आजका समाचार : भारतीय विदेशसचिव नेपालमा, पार्टी रूपान्तरणबारे माओवादी नेता एकमत, शेयरमा नयाँ रेकर्ड | Khabarhub Khabarhub

आजका समाचार : भारतीय विदेशसचिव नेपालमा, पार्टी रूपान्तरणबारे माओवादी नेता एकमत, शेयरमा नयाँ रेकर्ड


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिएका हुन् ।

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री पौडेलको यस्तो छ कार्ययोजना (पूर्णपाठ)

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार्न भन्दै ‘प्राथमिकता तथा कार्ययोजना’ सार्वजनिक गरेका छन्‌ । यही साउनदेखि कार्यान्वयन शुरू भएको सोह्रौँ आवधिक योजना र दिगो विकास लक्ष्य (एसडीजी) का लक्ष्य हासिल गर्नेगरी आफूले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको दीर्घकालीन योजना ल्याएको पौडेलले दाबी गरे ।

आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पौडेलले नयाँ कार्ययोजना घोषणा गरेका हुन्‌ । मन्त्री पौडेलले ल्याएका कार्ययोजनामा अधिकांश पुरानै अधुरा योजना, कार्यक्रम र घोषणा समेटिएका छन्‌ ।

‘भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँच वर्षे हदम्याद नराखौँ’

सांसदहरूले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँच वर्षे हदम्याद राख्न नहुने धारणा राखे।

नेताहरूले बोल्ने क्रम नसकेपछि माओवादी स्थायी कमिटी सोमबार पनि

पार्टी कार्यालय पेरिसडाँडामा जारी माओवादी स्थायी कमिटी बैठक सोमबार पनि चल्नेछ ।

नेताहरूले बोल्ने क्रममा सकेकाले सोमबार पनि बैठकलाई निरन्तरता दिने केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

‘माओवादीसँग न जनाधार छ, न त देखाउन लायक काम’

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत

माओवादी क्षयीकरणबारे जनार्दनका १० बुँदा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बूँदे कारण पेश गरेका छन्‌ ।

२०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।

सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको रूपमा ठूलो दल माओवादी भएकाले सदनमा पनि प्रतिपक्षी मोर्चा बनाउने कुरामा सबै दलसँग संवाद र सहकार्य गर्ने बताएका छन्।

उनले सदनभित्र र सदन बाहिर पनि मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक रहेको र अन्य साना दलहरू पनि सकारात्मक भएको जिकिर गरेका छन् ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको विमोच गर्दै उनले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उपेन्द्रको ६१ बुँदे प्रस्ताव : संघीयतादेखि संविधान संशोधनसम्म (पूर्णपाठ)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकमा १० बुँदे एजेन्डा प्रस्तुत भएको छ ।

ललितपुरको सानागाउँमा ४ दिनसम्म चल्ने बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् । ६१ बुँदाभित्र उपेन्द्रले संघीयतादेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटेका छन्‌ ।

सुदूरपश्चिम प्रदेशसभामा राजश्व सङ्कलनसम्बन्धी अध्यादेश पेस

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गरेका हुन् ।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रविनकुमार यादवले जानकारी दिए ।

विद्युत् चुहावट आठ वर्षमा आधा घट्यो, प्रतिवर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

तारागाउँको जग्गा अनियमितताबारे छानबिन गर्न सांसदको माग

तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

२५ अर्ब पुगेसँगै शेयर कारोबारमा नयाँ रेकर्ड

साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो ।

गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

यस्तै, आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ ।

कैलालीमा चट्याङ पर्दा दश जना घाइते

कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय…

हसिनाको आरोप- सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिँदा अमेरिकाले मलाइ हटायो


बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् ।

हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

भारत र जिम्बाब्वेबीच कूटनीतिक बैठक सम्पन्न

बंगलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको भन्दै डच नेताद्वारा निन्दा

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

खेलकुद…

ओलम्पिकमा अमेरिका र चीनको रोचक लडाइँ : निर्णायक हुनसक्छ भलिबल

एफए कप कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई उपाधि

पेरिस ओलम्पिकको महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ०७ बजे

दशैँले आपसी सहयोग, मेलमिलापको भावना जागृत गर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले दशैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव

कलाकारको दशैँ : कोही गाउँ फर्के, कोही शहरमै

काठमाडौं – यसपाली दशैँको सङ्घार अर्थात् गत असोज ११ र

दशैँले एकतालाई अझ सुदृढ बनाउँछ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा पनि तनहुँ जलविद्युतको काम निरन्तर

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट

दशैँ : व्याख्या, बखान र महत्त्व

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा