सिमलताल बस दुर्घटना : तीन जना पौडिएर बाँचे « Khabarhub

सिमलताल बस दुर्घटना : तीन जना पौडिएर बाँचे


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

चितवन–  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  एक जनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए  । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकै पटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गरेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए  । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीय नातिनी र दुई वर्षीय नाति सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँच जना दुर्घटनामा परेका हुन्  ।

‘काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासि नसोचेको घटना घट्यो । पाँच पटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो’ ,उनले स्मरण गरे,’ पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए ,’जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोज कार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : २८ बजे

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय

पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू

काठमाडौं- पश्चिम नेपालका विभिन्न नौ जिल्लाका कांग्रेस सभापतिहरुले विशेष महाधिवेशनको

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

काठमाडौं–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा