रवि दाइ ! पकेटमारलाई पक्रनोस् | Khabarhub Khabarhub

रवि दाइ ! पकेटमारलाई पक्रनोस्

काठमाडौंमा पकेटमारको बिगबिगी, सरकारी निकाय निवेदन लिँदै बस्दै


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

‘मान न मान, मैं तेरा मेहमान’ भन्ने हिन्दी आहानजस्तै यतिबेला रवि लामिछाने देशको गृहमन्त्री छन् । मानिसहरु भन्छन्– रवि दाइलाई प्रधानमन्त्री बनाउनुपर्छ, अनि बल्ल देशमा विकास, समृद्धि र फलिफाप हुन्छ ।

‘रवि दाइ’ देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन्, अब प्रधानमन्त्री बन्न मात्र बाँकी छ ।

भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका रवि दाइ गृहमन्त्री बनेपछि सडकमा शान्ति सुव्यवस्था राम्रो हुनुपर्ने हो । अपराधीहरु थर्कमान हुनुपर्ने हो । तर, पकेटमारको बिगबिगी बढेको छ । कतै हामी पनि चोरको साम्राज्य मानिने नाइजेरियाकै बाटोमा त हिँड्न थालेका छैनौं ?

देश हाँक्ने नेताहरु सार्वजनिक यातायातमा हिँड्दैनन्, त्यहाँ जनताले भोगिरहेको पीडा उनीहरुलाई थाहा हुँदैन । प्रहरीका हाकिम वा सरकारी अड्डाका ठूला कर्मचारीलाई पनि थाहा हुँदैन सर्वसाधारण यात्रुको पीडा । प्रधानमन्त्रीलाई पनि कसैले सुनाउँदैन यस्तो कुरा । फलतः नेताका कुरा एकातिर, जनताका समस्या अर्कोतिर हुन पुग्छ ।

सार्वजनिक यातायातमा बढ्दो चोरी र पकेटमारीको चर्चा गर्दा भीआईपीहरुलाई ‘थाङ्ने कुरा गरेको’ जस्तो लाग्न सक्ला । तर, एउटा मोबाइल किन्न नसक्ने भूईँमान्छेहरुका लागि यो एउटा ‘राष्ट्रिय समस्या’ हो ।

दरबारमार्गमा जागिर शुरु गरेपछि म बानेश्वर–पुतलीसडक रुटमा चल्ने ‘नेपाल यातायात’को नियमित ‘प्यासेन्जर’ बन्न पुगें । कहिले पठाओ, कहिले नेपाल यातायात ।

काठमाडौंको सडकमा ‘दादा’ मानिने ‘नेपाल यातायात’का आफ्नै कथा, किस्साहरु सुनिन्छन् । यो यातायात चल्ने भित्री रुटमा अरु सार्वजनिक यातायातलाई छिर्न नदिएर सिन्डिकेट लगाइएको चर्चा छ । यही कारण नेपाल यातायातमा अति भीड हुने र यात्रुले सास्ती भोग्नुपरेको गुनासो सुनिन्छ ।

नेपाल यातायातबाट दुर्घटनाको जोखिम बढी हुने गरेको र यसलाई कतिपयले ‘ज्यानमारा यातायात’ भन्ने गरेको पनि सुनियो । चाबहिल, गोपीकृष्णतिर त्यस्तो चर्चा बढी हुँदोरहेछ ।

पछिल्लो समयमा चाहिँ यात्रुहरु कोचेर चढाइने गरेको नेपाल यातायातले ‘पकेटमार यातायात’ का रुपमा पहिचान बनाएको पाइयो ।

‘अस्ति एकजना दिदीको मोबाइल र पर्स चोरेछ ।’

‘हिजो चोरले बसभित्र कस्तरी एकजना बैनीको मोबाइल लगेछ बाई !’

यस्ता सम्वाद नेपाल यातायातभित्र हरेक ट्रिपमा सुन्न पाइन्छ ।

अघिल्लो साता कोटेश्वरबाट महाराजगञ्ज हिँडेकी एक महिला पुतलीसडक पुगेपछि अत्तालिएर कराइन्, ‘मेरो मोबाइल र पर्स चोरी भयो, लौ न, अब के गर्ने होला ?’

उनी एकै सासमा भनिरहेकी थिइन्, ‘महाराजगञ्जमा मान्छे भेट्ने भनेको थियो, म नयाँ ठाउँमा केही पनि जान्दिनँ ।’

त्यसपछि उनले चोरलाई सरापिन्, ‘कस्तो असत्ती रहेछ । त्यो चोर स्याउँ– स्याउँ किरा परेर मरोस् ।’

भीडमा उभिएको मैले ती महिलाको अनुहारमा देखिएको सन्ताप पढ्ने कोशिस गरें । अहिलेसम्म उनले भोगेको त्यो पीडा, बैचनी र आक्रोश मेरो मानसपटलमा झल्झली याद आइरहेको छ । कठै मेरो देश ! भनेजस्तो लाग्छ ।

हिजो धारामा सुन वा घडी छुट्दा फिर्ता आउँथ्यो । नाइट बसमा कसैको सामान छुटे फिर्ता पाइन्थ्यो । अचेल छेवैमा उभिएको मानिससँग डराएर हिँड्नुपर्ने जमाना आयो ।

०००

बुधबार बिहान १० बजेतिर नयाँ बानेश्वरबाट नेपाल यायायात चढें । यो मेरो नियमित दैनिकी बनिसकेको छ ।

असाध्य भीड थियो । ढोका नजिकै उभिएको थिएँ ।

गाडी चढेको एक मिनेटजति मात्र भएको थियो । थापागाउँमा गाडी यस्सो रोकिएका बेला पाइन्टको गोजी छामें । स्मार्टफोन भर्खरै चोरको हातमा परिसकेछ ।

म थापागाउँमै ओर्लिएँ । चोर पनि त्यहीँ ओर्लिएछ ।

पछि कार्यालयमा पुगेर गुगल म्याप सर्च गर्दा पत्तो लाग्यो, चोर थापागाउँको बाटो क्रस गरेर उत्तरतिर लागेछ । त्यसपछि पुल्चोक पुगेछ । त्यहाँबाट कोटेश्वरतर्फ लागेछ ।

शायद त्यहाँबाट फेरि अर्को मोबाइल र पर्स चोर्न नेपाल यातायात चढेर फेरि नयाँ बानेश्वरतिरै आयो कि ?

आफ्नो मोबाइल चोरले लगिसकेपछि मैले फेरि पुतलीसडकमा गाडीभित्र भेटिएकी पीडित महिलालाई सम्झिएँ ।

स्मार्ट फोन पनि कसरी हराउला र ? प्रहरीसँग यत्रो प्रविधि छ, ट्रयाक गर्न सकिहाल्छ । आफैंले गुगल म्याप हेर्दा त चोरको बाटो देखियो भने प्रहरीले त कसो नसमाउला ? चोर च्याप्प पक्राउ परिहाल्छ भन्ने मलाई लाग्यो । फेरि सम्झें– प्रहरीले चोर समात्न सकेको भए नेपाल यातायातमा दिनहुँ यस्ता घटना हुने नै थिएनन् ।

मोबाइल चोरी भएपछि के गर्ने ? आफूलाई यस्तो पहिलोचोटि परेको थियो । म एक नागरिकका रुपमा मोबाइल हराएको ‘कम्प्लेन’ लेखाउन बानेश्वर प्रहरी वृत्तमा पुगें ।

निवेदन लेखेर प्रहरी जवानलाई दिएँ । उनले आइएमईआई नम्बर मागे । बाटोबाटै आएको हुनाले मसँग नम्बर थिएन, पछि टिपाइदिने गरी निवेदन बुझाएर फर्किएँ ।

ती प्रहरी जवान भन्दै थिए, ‘नेपाल यातायातबाट मोबाइल र पर्स चोरी भएका निवेदन दिनहुँ बढेका बढ्यै छन् । काठमाडौंमा चोरीका घटना अत्यधिक बढेका छन् । यसमा नेपाल यातायातकै ड्राइभर र सहचालकको पनि मिलेमतो छ जस्तो लाग्छ ।’

प्रहरीले सुनाएको कुरा कति सत्य हो, राम जाने । आफूलाई थाहा हुने कुरै भएन ।

मेरो अर्को काम बाँकी नै थियो– सिम ब्लक गर्ने ।

साथीको फोनबाट कल गरेर ब्लक गर्न खोज्दा भएन । कार्यालयका साथीहरु भन्दै थिए, एनटीसीको सेवा नै झूर छ ।

फोनबाट काम नभएपछि मोबाइल चोरी भएको शिकायत लिएर सिमकार्ड ब्लक गर्न बबरमहलस्थित नेपाल टेलिकम (एनटीसी) को कार्यालयमा सशरीर पुगियो ।

टेलिकमका एक कर्मचारीले भने, ‘मोबाइल चोरी भएर सिम ब्लक गर्न आउनेहरुको संख्या दैनिक बढेको छ । स्मार्ट फोन त प्रहरीले पत्ता लगाउन सकिहाल्छ तर चोरले लगेको राम्रो फोन भेट्यो प्रहरीले आफैं राख्छ । यहाँ सबै चोरै चोर छन् ।’

मैले नयाँ सिमकार्ड लिएँ । सिम ब्लक गरेर हुने स्थिति थिएन, दैनिक जीवनको अपरिहार्य आवश्यकता भएकाले सिम बन्द गरेर बस्ने सकिने स्थिति नै रहेन । सिम ब्लक नगरी छाड्दा आफ्नो नम्बरको दुरुपयोग हुने, बैंक अकाउन्ट ह्याक गर्ने वा अन्य साइबर अपराधको पनि सम्भावना हुन्थ्यो ।

कर्मचारी भन्दै थिए– सिम ब्लक गरेपछि या अर्को लिएपछि ‘फलो’ गर्न गाह्रो हुन्छ । केही समय यत्तिकै छाडेर चलाउन दियो भने समाउन सजिलो हुन्छ ।

तर, यसो गर्दा चोरबाट सिमकार्डको दुरुपयोग भयो भने नि ? कर्मचारीसँग यो प्रश्नको जवाफ भएन ।

नयाँ सिमकार्ड लिएपछि टेलिकमका कर्मचारीसँग मैले थप आग्रह गरें, ‘प्रहरीलाई मेरो स्मार्ट फोनको आईएमईआई नम्बर टिपाउन पाएको छैन, घरमा गएर कागजात खोज्न समय लाग्छ, बाटोबाटै यता आएको छु, टेलिकममा यसको रेडर्क पक्कै हुनुपर्ने हो, मेरो आईएमईआई पाउँ न, म प्रहरीलाई टिपाइदिन्छु ।’

एनटीसीका कर्मचारीले भने, ‘यो त हामीसँग हैन, नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) ले मात्रै दिन मिल्छ, तपाई जमलस्थित एनटीएको कार्यालयमा जान सक्नुहुन्छ । नियामक निकाय त्यही हो ।

अब मलाई एकचोटि दुरसञ्चार प्राधिकरणसम्म जान मन लाग्यो । त्यहाँ पुगेर कर्मचारीका कुरा सुनौं, सेवाग्राहीप्रति कस्तो व्यवहार देखाउँदा रहेछन् त्यो पनि हेरौं भन्ने लाग्यो । सरकारले जनताको समस्या चुस्त दुरुस्त ढंगबाट समाधान गर्न थालिएको गफ गरिरहेको छ, हेरौं न त भन्ने लाग्यो । आफ्नै मोबाइल चोरी भएकाले आम नागरिकको समस्या थापा पाउने अवसर प्राप्त भयो ।

जमलस्थित सांस्कृतिक संस्थानको भवनमा भाडामा सञ्चालन भइरहेको आम नागरिकको सेवासित जोडिएको दुरसञ्चार प्राधिकरणको गेटमा पुग्दा गार्डले ठाँट देखाएर सोधे– किन, केका लागि ? कसलाई भेट्ने ? के काम छ ? आदि–इत्यादि ।

गार्डलाई सम्पूर्ण बिन्ती बिसाइसकेपछि लिफ्ट चढ्न खोज्दा उनले भने, ‘एक बजेदेखि दुई बजेसम्म खाजा खाने समय हो, सर–म्यामहरु कोही हुनुहुन्न, दुई बजेपछि आउनू ।’

‘सेवाग्राहीको काम गर्ने कोही त हुनुहुन्छ होला नि ?’ मैले भनें, ‘दुई बज्न १० मिनेट बाँकी रहेछ, माथि जाँदै गरौं ?’

माथि जाँदा बेग्लै ठाँट । ढोकैपिच्छे गार्ड । थम्प नगरी भित्र जान नपाइने । लाग्थ्यो, म आम जनताको समस्या सुनाउने ठाउँमा हैन, कुनै युद्धकालीन समयको सैन्य अड्डाभित्र पसेको छु ।

गार्डले देखाइदिएको कोठामा एकजना कर्मचारी आफ्ना छोरासँग मःमः खाइरहेका रहेछन् । ‘सरी है सर’ भन्दै म भित्र छिरें ।

खासमा म गाली खान त्यहाँ पुगेको रहेंछु । तपाईको मोबाइल चोरी भएछ भनेर सहानुभूति दिनु त कता हो कता, कर्मचारीले थर्काए,‘यहाँ किन आउनुभएको ? यहाँ आउने नै हैन, यो सबै एनटीसीबाटै हुने कुरा हो’

‘अनि, टेलिकमका कर्मचारीले किन मलाई सिधै जमल जानोस् भनेर पठाए त सर ?’ मैले भनें, ‘सेवाग्राहीको मोबाइलको आईएमईआई नम्बर यसै कार्यालयमा हुुन्छ रे, निवेदन दिनुपर्ने वा केही प्रक्रिया पूरा गर्नपर्ने भए म गर्छु, तर मलाई मेरो हराएको डिभाइसको आईएमईआई नम्बर उपलब्ध गराइदिनुपर्‍ यो, ता कि मैले तत्काल प्रहरीलाई टिपाइदिन सकौं ।’

कर्मचारीले भने, ‘हामीसँग रेकर्डमा नहुने हैन, हुन्छ । तर, तपाईकै मोबाइल हो भन्ने आधार के छ ? के प्रमाण छ ? तपाईको पहिचान कसरी हुन्छ ? त्यसैले, टेलिकममै जानोस्, यहाँ होइन ।’

उनले के सोचे कुन्नि, मैले फेरि जिद्दी गरें, ‘म टेलिकममा त गइसकें सर । त्यहीँबाट यता पठाएर आएको हुँ । त्यत्तिकै आएको होइन ।’

उनी मुर्मुरिए । बोलेनन् । मौनता चिर्दै म बोलें, ‘यस्तो समस्या लिएर आउने म नै पहिलो व्यक्ति हुँ कि अरु पनि आउँथे सर ?’

उनले भने, ‘अरु पनि आइरहन्छन्, हामी टेलिकममै जानोस् भन्छौं ।’

‘त्यसपछि ?’

‘खै, उनीहरु आउँदैनन् ।’

‘यसको मतलब, टेलिकमबाट एनटीए यता पठाउनुहुन्छ, एनटीएबाट उतै पठाउनुहुन्छ । यति भइसकेपछि सेवाग्राहीहरु कर्मचारी र चोरलाई सराप्दै घर जान्छन्,’ यति भनेर म एनटीएबाट निस्किएँ ।

ढोकामा निस्कँदै गर्दा उनले सोधे, ‘तपाईको हराएको मोबाइलको ब्राण्ड कुन हो ?’

मैले सामसुङ कम्पनीको आफ्नो मोबाइलको भर्सन बताएँ । उनले भने,‘गुगल ड्यासबोर्डमा गएर आफैं खोज्नुहोला ।’

गुगल ड्यासबोर्डमा मात्र किन ? म घरमै पनि त्यसको बिल खोज्न सक्छु, तर आइएमईआई नम्बर खोज्न नसक्ने सर्वसाधारण मानिस गुहार माग्न टेलिकम वा एनटीएमा गयो भने कर्मचारीले कसरी सहयोग गर्दा रहेछन् भन्ने जानकारी प्राप्त भयो ।

कर्मचारीको ‘मोटिभ’ हुँदैन र मिल्दैन भन्नेबाट सुरु हुँदोरहेछ । एनटीएलाई मनमनै धिक्कार्दै बाटो लागें ।

दुरसञ्चार प्राधिकरणका ती गैरजिम्मेवार कर्मचारीले  एनटीसीमा जाऊ भन्दै सरासर ठगेका हुन् । किनभने, चोरी भएको मोबाइलको रेस्पोन्स गर्ने जिम्मेवार निकाय प्राधिकरण नै हो । प्रधिकरणले हराएका या चोरी भएका मोबाइलको खोजी कार्यका लागि एउटा अनलाइन प्रणालीमा फारम दर्ता गर्न सूचना निकालेको छ ।

सेवा प्रदायक (एनटीसी वा एनसेल) कार्यालयमा त सिम ब्लक गर्न मात्र जाने हो । तर, एनटीएका कर्मचारीले एकजना सर्वसाधारण नागरिकलाई दिउँसै रात पारेर पठाइदिँदा रहेछन् ।

दुरसञ्चार प्राधिकरणले भनेअनुसार चोरी भएको मोबाइलको खोजीका लागि फारम भर्दा आइएमईआई नम्बर अनिवार्य राख्नुपर्छ ।

हेर्नुहोस् एनटीएको वेबसाइटमा राखिएको  MDMS अनलाइन आवेदन

यदि तपाईको मोबाइल सेट चोरी भयो र कथंकाल आइएमईआई नम्बर फेला परेन भने पनि एनटीएमा त्यो नम्बर रेकर्ड रहेको हुन्छ, तर उसले तपाईलाई कुनै सहयोग गर्दैन ।

यतिसम्म कि कर्मचारीले यस्तो फर्म भर्नुहोस् भनेर सेवाग्राहीलाई काउन्सिलिङ गर्नसम्म आवश्यक ठान्दैनन् । बोल्दाखेरि पैसा लाग्छ जस्तो गर्छन् ।

जब पीडितले कर्मचारीबाट मैत्रीपूर्ण एवं सहयोगी व्यवहार पाउँदैनन्, उनीहरु निराश बन्छन् र आफ्नो मोबाइलकै माया मारेर घर फर्कन्छन् ।

यस्तो भएपछि चोर/पकेटमारहरुको हौसला बढ्छ र अरु मानिसहरु थप पीडित बन्दै जान्छन् । काठमाडौंमा लामो समयदेखि यस्तै सिलसिला चलिरहेको रहेछ । पकेटमारहरुको धन्दा मौलाउनुमा सरकारी निकायसमेत जिम्मेवार रहेछ भन्ने तत्वज्ञान प्राप्त भयो ।

गुगल ड्यासबोर्डमा पुराना डाटाहरु भेटिए । तर, आईएमइएआई नम्बर भने सामसुङ एकाउन्टबाट लिएँ । उनी हामी जवाफदेही हैनौं भन्ने एनटीएकै अनलाइनमा गएर अनलाइन फारम भरें र त्यसको भपाई बानेश्वर प्रहरीलाई पठाइदिएँ ।

उता, चोरले बिहान ४ः५२ मा मोबाइल रिसेटका लागि मेरो व्यक्तिगत इमेल साइन इन गर्ने प्रयास गरिरहेको म्यासेज आयो । मोबाइल अहिलेसम्म चोरकै हातमा छ ।

यतिबेला  मोबाइल चोरलाई मनमनै धन्यवाद दिन मन लागेको छ ।

उसले मोबाइल नचोरेको भए नेपाल यातायातमा भइरहेको नागरिकहरुको जोखिमपूर्ण यात्राबारे यति गहिरो महसुस हुने गरी जानकारी हुने थिएन । जीवी राईलाई मलेसियामा भए पनि नेपाल ल्याउन सकिएन भनेर संसदीय समितिमा रुवाबासी गरिरहेका आइजीपी बसन्त कुँवरले आफ्नो प्रहरी संगठनलाई पकेटमारभन्दा पनि निरीह र कमजोर बनाइसकेछन् भन्ने पनि थाहा हुने थिएन ।

चोरले मोबाइल नचोरेको भए कोटेश्वर–पुतलीसडक एरिया पकेटमारहरुको आधार इलाकामा परिणत भएको पनि थाहा हुने थिएन । सेवा प्रदायक कम्पनीहरुले स्मार्ट फोनसम्म फेला पारेर नागरिकलाई फिर्ता दिन नसक्ने रहेछन् भन्ने तथ्य पनि थाहा हुने थिएन ।

चोर नभइदिएको भए प्रधानमन्त्री प्रचण्डले दाबी गरेजस्तै सरकारी कार्यालयहरुको सेवा प्रवाह चुस्त–दुरुस्त छ कि छैन भनेर जाँच्ने अवसर पनि प्राप्त हुने थिएन । चोरलाई मोबाइलको ‘लक’ खोल्न कठिनाइ भयो होला, तर उसले राज्य संयन्त्रको ‘लक’ मज्जाले खोलिदियो । पकेटमारले गोजीमा हात नहालेको भए गृहमन्त्री रवि दाइले जीवी राईलाई नेपाल ल्याउन त के, पकेटमारलाई समेत छुन सकेका रहेनछन् भन्ने रहस्य पनि त पत्ता लाग्ने थिएन ।

ठूलो कुरा गरेर दिमागको ‘ब्याट्री’ खर्च नगरौं । रवि दाइ, सक्नुहुन्छ भने काठमाडौंका पकेटमारहरुलाई समातेर देखाउनोस् । सार्वजनिक यातायातमा हिँड्ने आमा दिदीबहिनीको आँशु पुछिनेछ ।

नेपालीमा आफ्नो एउटा आहान छ– आफैं थैलीको गाँठो बलियो बाँध्नु, अरुलाई दोष नलगाउनू । राज्यले समाजमा चोरी नियन्त्रण गर्न नसकेपछि अब नागरिकसँग यही एउटा विकल्प बचेको छ ।

सार्वजनिक यातायातमा सिटसंख्या भन्दा बढी यात्रु नराख्ने, गाडीको कमी भएमा सिण्डिकेट रोक्ने काम आजैबाट गराैं । भीड हुने सार्वजनिक यातायात सकेसम्म नचर्ढौं । छोटो बाटो छ भने बरु पैदल हिँडौं । आफ्नो मोबाइलको बिल भौचर, नम्बरहरु सुरक्षित राखौं । चोरीबाट बच्ने उपायहरु अवलम्बन गरौं । मोबाइल हराएमा के गर्ने भन्नेबारे डिजिटल साक्षरता बढाऔं ।  पत्रकारहरुले सार्वजनिक यातायातमा सर्वसाधारणले भोग्नुपरेका सास्ती कम गर्न जिम्मेवार निकायलाई खबरदारी गरौं ।

अन्त्यमा, फेरि एकचोटि पकेटमार-चोरलाई धन्यवाद !

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : १० बजे

ठेक्का अलपत्र पार्ने मन्त्रीको जवाफ- त्यो निर्माण कम्पनी नै मेरो होइन

काठमाडौं- देशका कयौँ स्थानमा ठेक्का लिएर विकास योजना अलपत्र लागेको

झापामा रगत अभाव

झापा– अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु–  रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा

भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक

काठमाडौं- नेपाल-बंगलादेश विद्युत् व्यापारबाट ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने प्रतिक्रिया

काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य