ओलम्पिकमा अमेरिका र चीनको रोचक लडाइँ : निर्णायक हुनसक्छ भलिबल | Khabarhub Khabarhub

ओलम्पिकमा अमेरिका र चीनको रोचक लडाइँ : निर्णायक हुनसक्छ भलिबल


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

चीन र अमेरिका बिचको तीव्र प्रतिस्पर्धाको साथ पेरिस ओलम्पिक २०२४ सकिने भएको छ। यो दुई साता लामो खेल महोत्सवको अन्त्य आइतबार हुन लागेको हो।

आइतबार १३ स्पर्धा बाँकी रहँदा अमेरिकालाई चीनले १ स्वर्ण पदकले पछि पारेको छ। थुप्रै स्पर्धामा अमेरिकालाई दाबेदार मानिए पनि अस्वाभाविक रूपमा फाइनलमा पराजयको सामना गरेका कारण कुल पदकमा अमेरिका तथा स्वर्ण पदकमा चीन अगाडि रहेका हुन्।

अहिलेको नतिजा नै अन्तिम भने पक्कै होइन। आइतबार हुने १३ स्पर्धामा कुस्तीको एक स्पर्धामा साथमा महिला भलिबल र महिला बास्केटबलमा अमेरिका फाइनलमा प्रवेश गरेको छ। चीनले यस ओलम्पिकमा प्रभाव जमाएको भारोत्तोलनको एक स्पर्धा बाँकी छ।

शनिबारका खेल सकिँदा चीनको ३९ तथा अमेरिकाको ३८ स्वर्ण पदक पाएका छन्। गत टोकियो ओलम्पिककै झझल्को यस ओलम्पिकले पनि दिलाएको छ। टोकियो ओलम्पिकमा अन्तिम दिन महिला भलिबलको स्वर्णका साथ अमेरिकाले चीनलाई एक स्वर्णले पछि पारेको थियो।

शनिबार साँझ चीन भन्दा ४ स्वर्णले पछि परिसकेको अमेरिकालाई एथलेटिक्सको सफलताले खेलमा फर्काएको थियो। एथलेटिक्समा महिला हर्डल्स तथा महिला र पुरुषको चार गुणा चार सय रिलेको स्वर्ण पदक अमेरिकाले जितेको थियो।

यस ओलम्पिकमा अमेरिकाले हर्डल्सका चार वटै स्वर्ण पदक जितेको छ। शनिबार भएको बहु प्रतीक्षित सय मिटरको हर्डल्समा अमेरिकी मसाइ रसेलले स्वर्ण पदक जितिन्। सो स्पर्धामा फ्रान्सकी केम्बा सायला मायेललो रजत तथा पोर्चुगलका जस्मिन कमाचोले कास्य पदक जिते।

एथलेटिक्समा अमेरिकाका केही यादगार प्रदर्शन भए। सिड्नी म्याकगाउलेनले महिला चार सय मिटर हर्डल्समा विश्व कीर्तिमान सहित स्वर्ण पदक जितिन्। नोह लायसले कोभिडका कारण १०२ डिग्री ज्वरो आएको समयमा दुई सय मिटर दौडमा सहभागिता जनाए। उपाधिको दाबेदार मानिएको सो स्पर्धामा उनले कास्य पदक जिते। सोही ज्वरो र गुमेको स्वर्ण पदक अन्तिम समयसम्म अमेरिकालाई तालिकामा दोस्रो स्थानमा धकेलेको एउटा कारण पनि हुनसक्छ।

ओलम्पिकमा सात महिनाकी गर्भवती

इजिप्टकी नादा हफिजले सात महिनाको गर्भवती हुनुका बाबजुद यस ओलम्पिकमा सहभागिता जनाइन्। फेन्सिङको साब्रे स्पर्धामा उनले पहिलो चरणमा अमेरिकी खेलाडीलाई हराएकी थिइन। उनको बहादुरीको विषय संसारमा नै चर्चामा रहेको थियो।

इमाइन खालिफ यस ओलम्पिकको अर्को चर्चाका कारण बनिन्। अल्जेरियाकी मुक्केबाज उनले फाइनलमा चिनियाँ खेलाडीलाई हराएर स्वर्ण पदक जितिन्। उनको जित अन्यको भन्दा धेरै अर्थमा विशेष पनि थियो।

गत वर्ष भएको विश्व च्याम्पियनसिपको दौरान विश्व बक्सिङ महासङ्घले उनको जेन्डर आइडेन्टीटीलाई पुष्टि गर्न नसकेको भन्दै प्रतिबन्ध लगाएको थियो । यसै वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बक्सिङ महासङ्घको निर्णयलाई आधारहीन भन्दै उनलाई खेल्न दिएको थियो। सो सफलतासँगै बक्सिङमा स्वर्ण पदक जित्ने महिला अल्जेरियाली महिला मात्र भएकी छैनन्, पहिलो अफ्रिकी तथा पहिलो अरब महिला समेत भएकी छिन्।

यस ओलम्पिकमा सबैले सम्झन लायक व्यक्तिको रूपमा सेन्ट लुसियाकी धाविका जुलियन अलफ्रेड भइन्। उनले महिला सय मिटर दौडको उपाधि जितेर संसारलाई आश्चर्यमा पारिन्।

शनिबार साँझको समयमा चीनको तुलनामा पदक तालिकामा धेरै पछि अमेरिकालाई तालिकाको प्रतिस्पर्धामा फर्काउने क्रममा टिम गेमका दुई स्वर्ण पदक रहेका थिए। महिला फुटबलको स्वर्ण ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले जितेको हो। यस ओलम्पिकमा क्वार्टर फाइनलदेखि अमेरिकाले विपक्षीलाई १-० कै अन्तरले हराएको हो। सन् २०१२ को लन्डन ओलम्पिकपछि अमेरिकाले पहिलो पटक महिला फुटबलको उपाधि जितेको हो।

पुरुष बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको हो। अमेरिका लगातार पाँचौँ पटक च्याम्पियन भएको हो। उपाधि यात्रामा अमेरिकाले सर्बीयासँगको सेमिफाइनलमा १७ अङ्कको अन्तरबाट कम ब्याक गर्दै जीत हात पारेको हो।

अमेरिकी पौडीबाज केटी लेडेकी, जिम्न्यास्ट सिमोन वाइल्स, पौडीबाज केलेब ड्रेसेलका लागि यो अन्तिम ओलम्पिक पनि हुनसक्छ। लेडेकी, र बाइल्सले व्यक्तिगत स्पर्धामा सफलता पाए पनि ड्रेसेलले भने पाएनन्।

यस ओलम्पिकमा केही अस्वाभाविक घटना भए। सेन नदीको खराब पानीको कारण ट्रायथलनको स्पर्धा निर्धारित भन्दा पछि भएको थियो। यसले म्याराथन पौडी र मोर्डन पेन्टाथनलाई पनि असर गर्ने आशङ्का भए पनि त्यसो हुन पाएन।

पहिलो ‘पोस्ट पेन्डामिक ओलम्पिक’को रूपमा रहेको यो ओलम्पिकमा ४० भन्दा बढी खेलाडी कोभिड सङ्क्रमणबाट सङ्क्रमित भए। यस भन्दा अघि सन् २०२१ मा भएको टोकियो ओलम्पिक तथा अर्को वर्ष चीनमा भएको शीतकालीन ओलम्पिकमा कोभिडबाट बच्न सुरक्षाका लागि कडा मापदण्ड अपनाइएको थियो।

त्यसो त सेन नदीमा उद्घाटन भएर प्रतियोगिता अघि बढेको थियो । ओलम्पिक इतिहासका लागि त्यो नै अनुपम थियो। एक शताब्दी अघि सन् १९२४ मा ओलम्पिकको आयोजना भएको पेरिसमा एक शताब्दी पछि पनि ओलम्पिक महोत्सवको आयोजना हुनु अर्को संयोग थियो।
ओलम्पिकका दुई खेलमा चीनले क्लिन स्वीप गरेको थियो। डाइभिङमा रहेका ८ वटै स्वर्ण पदक चीनले जितेको हो। यसैगरी, टेबल टेनिसमा पनि चीनले क्लिनस्विप गरेको हो। चीनको यो सफलतामा सुटिङ र भारोत्तोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। अमेरिकाको हकमा एथलेटिक्सको सफलता प्रमुख थियो। एथलेटिक्समा अमेरिकाले १४ स्वर्ण पदक जितेको हो।

पहिलो स्थानको सम्भावना
तालिकामा एक स्वर्ण पदकले अघि रहेको चीनले अन्तिम दिन भारोत्तोलनको महिला ८१ भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दैछ। यसलाई बराबरी गर्न अमेरिकाले थप दुई स्वर्ण पदकको जित्नै पर्ने हुन्छ। महिला बास्केटबलमा अमेरिकाले फ्रान्सको सामना गर्ने छ भने महिला भलिबलमा इटालीको सामना गर्ने छ। बास्केटबलमा अमेरिका बलियो भए पनि भलिबलमा पहिलो चरणमा इटाली र अमेरिकाको भेट भएको थियो। सो खेलमा इटालीले जित हात पारेको थियो।

कुस्तीको महिला ७६ केजीमा अमेरिकाकी केनेडी एलेक्सिसले जापानकी कागामी युकाको सामना गर्ने छिन्। सो खेलमा जापानकी युकालाई स्वर्णको प्रमुख दाबेदारको रूपमा हेरिएको छ।
प्रबल सम्भावना यस पटक पनि महिला भलिबलको स्वर्ण पदक उपाधिमा पहिलो स्थान दिलाउनका लागि निर्णायक हुनसक्छ। स्रोत : ओलम्पिक, अल जजिरा, बिबिसी

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ९ : ०९ बजे

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधान गर्न आयोग गठन

काठमाडौं– सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार

दुई वर्षमै १६ करोड घाटामा गएको थियो जीबी र रविको गोर्खा मिडिया

काठमाडौं-  गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछाने सञ्चालक रहेको गोर्खा

संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे

काठमाडौं- ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष