खुमलटारको हल्ला : जनार्दन एमालेमा जाँदैछ…. « Khabarhub

खुमलटारको हल्ला : जनार्दन एमालेमा जाँदैछ….

प्रचण्डमाथि ११ प्रश्न उठाउँदा बालुवाटारबाट पार्टी फुटको हल्ला चलाइयो



खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतर्फ उन्मूख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो ।

देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ । यस विषयमा देशभरिबाट दैनिक सयौंले फोन गरी पार्टी फुट्दैछ र भनी सोध्ने गरेका छन् । यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय। ब्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको छ ।

मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ । स–सना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ ।

यहाँ प्रश्नहरु के हुन् भने–

१.आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौं महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा प्रश्न,

२.पार्टीलाई विधि र पद्दतिका रुपमा लैजाने संकल्पको रुपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गर्दै फरक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठूलो हो, जे गर्नुछ त्यहीँबाट गर्नुपर्छ भनी विधान महाधिवेशनको महत्वलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्नसमेत नदिइएकोबारे प्रश्न,

३. सरकारमा रहँदा बालुवाटारबाटै महिले जनार्दन त कहिले वर्षमानका विरुद्ध गरिएका दुश्प्रचारसम्बन्धी प्रश्न,

४. प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेकोबारे प्रश्न,

५. पार्टीभित्र विभिन्न तहका नेताहरुलाई जुटाउन हैन, फुटाउनको लागि गरिने मेहनेतबारेको प्रश्न,

६. नेतृत्व तहबाटै समानान्तर कमिटीहरु सञ्चालन गरिएकोबारे प्रश्न,

७. सरकारको गठबन्धन बारम्बार फेरिरहेको बारे गरिएको प्रश्न,

८. प्रधानमन्त्री र गृहमन्त्री हाम्रै पार्टीको हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण गरौं भन्ने प्रस्ताव,

९. प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग हाम्रै पार्टीसँग हुँदा साना र मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गरौं भन्ने प्रस्ताव,

१०. कोशी प्रदेश नामाकरण हुँदा किरात पनि जोड्ने कुरामा हाम्रो असहमति किन भनी उठाएको प्रश्न,

११. प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बदखल गरी देखाइदिएँ भनी दिएको अभिव्यक्तिप्रतिको प्रश्न ।

जसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरुले मेराविरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने, जसले पार्टी र नेतृत्वलाई नै ठूलो क्षति पुर्‍याइरहेको छ ।

चार दशक लामो नेतृथ्वप्रतिको सम्मान, विश्वास र सहकार्यको आधारमा मैले प्राप्त गरेका सबै सूचनाको जानकारी, कामको रिपोर्टिङ र अनुमति लिइरहेको छु । तर, शंकाले लंका लगाउने, चियाको कफमा तुफान सिर्जना गर्ने भने झैं पार्टीलाई नै क्षति हुने गरी सार्वजनिक रुपमा भ्रम सिर्जना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरु सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।

(नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको विचारको अंश । ‘जनार्दन शर्मा पार्टी फुटाएर एमालेमा जान लागेको छ’ भन्दै अध्यक्ष प्रचण्डले नै हल्ला फिँजाएको बैठकमा शर्माले गुनासो पोखेका छन् ।)

यो पनि-
माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ०४ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा