाएको सम्मका आरोप अधिकारीमाथि लाग्दै आएको ती नेताको भनाइ छ ।

पार्टीको ‘एक्शन’

अहिले नेकपा एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा पूर्वसांसद घनश्याम खतिवडा छन् । बिराटनगरका प्रभावशाली नेता विनोद ढकाललाई हराएर खतिवडा प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । सादगी नेताको छवि बनाएका अध्यक्ष खतिवडाले लीलाबल्लभ अधिकारीलाई दबाव दिएर मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीबाट तत्कालै हटाएका छन् । पार्टीभित्र लुकेका भ्रष्टप्रति कडा रुपमा प्रस्तुत हुने खतिवडाले संकेत गरेका छन् ।

प्रदेशमन्त्री अधिकारीविरुद्ध कडा रुपमा प्रस्तुत भए पनि  प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलकी पत्नी जोडिएको सहकारी प्रकरणमा भने एमालेका प्रदेश अध्यक्ष खतिवडा खरो रुपमा प्रस्तुत हुन सकेका छैनन् ।

अध्यक्ष खतिवडा पनि ऋषिकेशजस्तै केपी ओली निकट नेता मानिन्छन् । तर, उनको सम्बन्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि राम्रो छ र त्यही बलमा उनले प्रदेश अध्यक्षमा विनोद ढकाललाई हराएका थिए ।

मोरङ २ मा एमालेलाई धक्का !

नेकपा एमालेको आन्तरिक राजनीतिमा यसलाई एउटा दुर्भाग्य नै मान्न सकिन्छ कि मोरङ क्षेत्र नम्बर–२ बाट संघ र प्रदेश दुबै तहमा निर्वाचित बनेका जनप्रतिनिधि विवादमा फसेका छन् ।

प्रतिनिधिसभामा निर्वाचत एवं लेखा समितिको सभापति रहेका ऋषिकेश पोखरेल श्रीमतीले सहकारी अपचलन गरेको आरोपमा विवादित बनेका छन् । त्यहीँबाट प्रदेशसभामा निर्वाचित अधिकारी त झनै मन्त्री पदको दुरुपयोग गरेर मानव तस्करीको धन्दामा लागेको अभियोगमा मुछिएका छन् । यसले गर्दा आगामी चुनावमा मोरङ–२ मा एमालेलाई नेतृत्वको संकट आउन सक्ने पार्टीका जिल्ला नेताहरुको विश्लेषण छ ।

के भन्छन् अधिकारी ?

उता, मानव तस्करीको आरोपमा प्रहरीको फन्दामा फरेका निलम्बित एमाले मन्त्री अधिकारीले आफैं ठगिएको प्रतिक्रिया दिएका छन् ।

यो पनि–
पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : १६ बजे

अनुमति नलिई क्यासिनो सञ्चालन गरे सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने

काठमाडौं–  सरकारले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिई क्यासिनो

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई

ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको सीप, अनुभवलाई युवा

कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता  

काठमाडौं– लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर