सिद्धान्तको मलामी, निष्ठामा खरानी | Khabarhub Khabarhub

सिद्धान्तको मलामी, निष्ठामा खरानी



सरकारी संयन्त्रमा पँजनीका विषयमा दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको थियो। चुरो कुरोमा सहमति नजुटेपछि जलपानसँगै रमरम बनेका नेताहरु अनौपचारिक ख्यालठट्टामा उत्रिए।

शेरबहादुर देउवा : मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो।

केपी ओली : तपाईंका बा के बहादुर मेरा बाको त कुरै बेग्लै। पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट निस्कनुहुन्थ्यो।

पुष्पकमल दाहाल : तपाईंका कुरामा पटक्कै दम भएजस्तो लागेन। लौ सुन्नुस् मेरा बा एकपटक बाथरुममा लड्नु भएछ। अनि त के समाउँ के समाउँ हुँदा धाराको टुटीबाट फोर्ससँग आइरहेको पानीको लहरो च्याप्प समातेर जुरुक्क उठ्नु भएछ।

तीनवटा प्राइभेट लिमिटेड पार्टीका म्यानेजर देउवा, ओली र प्रचण्डले सहमतिको आवरणमा तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा ३४ वर्षीय गाब्रिअल अटल समृद्ध फ्रान्सको प्रधानमन्त्री निर्वाचित भएका छन्।

तीनवटा प्राइभेट लिमिटेड पार्टीका म्यानेजरले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा ३४ वर्षीय गाब्रिअल अटल समृद्ध फ्रान्सको प्रधानमन्त्री निर्वाचित भएका छन्। २९ वर्षमा शिक्षामन्त्री भइसकेका असाधारण तार्किक क्षमताका अटललाई विश्व राजनीतिमै आशाको सत्पात्रका रुपमा हेरिएको छ। नेपालका नेतालाई सुन्न अरुचि लाग्ने फ्रान्सको खबरसँगै मुगुका जनता नुनको कोटा बढाइदिन माग गरी सीडीओ कार्यालय घेर्न गएको खबर प्रतिस्पर्धामा छ।

त्यसबाहेक पुर्पुरोमा राजर्षी हुने भाग्य, भविष्य त्यागेर सन्यासी जीवन रोजेका सिद्धार्थ गौतम बुद्धको पथ अंगालेका रामबहादुर बमजन राष्ट्र बैंकलाई टक्कर दिने देशी, विदेशी पैसाको उरुङसहित प्रहरी गेष्ट हाउसका पाहुना बनेका छन्। हिन्दु धर्मका नाममा आकास पाताल सीधै जोड्ने प्रवचन दिने धर्मगुरु अनैतिक कार्यमा मुछिएका समाचार यसअघि नै बग्रेल्ती छन्। अचम्म त के छ भने यी सबै कुकर्ममा कतै न कतै राजनीतिको साइनो छ। अझ राजसंस्था शिरमा राखेको बताउने राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी दुई प्रदेशमा सभामुख बनेर पटकपटक आफ्नै सिद्धान्तको मलामी गइरहेको छ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ। तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन्। नेताहरुको आवश्यकतासँग जोडिएका केही विकास संरचना हेरौं। कार्यकारी प्रधानमन्त्रीको सरकारी निवास हेलिप्याड सुविधासहित अत्याधुनिक निर्माण तीब्र गतिमा भएर सेवामा हाजिर भएको थुप्रै भयो।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ। तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पहिलाकै स्वरुपमा सरकारलाई हस्तान्तरण भइसक्यो। भैंसेपाटीमा प्रदेश प्रमुख, संघीय मन्त्री, मुख्यमन्त्रीका लागि आवास सुविधा तम्तयार छन्। सिंहदरबारभित्रको संघीय संसदको भवन चैतभित्र हस्तान्तरण हुँदैछ।

सर्वोच्च अदालत निर्माणको गति उस्तै तीब्र छ। अब जनताले सेवा पाउने विकास आयोजना तर्फ फर्केर सोध्नुस- आएर गएको मेलम्ची कहिले आउँछ ? फास्टट्रयाक विकास हो कि सेनालाई खेल्न दिएको भकुण्डो ? मुग्लिन–नारायणगढ सडक विकास हो कि नाटकको पर्दा ? जनताले कति टन धुलो पचाएपछि पृथ्वी र पूर्व पश्चिम राजमार्ग बन्छ ? वर्गीय विभेदको नारा लगाएर नेताले स्वार्थको रोटी सेकाए। अझ त्यो भन्दा विकासमा समेत असमानताको रेखा कोरेर उनीहरुले अपराधको आयतन थप विस्तार गरे।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन्। यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । राजनीतिशास्त्रले भन्छ– जनता गलत हुँदैन। तर तिनै जनताले दिएको अभिमत नेताहरुको तिर्खा मेटाउन असफल भयो।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन्। यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर ।

नेपालको राजनीतिमा काँचुलीलाई सर्प ठान्दाको भूलले थुप्रै परिघटना भएका छन्। ६५ वर्षअघिको राजनीतिक पात्रो पल्टाउनुस् त २०१५ सालमा आफ्नो पार्टीको पक्षमा भाषण गर्दै केआई सिंहले भनेका थिए– ‘हेर्नोस यो मेरो बुढो जुँगाका प्रत्येक रौं मा १२ वटा बाघका तागत छन्। त्यो कोपारा चोर पार्टीको गणेशमानसिंह भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न।’ तर परिणाम केआईसिंहको उद्घोष विपरित आयो। तिनै ‘पिलन्धरे’ गणेशमान १० हजार ९ सय ८६ भोट ल्याएर विजयी भए।

केआईसिंह हरुवामा पनि चौथोमा खुम्चिए। नेपालमा आएका राजनीतिक परिवर्तनको स्वभाव छाते च्याउजस्तै बर्खे झरी आउनासाथ अस्तव्यस्त हुने खालको देखिने गरेको छ। बाहिरबाट राजनीतिक प्राणीहरुले देश चलाएको देखिए पनि दाउपेचको दौडमा कार्यपालिका, व्यवस्थापिकका र न्यायपालिकाको लक्ष्मणरेखा ध्वस्त बनाउँदा मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री पद भुक्ने तर टोक्न नसक्ने हालतमा पुगेको छ। २४ घण्टा नपुग्दै उसका निर्णय बरफ बन्न थालेका छन्। मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत समयमै आउनु जरुरी छ। नत्र यी सबै प्रयास एकमुठी खरानीका लागि घर पोल्ने निरर्थक खेल हुनेछन्।

बाहिरबाट राजनीतिक प्राणीहरुले देश चलाएको देखिए पनि दाउपेचको दौडमा कार्यपालिका, व्यवस्थापिकका र न्यायपालिकाको लक्ष्मणरेखा ध्वस्त बनाउँदा मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्री पद भुक्ने तर टोक्न नसक्ने हालतमा पुगेको छ।

अंग्रेजकालीन भारतमा उतिबेलै नेपाली दूतहरुलाई गुप्तचरी गरेको अभियोगमा अंग्रेजहरुले देश निकाला गरेका थिए। सन् १८३९ मा सिम्लाका गभर्नर जनरल जर्जलर्ड अकनन्दले नेपालका महाराज राजेन्द्र विक्रम शाहलाई पठाएको चिट्ठीमा भनिएको छ- ‘….तपाञिका मानिसहरु बसिरहँदा मैले हाम्रा मजिष्टरहरुलाई हुकूम दी. जबर्दस्ति ती मानिसहरुलाइ निकाल्नुप-यो. तिनहरुले हाम्रा दुवै सर्कारको दोस्ति र षुलासां बेबाहार जो मैले सधै रहोस् भनि इरादा राष्याको थियो. उसैमा षतरा पारिदिया. नेपालबाट वकील् हिन्दुस्थानका दर्बार दर्बारमा जान्या मुनासिब् केही थियेन.जरुरि चाहिन्या पनि केहि होइन. तपाञिका दिल्ले देष्याको मक्सद् गुप्ति षवरसंग बन्दोबस्त होला. जब गुप्तिसंग गयाका तपांञिका मानीस्हरु सबै झिकायापछि तेस काम्लाई मिस्तर हाज्सन्का जवानि तपाञिलाई थाहा हुन्याछ.’

सत्य के हो ? इतिहासकार जानून। तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ। यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो। यसै नाममा हजारौं मान्छे मारिए। नभन्दै संविधान बन्यो। विशुद्ध राजनीतिमा जनतालाई सशक्तिकरण गरिन्छ। तर नाङ्गो आङ् र सारंगी पेटमा खेल्ने सोखका कारण उल्टो गंगाको यात्रा स्वाभाविक बन्दै गयो। फलस्वरुप राजनीति धोका शिवाय केही ठहरिएन्।

एकातिर आईफोन पुस्ताको प्रवेश, अर्कातिर सिमसिमे राजाको सोच भएका नेताहरुको सामञ्जस्य नमिल्दा राजनीतिक व्याकरण वर्षौंदेखि गोलचक्करमा फसेको छ। सडकपेटी भन्दा कालीकेटी बुझ्ने देशका सारथीहरुले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन्।
माघको ठिहीमा कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति उनीहरुको धर्म बन्यो। फलस्वरुप देश विकासको नारा दृष्टिविहीनले छामेको हात्तीजस्तै बन्यो। सबै नेपालीका हातमा मोबाइल पुग्यो। टेकूको सडक बालकले पुतलीसडकको सडक बालकलाई आफ्ना टोलतिर धेरै प्लास्टिक भएको सूचना मोबाइलबाट दिने अवस्था त आयो। तर सभ्यताको त्यो उत्कर्षलाई समयको मागका रुपमा नेताहरु सम्बोधन गर्न चुके।

पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ। जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ। पर्खन सक्नुपर्छ, पालो सबैको आउँछ।

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन। राज्यले जन्मिएका मात्र होइन, दशकौं पछि जन्मिनेको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ। धुलिमाटीबाट क, ख सिकेकादेखि आइफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ। निष्ठा र इमान्दारीको राजनीति गर्नेहरु देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकालाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन्।

कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरुले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना सिवाय केही होइन। मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो। सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन।

यो सत्यलाई राजनीति गर्नेहरुले किलकिलेमा राख्नुपर्छ। पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ। जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ। पर्खन सक्नुपर्छ, पालो सबैको आउँछ। अरु त अरु मान्छेले देखि नसहने कागको पनि वर्षमा एकपटक तिहारमा सम्मान हुन्छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ९ : ०१ बजे

संघीय व्यवस्था विरुद्ध ‘प्रचण्ड’ सरकार !

काठमाडौं – आफूलाई ‘संघीयताको हिमायती’ दाबी गर्ने गरेका प्रधानमन्त्री पुष्पकमल

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर– जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा  निर्वाचित

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन आग्रह

काठमाडौं – जिल्ला प्रशासन  कार्यालय , काठमाडौँले राष्ट्रिय परिचय पत्रको

जी ७ बैठक : रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

काठमाडौं– जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक